कात्तिक १६ बाट हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप’

कात्तिक १६ बाट हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप’

झापा । कहिले मौषमको खारावी त कहिले एन्फाको सेडुल नमिल्दा निर्धारीत मितिबाट दुई पटक सरेको ‘हाम्रो पूर्वाञ्चल अन्तराष्ट्रिय गोल्डकप २०७६’ कार्तिक १६ गतेदेखि शुरु हुने भएको छ । खेल मैदान बिर्तामोडको डोमालाला राजवंशी रंगशालामा आयोजक जायोन स्पोर्टस क्लबले बिहीबार पत्रकार सम्मेलन गर्दै सबै तयारी पुरा भएको जानकारी दिएको हो ।

असोज दोस्रो सातादेखि प्रतियोगिता शुरु हुने तयारी भएकोे भएपनि मौषमको प्रतिकुलताको कारण स्थगित भएको थियो । त्यसपछि आयोजकले अखिल नेपाल फुटबल संघ(एन्फा) सँग कार्तिक २ गतेदेखि प्रतियोगिता आयोजना गर्न समय माग गरेको थियो । एन्फाले सो समयमा अन्यत्र प्रतियोगिता भएको हुनाले समय दिन नसकेपछि कार्तिक १६ को साइत जुरेको हो । एन्फासँग भएको सहमतिसँगै कार्तिक २५ गते फाइनल सम्पन्न हुने गरी प्रतियोगिता शुरु हुन लागेको छ ।

प्रतियोगितामा आयोजक जायोन स्पोर्टस क्लब, सिक्किम आक्रामक, संकटा क्लब मोलवे आसाम, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरीको एपीएफ क्लब, झापा ११, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब र गोर्खा ब्वाइज रुपन्देही गरि १० टिमकोे सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका लागि लगभग ५ हजार दर्शक बस्न मिल्ने बाँसको प्याराफिट निर्माण गरिएको आयोजक क्लबका खेल संयोजक अभिनास राईले जानकारी दिए । नेपाली महिला फुटबल टोलीका प्रशिक्षक हरि खड्कालाई आयोजक क्लबले ब्राण्ड एम्बेसेडर बनाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड र उदियमान खेलाडीले जनही १५ हजार रुपैंयाँ नगद पुरस्कार पाउँने छन् । प्रतियोगिता भरीकै मष्ट भ्यालुएबल खेलाडीले एउटा मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको बिजेताले नगद १२ लाख ५० हजार पुरस्कार र उपबिजेताले ६ लाख २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष भक्त खवासले जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )