​दक्षिण एसियाको दुखान्त !

दक्षिण एसियाको नक्सा ।

तीर्थ सिग्देल

नेपालजस्तै तीनैतिर भारतको आसाम, पश्चिम बंगाल, मेघालय, मिजोरम र त्रिपुरा प्रान्तद्वारा घेरिएको बंगलादेशमा लामो समयदेखि चक्मा विद्रोह चलिरहेको छ । दोस्रो ठूलो सहर चित्तगोंगको नजिकैको पहाडी भूभागमा बस्ने चक्माहरू बुद्धिष्ट हुन् । उनीहरू बंगलादेश सरकारको दमनमा परेर विस्थापित मात्र हैन, मारिइरहेका छन् ।

सन् १८६० मा जतिबेला इष्ट इण्डिया कम्पनीले हालको बंगलादेशसमेतलाई आफ्नो मातहतमा लियो, उसले त्यहाँ बसोबास गर्ने चक्माहरूलाई बसोबासको ग्यारेन्टीसहित स्वतन्त्रताको अधिकार प्रदान गरेको थियो । उनीहरूलाई सिएसटी रेगुलेशनअन्तर्गत अटोनोमी दिइयो । तर, जब सन् १९४७ मा इष्ट इण्डिया कम्पनीले एकसाथ हालको भारत, पाकिस्तान र बंगलादेश छाडेर गयो, त्यसपछि चक्माहरूमाथि दमन थालियो ।

भारतबाट छुट्टिएर इष्ट पाकिस्तान बन्दा हालको बंगलादेश त्यतै प¥यो । त्यतिबेला नै उनीहरू अलग्गै बस्न चाहन्थे । जब १९७१ मा पाकिस्तानबाट बंगलादेश अलग भयो, त्यसपछि पनि स्वायत्तता पाएनन् । बरु दमन भोग्न थाले । त्यो बेला चक्माहरूले आफ्नो भूमिमा भारतीय झण्डा फहराए ।

उनीहरू बसेको सुन्दर पहाडी भूभागमा अरू कसैले जमिन किन्न र बस्न नपाइने सम्झौता थियो । तर, जब बंगलबन्धु मुजिबुर रहमानको नेतृत्वमा हालको बंगलादेश पाकिस्तानबाट छुट्टियो तब उनीहरूका लागि दशा शुरु भयो । त्यसबीच धेरै चक्मा विस्थापित भइसकेका थिए ।

बंगलादेश मुस्लिम देश हो । बंगलादेश सरकारले उनीहरू बसेको भूभागमा हाइ ड्याम बनाई चित्तगोंगका लागि खानेपानी ल्यायो । त्यतिबेला त्यो भूभागमा बस्ने एक लाख चक्मा थप विस्थापित भए । चक्मा भारतको मिजोरम, अरूणाञ्चल, त्रिपुरा र आसामतिर पुगे । तर, त्यहाँ पनि आन्तरिक राजनीतिको शिकार बनाइयो । एउटै मात्र कारण– उनीहरू बुद्धिष्ट हुन् । अहिले पनि भारतमा शरणागत उनीहरूमाथि उस्तै नजर छ ।

बंगलादेश सरकारको टाउको दुखाइको विषय बनेको यो समस्याको मूल जड नै त्यही परियोजना हो, जसकारण अहिले पनि यस क्षेत्रमा हिंसा भड्किरहेको छ । चित्तगोगं हिलट्रयाक नामक परियोजना निर्माण गरेर बंगलादेश सरकारले सो भूमिमा बस्ने १ लाख आदिवासी समुदायलाई बिनाकुनै विकल्प विस्थापित गरिदियो । त्यसपछि झन् हिंसा चर्कियो । अहिले पनि चक्माहरूले हतियार उठाइरहेका छन् ।

सो परियोजना लेक अफ टियर (आँसुको सागर) को नामले संसारभर चिनिन्छ । उनीहरूलाई जबर्जस्ती मुसलमान बन्न बाध्य बनाइयो । बौद्ध धर्म परिवर्तन गरेर मुसलमान बनेमा त्यस भूमिमा बस्न पाउँथे । नत्र थातथलो छाडेर हिँड्नुको विकल्प भएन ।

चोरी निकासीभन्दा पनि बंगलादेशी नागरिक इण्डियामा प्रवेश गरे भन्ने निहुँमा सीमाक्षेत्रलाई अजंगका काँडेतारले घेरिएको छ । फरक्का बाँध र तल्लापट्टि विवाद, भारती आप्रवासी, स्मगलिङ नै प्रायः सीमानामा भइरहने भिडन्तका कारण हुन् । बंगलादेशीको अपहरण तथा इण्डियनको घुसपैठ अनि बंगाली समुद्री क्षेत्रमाथिको हस्तक्षेप त्यहाँका ज्यूँदा समस्या हुन् । चक्मा विद्रोहको विवाद, बंगालभूमि गतिविधिमा असन्तुष्ट उक्साएर सताउने नीतिले त्यहाँ पनि काम गरिरहेकोे छ ।

अझ भारतको चिकन नेक भनेर चिनिएको सिलिगुडी नजिकै फूलबारी नाका भएर बंगलादेश जाने पर्यटकलगायत यात्रुलाई बढी सास्ती हुने गरेको छ । भारतले भरसरक यो बाटो भएर मानिस बंगलादेश जाउन् भन्ने चाहँदैन । बंगलादेशको सीमा प्रशासनदेखि इमिग्रेसनले पनि यो बाटो प्रयोग गर्नेमाथि शंकाको नजरले हेर्ने गरेको छ ।

भर्खरै बंगलादेशसँग सीमा जोडिएको म्यान्मारमा रोहिंग्या शरणार्थीको उल्झनले भारतको टाउको दुखिरहेको छ । भारत ती शरणार्थी यो बाटो भएर नआउन् वा भारतमा उनीहरू नबसुन् भन्ने चाहन्छ भने बंगलादेशलाई पनि रोहिंग्याको समस्याले सताइरहेको छ ।

अहिले बंगलादेशमा मात्र ७ लाखभन्दा बढी रोहिंग्या शरणार्थी छन् । तिनीहरू अवैध बाटोको प्रयोग गरेर नेपालसम्म पुगेका छन् ।

बंगलादेश र भारतको दक्षिणी सीमा क्षेत्र खुला छ । जहाँबाट शरणार्थीलाई प्रवेश सजिलो छ ।

दक्षिण एशिया जसरी जातीयकरणको मारमा परिरहेको छ । त्यसको एउटै कारण आफ्नो सत्ता टिकाउने खेलसँग जोडेर हेर्न सकिन्छ

दक्षिण एशियामा विशेष गरेर भारतीय सीमा क्षेत्र बढी मात्रामा विवादित र जातीयकरणका कारण चर्चामा हुने गरेको छ । बंगलादेशमा सन् १९०१ मा गरिएको जनगणनामा ३१ प्रतिशत हिन्दू धर्मावलम्बी रहेको देखिन्छ । तर, पछिल्लो तथ्यांकले त्यो संख्या ८.९६ प्रतिशतमा झरेको छ । यसरी हिन्दूको संख्या घट्नुको कारण पनि उही हो । जसरी बहुसंख्यक बुद्धिष्ट भएको चक्माल्याण्डमा दमन गरियो, हिन्दू धर्ममाथि पनि नजानिँदो पाराले नीतिगत दमन गरिएका छन् । कुनै समय बौद्ध धर्मको प्रख्यात थलोको रूपमा चिनिएको यो भूभागमा अहिले जम्मा १ प्रतिशत मात्र छन् ।

दक्षिण एशिया जसरी जातीयकरणको मारमा परिरहेको छ । त्यसको एउटै कारण आफ्नो सत्ता टिकाउने खेलसँग जोडेर हेर्न सकिन्छ । भर्खरै भारत सरकारले एउटा विधेयक पास गरेको छ । जसकारण भारतलाई विस्तारै हिन्दू राष्ट्रको रूपमा विकसित गरिँदै छ । जसमा अफगानिस्तान, बंगलादेश, पाकिस्तानलगायत देशका हिन्दू, बुद्धिष्टलगायत भारतमा आएर बसोबास गरेमा ६ वर्षमा नागरिकता दिइने नीति छ ।

अहिले विश्वमा जातीयताका आधारमा चलेकामध्ये २७ वटा मुस्लिम, ६ वटा बुद्धिष्ट र १८ वटा क्रिश्चियन मुलुक छन् । दक्षिण एशियामा परेका ८ वटा मुलुकमध्ये अफगानिस्तान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान मुस्लिम देश हुन् भने भुटान र श्रीलंका बुद्धिष्ट । त्यसबाहेक नेपाल र भारतले धार्मिक तवरले मुलुक सञ्चालन गरेका छैनन् । यसरी हेर्दा दक्षिण एशियामै ४ वटा देश मुस्लिम छन् । जातीय राज्यका कारण यहाँका अन्य धर्मावलम्बी असुरक्षित मात्र छैनन् विस्थापित नै बनिरहेका तथ्यांक छन् ।

भारत पनि हिंसाको मारमै छ । खासगरी बोडोल्याण्ड, नक्सलवाडी विद्रोह, गोर्खाल्याण्डजस्ता माग र आसामलगायत क्षेत्रमा बेलाबेला हुने हिंसाका कारण यो क्षेत्र असुरक्षित बनिरहेको छ । जसरी श्रीलंका र नेपालले लामो समयसम्म हिंसाको सामना गरे । आज पनि ती ठाउँमा बेलाबेला हिंसा चर्किने गरेको छ । अफगानिस्तान र पाकिस्तानले पनि उस्तैखाले हिंसाको मार खपिरहेको छ । जुन समस्या दक्षिण एशियाको एउटा दुखान्त बनिरहेको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )