दमक र बिर्तामोडमा बलात्कारका घटना बढ्यो

दमक र बिर्तामोडमा बलात्कारका घटना बढ्यो

झापा / झापामा बलात्कारका घटना बर्षेनि बढ्दै गएको छ । महिलामाथि हुने यौनजन्य हिंसा रोक्न विभिन्न संघ–संस्थासहित प्रहरीले समेत समुदाय लक्षित कार्यक्रम सञ्चालन गरिरहे पनि यौनजन्य हिंसाका घटनामा भने कमी आएको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाको तीन वर्षे तथ्याङ्कलाई आधार मान्दा झापामा महिलामाथि हुने यौनजन्य हिंसा बढ्दो छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७४/०७५ मा १२९ महिलामाथि जवरजस्ती करणी तथा जवरजस्ती करणीको प्रयास भएको थियो ।

जसमध्ये १६ वर्ष भन्दामुनिका वालिका सबैभन्दा बढी यौनहिंसामा परेका थिए । ६१ बालिका यौनजन्य हिंसामा पर्दा १६ देखि २५ वर्ष उमेर समूहका ३३ किशोरी तथा महिला, २६देखि ३५ वर्ष उमेर समूहका महिला २२ जना, ३६देखि ४५ वर्ष उमेर समूहका ६ जना, ४६ देखि ६० वर्ष उमेर समूहका ५ जना र ६० वर्ष भन्दामाथिका २ जना बृद्धा पनि यौनहिंसाको शिकार भएका थिए ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६मा एक सय ७३ जना महिलामाथि यौनजन्य हिंसाका घटना घटेका छन् । यो अघिल्लो वर्षको तुलनामा ४४ले बढी हो । हिंसामा पर्नेमध्ये यो आर्थिक वर्ष पनि १६ वर्षभन्दा मुनिका किशोरी नै बढी छन् । तथ्याङ्का अनुसार १६ वर्ष भन्दामुनिका ८४ जना जवरजस्ती करणी तथा जवरजस्ती करणीको प्रयासमा परेका छन् । अघिल्लो अर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७/०७६मा पनि २३ जना बालिका तथा किशोरीमाथि करणी र करणीको प्रयासका घटना बढी भएका छन् ।

त्यस्तै १६देखि २५ वर्ष उमेर समूहका ५० जना, २६देखि ३५ वर्ष उमेर समूहका १७, ३६ देखि ४५ वर्ष उमेर समूहका ९ जना, ४६ देखि ६० वर्ष उमेर समूहका ६ जना र ६० वर्षभन्दा माथिका ७ जना वृद्धा समेत यौनजन्य हिंसाको शिकार भएका छन् । यो आर्थिक वर्षमा वृद्धामाथि समेत यौनजन्य हिंसाका घटनामा वृद्धि भएको देखिएको छ ।चालू आर्थिक वर्ष २०७६/०७७ को तीन महिनाको अवधिमा नै १२ जना किशोरीलाई करणीको प्रयास र करणी भएको छ । त्यस्तै १६ वर्षदेखि २५ वर्षमा १३ महिला, २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका ४ जना महिला यौनजन्य हिंसामा परेका छन् ।

यसैबीच प्रहरीले समुदाय लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरेसँगै यौनजन्य हिंसाका घटनामा कमी आएको दावी गरेको छ । तीन महिनाको अवधिमा भएका यौनजन्य घटनामा कमी ल्याउन झापा प्रहरी सफल भएको प्रहरी प्रवक्ता समेत रहेका श्रेष्ठले बताए । प्रहरीले यौनजन्य हिंसामा सम्लग्न भएको भन्दै आर्थिक वर्ष २०७४/०७५मा एक सय ४१ जना पुरुषलाई पक्राउ गरेको थियो ।

जसमध्ये १६ देखि २५ वर्ष उमेर समूहका धेरै पुरुष रहेको प्रहरीले जनाएको छ । तथ्याङ्क अनुसार १६ वर्ष भन्दामुनिका ९ जना किशोर पक्राउ पर्दा १६देखि २५ वर्ष उमेर समूहका ५१ जना पुरुष पक्राउ परेका छन् । त्यस्तै २६देखि ३५ वर्ष उमेर समूहका ४१, ३६ देखि ४५ वर्ष उमेर समूहका २१, ४६ देखि ६० वर्ष उमेर समूहका १३ र ६० वर्षभन्दा माथिका ६ जना वृद्ध समेत यौनजन्य हिंसामा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

त्यस्तै आर्थिक वर्ष २०७५/०७६मा समेत १६देखि २५ वर्ष उमेर समूहकै पुरुष यौनजन्य हिंसामा संलग्न रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो उमेर समूहका ८० जना पुरुष पक्राउ परेका छन् । यता १६ वर्षमुनिका ८ जना किशोर पक्राउ पर्दा २६देखि ३५ वर्ष उमेर समूहका ४२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै ३६देखि ४५ वर्ष उमेर समूहका ३२ जना, ४६ देखि ६० वर्ष उमेर समूहका २० जना र ६० वर्षभन्दा माथिका ५ जना वृद्धलाई समेत यौनजन्य हिंसामा सम्लग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा १६ वर्ष भन्दामुनिका एक किशोर पक्राउ परेका छन् भने १६देखि २५ वर्ष उमेर समूहका १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै २६ वर्षदेखि ३५ वर्ष उमेर समूहका ७ जना, ३६देखि ४५ वर्ष उमेर समूहका ८ जना ४६देखि ६० वर्ष उमेर समूहका २ जना र ६० वर्ष भन्दामाथिका २ जना वृद्धलाई तीन महिनाको अवधिमा प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरीका अनुसार आर्थिक वर्ष २०७४/०७५मा यौनहिंसाका एक सय ३४ वटा मुद्दा दर्ता भएको छ । सो अवधिमा एक सय २ जना प्रतिवादी पक्राउ परेका छन् भने ११ जना प्रतिवादी फरार रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७५/०७६मा एक सय ७४ बटा मुद्दा दर्ता हुँदा एक सय ६१ जना प्रतिवादी पक्राउ परेका थिए भने ५ जना प्रतिवादी फरार छन् ।

प्रहरीका अनुसार चालू आर्थिक वर्षको तीन महिनामा २८ वटा मुद्दा दर्ता भएको छ । जसमा २६ जना प्रतिवादी पक्राउ परेका छन् भने ७ जना अझैं फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिरुद्ध जवरजस्ती करणी तथा जवरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

झापाका १५ वटा स्थानीय तहमध्ये चालू आर्थिक वर्षको तीन महिनामा यौनजन्य हिंसा बिर्तामोड र दमक नगरपालिकामा धेरै घटना घटेका छन् । प्रहरीका अनुसार आर्थिक वर्ष २०७६/०७७को असोज महिनासम्ममा बिर्तामोड र दमकमा ५/५ वटा जवरजस्ती करणीका घटना घटेका छन् । शिवसताक्षीमा तीन, भद्रपुर र मेची नगरनगरपालिकामा दुई दुई वटा कनकाई,गौरादह नगरपालिका तथा बाह्रदशी र बुद्धशान्ति गाउँपालिकामा एक÷एक वटा जवरजस्ती करणीका घटना घटेको प्रहरीले जनाएको छ ।

त्यस्तै जवरजस्ती करणी उद्योग अन्तर्गत बिर्तामोड नगरपालिका र वुद्धशान्ति गाउँपालिकामा तीन/तीन वटा, गौरादह नगरपालिकामा दुई, मेचीनगर र दमक नगरपालिकामा एक÷एक वटा घटना घटेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए । बिर्तामोड र दमक नगरपालिकामा जनघनत्व धेरै रहेकाले आपराधिक गतिविधि समेत यस क्षेत्रमा धेरै हुने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )