भद्रपुर-गलगलिया सीमा नाकामा भारतीय एसएसबीको क्याम्पभित्र जंगे पिलर

भद्रपुर-गलगलिया सीमा नाकामा भारतीय एसएसबीको क्याम्पभित्र जंगे पिलर

भद्रपुर । भद्रपुरकी राधिका बाँस्तोला किनमेलका लागि सीमापारि विहारको गलगलिया बजार आउजाउ गरिरहन्छिन् । बाटोमास्तिर भारतीय अर्धसैनिक बल (एसएसबी) ले तारघेराभित्र राखेको जंगे खम्बा देख्दा उनको मन पोल्छ ।

पहिला जंगे खम्बासम्म हाम्रै जमिन थियो,’ उनले सुनाइन्, ‘पछि एसएसबीले जंगे खम्बा घेरेर क्याम्प राख्यो, जमिन पनि गायब भो ।’ एसएसबीले नेपाल–भारत सीमाका दुई ठूला स्तम्भ कब्जा गर्दा पनि नेपाली पक्ष मौन देखिन्छ ।

भद्रपुरनजिकको १ नम्बर र साबिक महेशपुर गाविसमा पर्ने ३ नम्बर जंगे स्तम्भ घेरेर एसएसबीले १८ वर्षअघि क्याम्प राखेको हो । एसएसबीले २०५८ सालमा क्याम्प खडा गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासनको नेतृत्वमा १० वर्षअघि सीमा र स्तम्भको संयुक्त निरीक्षण र अनुगमन भएको थियो । अनुगमनपछि तयार पारिएको प्रतिवेदनमा एसएसबीले अन्तर्राष्ट्रिय सीमा कानुनविपरीत दशगजामै क्याम्प खडा गरेको उल्लेख छ ।

जिल्ला प्रशासन, सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, जिल्ला प्रहरी, राष्ट्रिय अनुसन्धान, नापीसहितका प्रतिनिधि सम्मिलित टोलीले २०६७ माघ २० देखि फागुन १ सम्म झापास्थित सीमास्तम्भ निरीक्षण गरेको थियो । ‘दशगजामै बसेको थाहा हुँदाहुँदै एसएसबीलाई हटाउन हल गरेकै छैन,’ सीमा अनुगमनमा खटिएका जिल्ला प्रशासनका एक पूर्वकर्मचारी भन्छन्, ‘माथिल्लो निकायबाटै यसबारे ठोस कदम चालिनुपर्थ्यो ।’

नेपाल–भारत सीमा बैठकहरू वारिपरि दुवैतिर भइरहन्छन् । तर सीमा अतिक्रमणबारे नेपाली पक्ष सधैं मौन रहन्छ । अनुगमन टोलीको नेतृत्व गरेका जिल्ला प्रशासनका तत्कालीन अधिकृत दीपेन्द्र खत्रीले भने, ‘हामीले सत्यतथ्य समेटेर प्रतिवेदन बुझाएका थियौं, कार्यान्वयन भयो भएन थाहा छैन ।’

दशगजामा दुवै पक्षबाट कुनै भौतिक संरचना निर्माण गर्न नमिल्ने स्पष्ट मापदण्ड हुँदाहुँदै क्याम्प राख्नुले नेपाली भूभाग कब्जा गर्ने एसएसबीको नियत नै देखिएको प्रतिवेदनमा दाबी गरिएको छ । टोलीले झापा–इलामको सीमावर्ती बाहुनडाँगीस्थित तिरिङदेखि खजुरगाछीसम्म अनुगमन गरेको थियो । त्यस क्रममा साना, मझौला र ठूला गरी कुल ८ सय ७३ स्तम्भ हुनुपर्नेमा ६ सय ८७ वटा मात्रै फेला परेको उल्लेख छ । तिनमा १ सय ५८ वटा ठूला, २२ वटा मझौला र ५ सय ७ वटा साना स्तम्भ छन् ।

नेपाल–भारत संयुक्त सीमा नापी टोलीले अहिले सीमा व्यवस्थापनको काम गरिरहेको छ । झापाका २ सय ५४ स्तम्भ गायब छन् । टोलीले सीमामा हराएका भनिएका स्तम्भ खोजी गरेर पुरानै ठाउँमा कायम गर्ने काम तीव्र रूपमा अघि बढाइरहेको सीमा व्यवस्थापन कार्यालय प्रमुख दयानन्द जोशीले जनाए को कान्तिपुर दैनिकमा पर्वत पोर्तलले लेखेका छन्।

जंगे कि रिफरेन्स पिलर ?
एसएसबीले कब्जा गरेको सीमास्तम्भलाई सरकारी अधिकारीहरूले ‘रिफरेन्स पिलर’ भन्दै आएका छन् । तर, सीमाविद् बुद्धिनारायण श्रेष्ठ त्यसलाई सीमाछुट्याउने मुख्य स्तम्भ ९जंगे पिलर० भन्छन् । २०५७ सालमा प्रकाशित श्रेष्ठको पुस्तक ‘नेपालका सिमाना’ मा भद्रपुर नगरपालिकाको साँधमा बगेको मेची नदीको ठीक पूर्वी किनारमा रहेको खम्बा जंगेस्तम्भ नै भएको उल्लेख छ ।

यो स्तम्भ नेपाल–बंगाल–विहारको त्रिविन्दुका रूपमा स्थापित छ । श्रेष्ठका अनुसार सरकारले २०२२र२३ सालमा झापामा नापी गर्दाको कित्ता अभिलेखमा पनि यसलाई जंगे पिलरकै रूपमा उल्लेख गरिएको छ । उनको बुझाइमा जंगे पिलरलाई रिफरेन्स पिलर मान्ने हो भने प्राविधिक दृष्टिकोणले योभन्दा मुख्य पिलर अर्को हुनुपर्छ जुन अहिलेसम्म कतै देखिएको छैन ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )