पर्यटक लोभ्याउन झापा आतुर : महाभारत पढ्ने कि जनजाति ?

पर्यटक लोभ्याउन झापा आतुर : महाभारत पढ्ने कि जनजाति ?

झापा, पुस १२ । झापाको अर्जुनधारा पुग्नुभयो भने त्यहाँ तपाईँलाई महाभारतकालीन कुरुक्षेत्रको रणमैदानमा श्रीकृष्णले गाण्डिव धनुर्धारी अर्जुनलाई दिव्यसन्देश दिइरहेको चित्ताकर्षक विशाल प्रतिमाले मोहनी लगाउनेछ ।

अर्जुनधारा नगरपालिकाको रु ४६ लाख लगानीमा धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्न यस्ता कलाकृति शनिश्चरे बजारभरि सजाइएका छन् जहाँबाट वर्षेनी तीन लाख धार्मिक पर्यटकको आगमन हुने गर्छ ।

पूर्वको पशुपतिनाथ अर्जुनधारा जलेश्वरधाम शनिश्चरेबाट पाँच सय मिटरको दूरीमा पर्छ भने नेपालको आधुनिक राजनीतिक इतिहासमा उच्च सम्मानका साथ स्मरण गरिने सुखानी शहादतस्थल र शहीद स्मृति उद्यानपनि नजीकै छ ।

‘नेपाल भ्रमण वर्ष २०२०’ नजिकिँदै गर्दा अर्जुनधारा मात्र होइन, झापाका अधिकांश पर्यटकीयस्थलमा भौतिक पूर्वाधारको विकास तीव्र रुपमा भएको छ । तिनीहरुको काँचुली फेरिएको छ । लाग्छ, भ्रमण वर्षमा पर्यटक लोभ्याउन झापा आतुर छ । झापामा बाह्य पर्यटक काँकडभिट्टा नाका र चन्द्रगढी विमानस्थलबाट भित्रिने गर्छन् । यी दुवै स्थानमा पर्यटकीय पूर्वाधारको अभूतपूर्व विस्तार भएका छन् ।

भारत, भुटान, बङ्गलादेश र म्यान्माबाट स्थलमार्ग हुँदै भित्रिने पर्यटकले काँकडभिट्टामा न्यानो आतिथ्य अनुभूति गर्ने गरी स्वागत तथा भ्रमणको वातावरण तयार पारिएको मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती बताउनुहुन्छ । उहाँकै संयोजकत्वमा पूर्वी नाकाको शहर मेचीनगरमा भ्रमण वर्षको स्थानीय समिति गठन भएको छ ।

नाकामै स्वागत

भ्रमण वर्षको पहिलो दिन भित्रिने पर्यटकलाई नाकामा स्वागत गर्नेदेखि सरोकार पक्ष सबैको सहभागितामा कार्यक्रम गरी पर्यटन अभियानको उद्घोष गरिने मेचीनगरको योजना रहेको उहाँले बताउनुभयो । काँकडभिट्टा नाका नेपालमा बङ्गलादेशी र भुटानी पर्यटक भित्रिने मुख्य प्रवेशद्वार मानिएको छ ।

पहिलो प्रभाव नै अन्तिमसम्म रहने भएको हुँदा पर्यटकलाई काँकडभिट्टामा पाइला टेक्नेबित्तिकै स्वागत, सुरक्षा र बसाइ आनन्ददायक होस् भनेर काँकडभिट्टाका होटल, लज र सुरक्षा सुविधालाई पर्यटकमैत्री बनाइएको होटल व्यवसायी सङ्घ मेचीनगरका अध्यक्ष रामबहादुर तामाङ बताउनुहुन्छ ।

पर्यटन वर्ष अवधिभर १५ प्रतिशत छुट

बस्नका लागि हरेक होटल र लजले पर्यटन वर्ष अवधिभर १५ प्रतिशत छुट दिएको र घुमफिरका लागि बजारिभत्रैको बिपी पुष्पलाल उद्यान, देवकोटा उद्यान र बसपार्कलाई विशेष ढङ्गले सजाइएको उहाँले जानकारी दिनुभयो ।

प्रवेश नाकामा पर्यटकलाई सामान जाँचमा सुविधा होस् भनेर एक्स–रे मेशिन प्रयोगमा ल्याइएको, अध्यागमनमै पर्यटक प्रहरी परिचालन गरिएको र बसपार्कमा यात्रु तानातान प्रथा बन्द गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक गोविन्द कार्कीले बताउनुभयो । पर्यटकको सुरक्षा र आवश्यक सहयोगका लागि कामा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिइएको उहाँको भनाइ छ ।

सौन्दर्यकाे नमूना

पछिल्लो समय नेपालकै व्यस्तमध्येको चन्द्रगढी विमानस्थल भौतिक पूर्वाधार विस्तार र सौन्दर्य अभिवृद्धिका कारण नमूना बनेको छ । रात्रिकालीन उडान भर्ने क्षमता विकास गरिसकेको सो विमानस्थलमा सामान जाँचका लागि एक्स–रे मेशिन र यात्रुको शरीर जाँचका लागि इलेक्ट्रिक डिटेक्टर मेशिन प्रयोगमा ल्याइएको विमानस्थलका प्रमुख पूर्णप्रसाद चुडालले जानकारी दिनुभयो । विमानस्थलको प्रवेशद्वार सजाएर मनमोहक बनाइएको छ । विमानस्थल परिसरमा बालबालिका उद्यान र भित्री भागमा इन्टरनेट, शौचालय, पुस्तकालयलगायत सुविधा बढाइएको छ ।

चन्द्रगढी विमानस्थलबाट हाल काठमाडाैँ, सुकेटार र लुक्ला विमानस्थलसम्म सीधा उडान भर्न थालिएको छ । निकट भविष्यमा बङ्गलादेशको साहिदपुर र पोखरासम्म उडान गराउने योजना भइरहेको विमानस्थलका प्रमुख चुडाल बताउनुहुन्छ ।

नेपालकै होचो स्थान कचनकबल, महाभारतकालीन पुरातात्विक अवशेष भेटिएको किच्चकबध, धार्मिक क्षेत्र सताक्षीधाम, ऐतिहासिक चन्द्रगढ र चिल्लागढ, कन्काई नदीको किनारमा रहेको .दोमुखा, कृष्णथुम्कीलगायत पर्यटकीयस्थलमा भौतिक पूर्वाधार निर्माण गरिएका छन् ।

सबै पर्यटकीयस्थलसम्म मोटरबाटो

झापाका सबै पर्यटकीयस्थलसम्म जानका लागि मोटरबाटो निर्माण भइसकेको हुँदा भ्रमण वर्षमा झापाले पर्यटक लोभ्याउने झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल बताउनुहुन्छ ।

समुद्र सतहबाट ५७ मिटरको उचाइमा रहेको कचनकबलमा पर्यटकलाई नौका विहार गराउने र बास बसाउने योजना भने अधूरै छ । नजीकको बनियानी बजारमा कुनै होटल र लज नभएका कारण पर्यटकले २९ किमी टाढा भद्रपुर र चन्द्रगढीमा बास बस्नुपर्ने अवस्था छ ।

कचनकबल गाउँपालिकाका इञ्जिनीयर अमित ढुङ्गानाका अनुसार सङ्घीय सरकार अर्थ मन्त्रालयको समपूरक कोषबाट कचनकबल पर्यटकीयस्थलको भौतिक निर्माण र सौन्दर्य अभिवृद्धिका लागि रु एक करोड ३० लाख बजेट प्राप्त भएको छ ।

सो बजेटबाट माछा आकृतिमा उभिएको केचनास्तम्भ र वरिपरि नौका विहार गर्न सकिने गरी विशाल पोखरी निर्माण जारी छ । होचो स्थानमा रहेको स्तम्भमा पुग्ने पर्यटकका लागि सडक, सुरक्षा, शौचालय र साना होटलको सुविधा उपलब्ध छ ।

भद्रपुर–२ स्थित किच्चकबध पर्यटकीयस्थलमा पर्यटकका लागि आराम गर्ने चौतारो, पिउने पानी, प्रवेशद्वार, मन्दिर र मूर्तिको निर्माणलगायत काम भइरहेको सो वडाध्यक्ष भीम सुब्बा बताउनुहुन्छ । महाभारतकालमा विराट् राजाका सालो किच्चकलाई द्रौपदी दुव्र्यवहारको आरोपमा भीमसेनले मुड्कीले हिर्काएर बध गरेको स्थान किच्चकबधमा वर्षेनी ठूलो मेला लाग्ने गर्छ ।

झापामा पर्यटकको आगमन उल्लेखनीय रहोस् भनेर भारतका दार्जिलिङ, सिक्किम, कोलकाता र सिलगढीमा भ्रमण वर्ष को प्रवद्र्धनात्मक गतिविधि गरिएको भ्रमण वर्षका लागि प्रदेश नं १ सरकारले गठन गरेको ग्रमीण पर्यटन तथा हस्तकला उपसमितिका संयोजक अर्जुनकुमार कार्की बताउनुहुन्छ । बङ्गलादेशबाट नेपाल आउन चाहने पर्यटकलाई भारतीय बाटामा विभिन्न झन्झट भएकाले त्यसको सहजीकरणका लागि सङ्घीय सरकारले पहल गर्नुपर्ने माग उहाँले गर्नुभएको छ ।

महिला र युवा अग्रसर

आन्तरिक पर्यटनको विकास गर्न झापाका महिला र युवा अग्रसर भएका छन् । मेचीनगरका महिलाले गत साता मेचीनगरको धुलाबारीबाट बुद्धशान्ति गाउँपालिकाको धारागोला भ्यूटावरसम्मको १९ किमी पदयात्रा सम्पन्न गरेको सञ्जीवनी महिला विकास संस्थाकी अध्यक्ष रेणुका डाँगी बताउनुहुन्छ ।

झापाको काँकडभिट्टाबाट इलामका सलकपुर, श्रीअन्तु र सन्दकपुरसम्म पदयात्रा र साइकल मार्गको पहिचान गरिसकिएको साइकल पर्यटन अभियानकमी विनोद दाहाल बताउनुहुन्छ । कचनकबल, किच्चकबध, अर्जुनधारा, सताक्षीधाम, दोमुखा, बेंसीबजार, सुखानी शहीदोद्यानलगायत स्थानमा साइकल पर्यटनको सुरक्षित सम्भावना देखिएको उहाँको भनाइ छ । दाहालको नेतृत्वमा झापाका पर्यटकीयस्थलमा हरेक साता साइकल भ्रमण गर्ने अभियान सञ्चालन भइरहेको छ ।

स्थानीय सामुदायिक वन समितिहरुले विकास गरेको पर्यटकीयस्थलहरुले समेत आन्तरिक पर्यटन बढाएका छन् । कनकाईस्थित जामुनखाडी सामुदायिक वन समितिले सिमसार क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा झापामा पहिलोपल्ट विकास गरेको थियो ।

हाल सिमसार पर्यटनबाट सो सामुदायिक वन समितिले वर्षेनी रु तीन करोड आम्दानी गर्दै आएको छ । जिल्लाका बाँसबारी, कालिका, थोप्लेबिरान, खुट्टेडाँगी, भेलागुढीलगायत सामुदायिक वन समितिले समेत अहिले जामुनखाडीकै सिको गरेर सिमसार पर्यटनको विकास गरेका छन् ।

झापामा बसोबास गर्ने जनजातिको भाषा, संस्कृति र रहनसहनसमेत पर्यटकीय दृष्टिले आकर्षणयुक्त रहेको नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ प्रदेश नं १ का अध्यक्ष दिपीन राई बताउनुहुन्छ ।

झापामा मात्र रहेका किसान, मेचे र मुण्डा जातिको संस्कृति पर्यटकका लागि अनुसन्धानको विषय बन्न सक्छ । राजवंशी, सन्थाल, धिमाल, गनगाई, ताजपुरिया र लिम्बू जातिको मौलिक संस्कार देखाएर पर्यटकलाई लोभ्याउन सकिने सम्भावना छ ।(रासस)

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )