अञ्चल अस्पतालले सेवा नदिएको गुनासो

भद्रपुर ।  मेची अञ्चल अस्पतालले सरकारी लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुखेसो पोखेका छन् ।

भद्रपुर जेसीजको संयोजनमा मंगलबार भद्रपुरमा अञ्चल अस्पताल प्रशासनसित गरिएको नागरिक अन्तरक्रिया कार्यक्रमका सहभागीले सुधारको चरणमा अस्पताल आइपुगे पनि नागरिक सेवामा सरकारी लगानीअनुरुप काम हुन नसकेको गुनासो गरे ।

विपन्न वर्गको पहुँचमा अस्पतालको सेवा आउन नसकेको, डाक्टरहरु निजी अस्पतालमुखी भएको, प्रशासनमा जनमैत्री सेवा अभाव भएको, राजनीतिक पहुँच र जातीय, क्षेत्रीय संकुचनमा अस्पताल प्रशासन अल्मलिएको स्थानीयको आरोप थियो ।

कार्यक्रममा अस्पतालको विगत, वर्तमान अवस्थावारे मेडिकल सुपरीटेन्डेन डा. पिताम्बर ठाकुरले कार्यपत्र पेश गर्दै २२ जना विशेषज्ञसहितको दरबन्दी रहेको अस्पतालमा १२ वटा पद खाली रहेकाले सेवा दिन समस्या परेको प्रष्ट पारे । उनले सेवाग्राही सरोकारवालाका गुनासाबारे उत्तर दिँदै सरकारी लगानीलाई जनताको सेवामा पूर्ण रुपमा खर्च गरेको दाबी गरे ।

अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले आफूले नेतृत्व सम्हाल्नु अगाडिको अस्पतलको अवस्था र अहिलेको अवस्थामा आमूल परिवर्तन भएको सपष्ट पारे । उनले गरिव दुःखीको सेवा पहिलो प्राथमिकतामा राखेर अस्पताल सुधार अभियान चलिरहेको दाबीसमेत गरे ।

भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका अध्यक्ष प्रकाश अधिकारी थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )