पुलिसलाई हराउँदै आर्मी फाइनलमा

काँकरभिट्टा ।  विभागीय टोली त्रिभुवन आर्मी क्लब झापाको काँकरभिट्टामा जारी काँकरभिट्टा गोल्डकप फुटबलको फाइलनमा प्रवेश गरेको छ । मंगलवार सम्पन्न पहिलो सेमीफाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिसलाई ३–० गोलअन्तरले हराउँदै आर्मीले अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको हो ।

आर्मीको जीतमा दिनेश हेनजनले २ र जर्जप्रिन्स कार्कीले १ गोलको योगदान गरे । खेलको ५४औँ मिनेटमा दिपक गुरुङको क्रसमा हेनजनले शानदार हेड गोल गरेका हुन् । दबाबमा रहेको पुलिसले पुनः अर्काे गोलको सामना गर्नुप¥यो ।

खेलको ६४औँ मिनेटमा आर्मीका दिनेश हेनजनले गोल गरेर आफ्नो टिमलाई २–० को अग्रता दिलाए । खेलको ८४ औँ मिनेटमा आर्मीका जर्जप्रिन्स कार्कीले गोल गर्दै खेललाई ३–० को जित दिलाएका हुन् । कार्कीले वान भर्सेस वानमा विपक्षी गोलरक्षक रोशन खड्कालाई विट गर्दै जाली चुमाएका थिए ।

खेल सुरु भएको १५औँ मिनेटमा आर्मीले पाएको मौकामा गोल गर्न सकेन । आर्मीका जर्जप्रिन्स कार्कीको किक विपरित खेलाडीलाई लागेर बल रिबाउन्ड भएको थियो । खेलको २४ औँ मिनेटमा पुलिसका जुमानु राईको वान भर्सेस वानको मौकामा पनि गोल हुन सकेन ।

३१ औं मिनेटमा आर्मीका भरत खवासले वान भर्सेस वान प्रहार गरेका थिए । उनको प्रहारमा पुलिसका डिफेन्डर दिनेश राजवंशी बाधक बने ।

खेलको ३५ औं मिनेटमा पुलिसका रवि पासवानले तेज तामाङको क्रसमा फ्लिक गरेका थिए । त्यो मौका पनि पुलिसले गोल गर्नबाट गुमायो । ४९ औं मिनेटमा आर्मीका भरत खवासले गोल गर्ने सुनौलो मौका गुमाए ।

खेलको ८५ औं मिनेटमा पुलिसका सुमन लामाले हानेको फ्रि किक गोल पोस्टबाट बाहिरिएपछि पुलिसका लागि खाता खोल्ने अवसर समेत सकिएको थियो । पाएको बललाई सदुपयोग गर्न नसक्दा पुलिस घर फर्कन बाध्य भयो । पुलिसमाथी हावी भएको आर्मीले रक्षपङ्क्तिलाई मजबुद राखेको थियो ।

आर्मीका स्ट्राइकर नवयुग श्रेष्ठ अनफिट भएका कारण मैदान बाहिर रहे । खेलको म्यान अफ द म्याच विजेता टिमका दिनेश हेनजन घोषित भए । उनलाई नगद १० हजारसहित पुरस्कृत गरिएको थियो ।

अन्तिम सेमीफाइनल खेल आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र मनाङ मस्र्याङ्दीबिच हुने आयोजक समितिका सदस्य रोशन काफ्लेले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )