माई र जोगमाई नदीको दोभानमा मेलाकाे तयारी

माई र जोगमाई नदीको दोभानमा मेलाकाे तयारी

भगीरथ भण्डारी
इलाम । माघे संक्रान्तिको अवसर पारेर इलामको माई र जोगमाई नदीको दोभानमा परम्परागत रुपमा लाग्दै आएको माइबेनी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

मेलालाई मध्यनजर गर्दै मेला लाग्ने स्थानमा विद्युत र खानेपानीको व्यवस्था र अस्थायी शौचालय निर्माण गर्ने जस्ता काम भइरहेको मेला व्यवस्थापन समितिका अध्यक्ष तथा माइजोगमाई गाउँपालिका वडा नं ४ का अध्यक्ष गणेश कुमार राईले जानकारी दिनुभयो । पुस २८ देखि माघ २ गतेसम्म लाग्ने मेलाको तयारी तीव्र रुपले काम अघि बढाइएको राईको भनाइ छ ।

परम्परागत रुपमा लाग्दै आएको माईबेनी मेला भर्न नेपालका मात्रै होइन, भारतको दार्जिलिङ, सिक्किम, मिरिक, सिलिगुडी, कालिम्पोङ र भुटानबाट समेत हजारौँ दर्शनार्थी आउने गर्दछन् । प्रत्येक माघे संक्रान्तिका दिन जिल्लाका अरू मुख्य शहर नै सुनसान हुन्छन् । माइबेनीमा मकर नुहाउँदा मनोकांक्षा पूरा हुने विश्वास छ । नजिकै रहेको शिवालयमा सद्बीज छर्दा धर्म कमाउने विश्वासमा हरेक वर्ष यहाँ दर्शनार्थीको घुइँचो लाग्छ । मकर संक्रान्तिको दिन स्नान गर्ने, तिलको लड्डु खाने, तरुल कन्दमूल खाने परम्परा कायमै छ । माइखोलामा परेवा उडाउने भाकल गर्नेहरूले पनि त्यसै दिन परेवा उडाउँछन् ।

हिन्दू धर्म अनुसार यस दिनको नदीस्नान उत्तम मानिन्छ । मकर संक्रान्तिमा सूर्योदय हुनुपूर्वको नदीस्नान अझ उत्तम मानिएको छ । यस दिनको नदीस्नानले कर्मसिद्धि हुने, आरोग्य ल्याउने र छालासम्बन्धी रोगको निवारण हुन्छ भन्ने जनविश्वासमा रहेको छ । मकरस्नानको सम्बन्ध शारीरिक शुद्धिका साथै चित्तशोधनसित पनि रहेको धार्मिक विश्वास छ ।

बालबालिकादेखि वृद्धवृद्धासम्म माइबेनी मेला भर्न आउँछन् । सिजन अनुसार सुन्तला र उखुको व्यापार सबैभन्दा बढी हुन्छ । तीन सयभन्दा बढी पसल राखिने मेला हरेक वर्ष स्थानीय संघ संस्थाहरूले आयोजना गर्दै आएका छन् । मेलामा राडी, पाखी, गलैंचा, लुगाफाटा, भाडावर्तन, शृंगारका साधन र तरुलको व्यापार बढी हुन्छ । त्यसबाहेक कृषिजन्य उत्पादन पनि प्रदर्शनी र बिक्रीका लागि ल्याइने गरिएको छ ।
ऐतिहासिक महत्व विसं. १९२० तिर तत्कालीन बडाहाकिम गजराजसिंह थापाको पालामा माइबेनी मेला लाग्न शुरु भएको स्थानीय अग्रज बताउँछन् । पहिले महिना दिनसम्म लाग्ने मेला दुई साता, एकसाता हुँदै अहिले तीन दिनमा झरेको छ ।

इतिहासकार युद्धप्रसाद वैद्यले संकलन गरेको तथ्यअनुसार बडाहाकिम थापाकी पत्नी बदनकुमारी (राणा प्रधानमन्त्री जंगबहादुरकी छोरी) धर्मकर्मप्रति आस्थावान भएकाले काठमाडौंमा माघे संक्रान्तिमा मकर नुहाउँथिन् । मकर नुहाउने चलन भएको समाजमा हुर्किएकी बदनकुमारीले इलाममा माघे संक्रान्तिका दिन मकर नुहाउन नपाउने भएर बडाहाकिमसँग विश्मात गरेपछि माइबेनीको त्रिवेणीमा नुहाउन सल्लाह दिए । त्यसपछि यहाँ मेला लाग्न शुरु गरेको इतिहास भेटिन्छ ।

वैद्यको ‘सात भाइको डायरी’ अनुसार बडाहाकिम थापाले यहाँ मेला लगाउने निश्चय गरेपछि जिल्लाभरिका थरी–मुखियाहरूमा आफ्नो सातुचामल लिइ मेला भर्न आउनू भन्ने पूर्जी काटियो । अनि गाउँघर टाढा–टाढाका मानिसहरू पनि आफ्नो गाउँघरको बाजागाजासमेत लिएर मेला भर्न आउन थालेका हुन् भन्ने भनाइ पाइन्छ ।

मेला भर्न ताप्लेजुङको ओलाङचुङगोलादेखिका मानिसहरू माइबेनी मेलामा आउन थाले त्यहाँका लामाहरू मेला लाग्नुभन्दा १५ दिन अगावै मेलास्थलमा आई पाल टाँगेर बस्न थाले । उनीहरू खच्चर, घोडामा राडी, पाखीलगायत राम्रा–राम्रा गलैँचाहरू लिएर व्यापार गर्न आउथे भने मेलाबाट फर्कंदा भोटेघोडाहरू बिक्री गरेर जान्थे । भारतको दार्जिलिङ, सिक्किम, आसाम र आसपासका मानिसहरू पनि माइबेनीमा मेला भर्न, व्यापार गर्न, मकर नुहाउन र माइखोलामा माई भगवतीको पूजाअर्चना गर्न आउँने गर्दछन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )