धुम्बाराही, पेरिसडाँडा र राष्ट्रिय सभागृहमा नेकपा नेताहरुको समूहगत छलफल

काठमाडौं । बुधवारबाट शुरु भएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठकमा आज समूहगत छलफल हुने भएको छ ।

बुधवारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफल समूहगत रुपमा हुने भएको हो । जसका लागि ९ वटा समूह बनाइएको छ ।

प्रत्येक समूहमा २९ जना केन्द्रीय सदस्य राखिएको छ । अंग्रेजी वर्णानुक्रमअनुसार केन्द्रीय सदस्यहरूको समूह बनाइएको छ । समूहगत छलफल तीन स्थानमा हुने नेकपाले जनाएको छ । जस अनुसार धुम्बाराही र पेरिसडाँडामा रहेका पार्टी कार्यालय र राष्ट्रिय सभा गृहमा हुने छ ।

समूहगत छलफलमा उठेका विषयलाई टोली नेताले केन्द्रीय समितिको बैठकमा पेस गर्ने कार्यक्रम रहेको छ ।

हिजोबाट शुरु भएको बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीले सम्बोधन गरेका थिए भने अर्का अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेका थिए ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको छ ।

राजनीतिक प्रतिवेदनमा नेकपाको एकता महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । २०७७ मंसिरभित्र सबै स्थानीय तह र प्रदेश तहका अधिवेशन सम्पन्न गर्न प्रस्ताव गरिएको छ । खबरहब

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )