घाट खरिदबिक्रीमा समस्या, सवारीसाधन प्रवेश रोक

घाट खरिदबिक्रीमा समस्या, सवारीसाधन प्रवेश रोक

भद्रपुर।

बिहीबारदेखि छठ पर्वको मुख्य विधि शुरु भएसँगै नेपाल–भारतको सीमावर्ती नाकासँग जोडिएको भद्रपुरको मेची नदी किनारमा तयारी तीव्रता दिइएको छ ।

यही कात्तिक १६ गते शनिवार बेलुका अस्ताउँदो सूर्य र कात्तिक १७ आइतबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै मनाइने तराईबासीको मुख्य चाड छठ पर्वलाई भव्यता दिन मेची नदी किनार सिंगारिँदैछ । प्रदेश १ मै सबैभन्दा फराकिलो, लामो र सीमा क्षेत्रमा मनाइने छठ पर्व झापा जिल्लाको भद्रपुरको मेची नदीमै मनाइन्छ । त्यही भएर नेपालको जनकपुरपछि भद्रपुरको छठ पूजा स्थल दोस्रो रहेको आयोजक समितिको दावी छ । भारतको बंगाल तथा विहार गरी दुईवटा राज्यसँग जोडिएको भद्रपुरस्थित मेची नदीको छठ पर्वलाई भव्यता दिन अहिले दुवै देशका भक्तजनसहित मैथिली समाज र युनिक समूह भद्रपुर सामुहिक रूपमा जुटेका छन् ।

भद्रपुर नगरपालिका कार्यालयको सहयोगमा दुवै समिति मेची नदीमा पूजास्थल (घाट) देखि बिजुलीबत्ती जडान, अस्थायी बाँसे पुल निर्माण, सरसफाई, सडक, खानेपानी व्यवस्थापन, सुरक्षा बिट, स्वागत गेट, हेल्प डेस्क, सूर्य भगवानको मुर्ति स्थल निर्माण लगायतका कार्यमा जुटेका छन् । तिहार सकिए लगत्तै छठ पर्व मनाउन मेची नदीमा तयारीमा जुटेको आयोजक समितिको भनाइ छ ।

मेची नदीलाई वर्षमा एकपटक नयाँ बेहुलीझैँ सिंगार्दै छुट्टै रौनकता दिन आयोजक समिति दिनरात लागीपरेको छ । भद्रपुर–५स्थित मसान घाटदेखि मेची पुलको मुख्यद्वार हुँदै देवीबस्तीसम्मको करिब २ किलोमिटर वारिपारि लामो नदी किनारमा नेपाल र भारतका भक्तजनहरूले ५ हजारभन्दा बढी पूजास्थल (घाट) बनाएर छठ पर्व मनाउँछन् । मधेसी समुदाय बाहेक अहिले पहाडे, मारवाडी, बंगाली, राजवंशी लगायतका समुदायले समेत मेची नदीमा छठ पर्व मनाउँदै आएका छन् ।

भद्रपुरमा यो वर्ष मेची पुल सञ्चालनमा रहेकोले पुलमाथि बिजुलीबत्ती जडान गर्नुका साथै तीन वटा प्रवेशद्वारमा बिजुलीले झिलिमिली बनाइने मैथिली समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले बताए । बिजुली बत्ती जडानका लागि दुई लाख ५० हजारभन्दा बढी रकम खर्च गरिने उनको भनाइ छ । साथै समाजले पहिलोपटक घाट व्यवस्थापनका लागि छुट्टै नियम बनाएर पूजास्थल भक्तजनहरूलाई दिने भएको छ ।

समितिले आफैं पण्डाल निर्माण गरी पूजास्थल दिन लागेको अध्यक्ष झाले जानकारी दिए । ‘मेची नदीमा मनाइने छठ पर्वको देशमै छुट्टै पहिचान छ’– उनले भने– ‘नेपाल तथा भारतका भक्तजनहरू एकसाथ यही नदीमा आएर छठ मनाउने भएकाले भक्तजनहरूको घुइँचो लागेको दृश्य हेर्न लायक हुन्छ ।’ ‘सीमा क्षेत्रमा यसरी छठ मनाउनु नेपालमै कहीँ छैन’– उनले भने– ‘त्यही भएर यसलाई भव्यता दिन हामी १५ दिनअघिदेखि नै सामुहिक रूपमा लागीपरेका छौ ।’ स्थानीय निकाय तथा सुरक्षा निकायसँग सहकार्य गरी नदी किनारमा पूर्वाधारहरू निर्माण भइरहेको बताउँदै– उनले भने– ‘व्रतालु र भक्तजनहरूको सेवा सुविधाका लागि मेची नदीमा नगरपालिकाको आर्थिक सहयोगमा अस्थायी बाँसे पुल निर्माण गरेका छांै ।’ छठ पर्वलाई भव्यता दिन करिब ५ लाख खर्च हुने बताउँदै समाजका सचिव सुशील कर्णले भने– ‘आर्थिक स्रोतका लागि समाजले चन्दा संकलन गर्ने र बाँकी घाटबाट रकम जुटाएर व्यवस्थापन गर्छ ।’

त्यस्तै युनिक समूहले देवीवस्ती क्षेत्रमा पण्डालसहितको घाट व्यवस्थापन गरी बिजुली बत्ती जडान कार्यमा २५ दिनदेखि तीव्रता दिँदै आइरहेको समूहका अध्यक्ष नारद राजवंशीले बताए । व्रतालु तथा भक्तजनहरूको परिवारलाई लक्षित गरी समूहले सुविधा सम्पन्न घाट व्यवस्थापनमा जुटेको हो– उनले भने– अघिल्लो वर्ष घाट नपुगेर समस्या भएकोले यसबर्ष उत्तरपट्टि निर्माण गरिएको तटबन्ध नजिकै घाट बनाएर व्यवस्थापन गरेका छांै । करिब २ लाख रुपैयाँ खर्च हुने जनाउँदै उनले भने– ‘गरिब तथा असहाय परिवारलाई सहुलियत वा निःशुल्क घाट उपलब्ध गराउनुका साथै अन्य परिवारसँग ५ सय लिन्छौं ।’ साथै भक्तजनहरूलाई मनोरञ्जन दिन छठ पर्वको दिन स्थानीय कलाकारको सहयोगमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने उनले बताए । भद्रपुर छठ पर्वमा छिमेकी राष्ट्र भारतसँगै झापा जिल्लाका विभिन्न स्थानीय तहबाट आउने हजारौँको संख्यामा भक्तजनहरूको घुइँचो लाग्ने गरेको छ ।

पूजास्थल खरिद बिक्रीले समस्या

पूजास्थल खरिद बिक्रीले विवाद बल्झिएको भन्दै मैथिली समाजले पहिलोपटक पण्डालसहितको पूजास्थल निर्माण गरिदिने भएको छ । समाजले मेची पुलको दक्षिणपट्टि र नदीको पूर्वपट्टि पण्डालसहितको घाट निर्माण गर्दैछ । समाजले पण्डालसहितको घाट बिक्री गर्दा बढी रकम लिएको भन्दै भक्तजनहरूले गुनासो गर्न थालेका छन् । समाजले यसबर्ष १० वटा पण्डाल निर्माण गरी २ सय ५० परिवारलाई आठ सयको दरले घाट उपलब्ध गराउँदैछ । युनिक समूहले ५ फिट घाटको पाँच सय लिने गरेकोमा समाजले ६ फिट घाटको आठ सय लिँदा समस्या उत्पन्न भएको स्थानीय बिक्रम सहनीले बताए ।

मेची किनारबासीलाई छाडेको ठाउँमा अरू व्यक्तिलाई घाट बिक्री गर्दा यो नियमसंगत नभएको भन्दै स्थानीय रवि घोषले आक्रोश पोखे । ‘मेची किनारबासी एकजुट नहुँदा यहाँ घाट खरिद बिक्रीमा चलखेल भइरहेको छ’– उनले भने– ‘यसलाई नगरपालिका र मैथिली समाजले रोक्न नसक्दा मेची किनारबासी पानी बग्ने ठाउँमा पूजा गर्न बाध्य बनेका छन् ।’ मेची किनारबासीका लागि छुट्याएको स्थान अरूलाई बिक्री गर्दा सात परिवार सात फिटमा पूजा गर्न बाध्य बनेको स्थानीय राधेश्याम कामतीको गुनासो छ ।

समाजका अध्यक्ष झाले समाजले बढी रकम नअसुलेको बताए । मेची किनारबासीका लागि समाजले पश्चिमपट्टिको करिब ३ सय मिटर भन्दा बढी स्थान छाडिदिएको बताउँदै उनले भने– ‘त्यस ठाउँमा कसले पण्डालले बनाएर कसलाई बेचेको हो, त्यो हाम्रो विषय होइन, तर पनि त्यस्तो आर्थिक चलखेललाई नियन्त्रण गर्नुपर्छ ।’

ट्रयाक्टरसहित चार पाङ्ग्रे सवारी साधनमाथि रोक

अघिल्लो वर्ष छठ पर्वको बेलुका ट्याक्टरले किचेर मेची नदी किनारमा एक बालिकाको मृत्यु भएको भन्दै प्रहरीले यसबर्ष ठूला सवारीसाधन मेची नदी किनार लैजान रोक लगाउने भएको छ ।

व्रतालु तथा भक्तजनहरूको शान्ति सुरक्षाको दृष्टिकोणलाई लक्षित गर्दै प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालयले भद्रपुर भन्सार कार्यालय र पशुपति प्रावि अगाडिबाटै ट्याक्टरसहित टेम्पो, राँगा गाडा, मोटरसाइकल, चार पाङ्ग्रे सवारीसाधनमाथि रोक लगाउने प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । नेपाल र भारत गरी ५० हजार भन्दा बढी भक्तजनहरू आउने लक्ष्य राखिएको भद्रपुरको छठमा सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन दुवै देशका सुरक्षा निकायसँग समन्वय गरी सुरक्षा योजना बनाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

आयोजक समिति, भद्रपुर नगरपालिका, सशस्त्र प्रहरी र भारतीय सुरक्षाकर्मीको सहकार्यमा छठ पर्वका दिन मेची नदीमा दुई सय ५०भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिनेछ । नेपाली प्रहरी र ट्राफिक प्रहरी गरी एक सय ५०, सशस्त्र प्रहरी एक सय परिचालन हुनेछन् । साथै भारतीय एसएसबी र भारतीय प्रहरी समेत परिचालन हुने जनाइएको छ । छठ पूजा स्थलमा हुन सक्ने सम्भावित आपराधिक तथा उच्छृखंल गतिविधि रोक्न विभिन्न स्थानसहित मेची पुलमाथि पनि प्रहरी परिचालन गरिने उनले बताए । त्यसभित्र पैदल गस्ती तथा सादा पोशाकमा पनि प्रहरी परिचालन गरिनेछ । साथै भक्तजनहरूको सुरक्षालाई मध्यनजर गरी छठमा प्रहरी हेल्प डेस्क समेत राखिन्छ ।

छठमा अस्थायी बासे पुलको छुट्टै पहिचान

मेची नदीमा पक्की पुल निर्माण भए पनि छठ पर्वमा व्रतालु तथा भक्तजनहरूको सुविधालाई मध्यनजर गरी भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा अस्थायी बाँसे पुल निर्माण गरिएको छ ।

मेची नदीमा पुल नबन्दा अघिल्लो वर्षहरूमा छठ पर्वमा बनाइने अस्थायी बाँसे पुल भएर दुवै देशका नागरिकले आवतजावत गर्ने गरेका थिए । मेची पुल सञ्चालनमा आए पनि यसबर्ष नदीमा अस्थायी बाँसे पुल निर्माण गर्नुको छुट्टै पहिचान थपिएको छ ।

नगरपालिकाले एक लाख ३४ हजार पाँच सय खर्च गरेर बाँसे पुल बनाएको ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले बताए । साथै नदीको धार परिवर्तन गरी सडक निर्माण र घाट व्यवस्थापनका लागि नगरपालिकाले निःशुल्क जेसीभी र ट्रयाक्टर दिएर सहयोग गरेको उनको भनाइ छ । छठ पर्व सकिएपछि बाँसे पुल खोलिदिने उनले बताए ।

एक लाख बढीलाई निःशुल्क चिया र पानी

छठ पर्वमा भक्तजनहरूको सेवा सुविधालाई मध्यनजर गर्दै नेत्र ज्योति समाज भद्रपुर, मुना चिया र युनिक समूहले तीन स्थानमा निःशुल्क चिया तथा पानी वितरण गर्ने भएको छ ।

बेलुका र बिहान गरी यसबर्ष एक लाख भक्तजनहरूलाई चिया खुवाउने लक्ष्य राखिएको नेत्र ज्योति समाजका अध्यक्ष माणिक रायले जानकारी दिए । समाजले विगतका वर्षहरूमा भक्तजनहरुलाई निःशुल्क चिया तथा पानी वितरण गर्दै आइरहेकोमा गत वर्षदेखि मुना चिया र युनिक समूहले पनि यो कार्यक्रमलाई निरन्तरता दिन थालेको हो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )