कालोपत्रेले फेरिँदै गाउँको मुहार

कालोपत्रेले फेरिँदै गाउँको मुहार

बिर्तामोड । बाह्रदशी गाउँपालिका–१ भागुडुब्बा बजारदेखि पश्चिम बिरीङ खोलाको किनारसम्म सडक कालोपत्रे गरिएसँगै त्यस क्षेत्रका सर्वसाधारण हर्षित भएका छन् ।

सुगम जिल्लाका रुपमा चिनिएको झापाको पनि दुर्गम गाउँका रुपमा रहेको बाह्रदशी गाउँपालिकामा सडक कालोपत्रे हुन थालेसँगै स्थानीयवासी हर्षित भएका हुन् । आदिवासी समुदायको बाहुल्य रहेको बाह्रदशी– १ भागुडुब्बा विकासका दृष्टिकोणले पछि परेको ठाउँ हो । मुलुक संघीयतामा गएसंगै स्थानीय तहको निर्वाचनपछि बाह्रदशी गाउँपालिकामा अहिले विकास निर्माणका कामले गति लिएको छ । योसंगै स्थानीयवासी समेत हर्षित बनेका हुन् ।

सीमा क्षेत्र विकास कार्यक्रम अन्तर्गत ४१ लाख रुपैयाँको लागतमा बाह्रदशी गाउँपालिकाभित्र भागुडुब्बा बजार पश्चिम बिरीङ खोलाको किनारसम्मको सडक कालोपत्रे गरिएसँगै आवागमनमा सहज भएको स्थानीयको भनाइ छ । अहिले बाह्रदशी गाउँपालिकाले ३ नम्वर वडाको राजगढ बजार र आसपासको सडक एक करोड रुपैयाँ खर्च गर्दै कालोपत्रे गरेको छ । यो सँगै गाउँपालिकाभित्र रहेका अन्य सडकको समेत कालोपत्रेका लागि डीपीआर तयार गर्दै काम अघि बढाइएको छ । बाह्रदशी–१ भागुडुब्बाबाट विरीङ खोलासम्म सडकमा गरिएको कालोपत्रे बाह्रदशी गाउँपालिका भित्रकै पहिलो र नमूना सडक हो– वडा नम्वर १का वडा अध्यक्ष शम्भूसिंह राजवंशीले भने– यो सडक निर्माणसंगै यस क्षेत्रका स्थानीयलाई भागुडुब्बा र राजगढ बजार आउन तथा भारतीय वजार दिघलबैंकसम्म जान समेत सहज भएको छ ।

गाउँपालिकाले अहिले सडक कालोपत्रे, गाउँ–गाउँमा विद्युत् विस्तारसंगै विकासका पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेसँगै गाउँकै मुहार फेरिएको स्थानीय दिलीप राजवंशी बताउँछन् । उनी भन्छन्– ‘गाउँमा यतिराम्रो सडक बन्ला भन्ने लागेकै थिए । बर्षाैदेखि धुलाम्मे र हिलाम्मे सडकमा हिँड्न बाध्य थियौं, अहिले सडक कालोपत्रे भएसँगै दक्षिणी झापाका हामी सबैलाई सहज भएको छ ।’

सडक कालोपत्रे नहुँदा हिउँदमा धुलो र वर्षामा हिलै हिलो हुने समस्या हटेर गयो– स्थानीय पुष्पा यादवले भनिन्– ‘घर अगाडिको बाटो कालोपत्रे हुँदा छुट्टै आनन्द हुँदोरहेछ । छोरा छोरीलाई स्कूल पठाउन पनि समस्या थियो, अहिले नानीहरु आफैं स्कूल जान्छन् ।’ सडक कालोपत्रे गर्नु अघि वर्षादको समयमा सडकमा परेका खाल्डाखुल्डीका कारण पानी जम्ने गरेकाले गाउँमा कोही बिरामी हुँदा एम्बुलेन्स ल्याउने अबस्था थिएन, अहिले त्यो समस्या हटेर गयो– यादवले भनिन्– यहाँ बाटो मात्रै होइन वडाध्यक्षका रुपमा शम्भुसिंहलाई पाएपछि यो ठाउँको मुहारै फेरियो । गाउँ–गाउँका सडक कालोपत्रे गरेसंगै बाह्रदशी गाउँपालिका मात्र होइन झापाको पुरानो सदरमुकाम झापा गाउँपालिकाका स्थानीयवासी समेत खुशी देखिएका छन् ।

अहिले शहरका सडक भन्दा गाउँका सडक राम्रा भएपछि स्थानीयमा उत्साह छाएको झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । उनले भने – झापा गाउँपालिकाको पहिलो प्राथमिकता नै विकास निर्माण हो । त्यसमाथि पनि शिक्षासंगै सडक निर्माण, खानेपानी, विद्युत्, कृषिलाई गाउँपालिकाले विशेष प्राथमिकतामा राखेको छ । ‘अहिले हामी गाउँ–गाउँका सबै सडक कालोपत्रे गरिरहेका छौं । २० लाख रुपैयाँमाथिका सबै सडक योजना टेन्डर प्रक्रियाबाटै कालोपत्रे गरिरहेका छौं’– अध्यक्ष साहले भने ।

गाउँ जोड्ने साना सडक पनि कालोपत्रे गरेका कारण झापाको दक्षिणी क्षेत्रका सबै सडक चिटिक्क परेका छन् । सडक सञ्जालको पहुँच नपुगेको झापाका दुर्गम गाउँमा पनि अहिले सडक विस्तारसँगै कालोपत्रे गर्न शुरु गरेपछि स्थानीयवासी हर्षित देखिएका छन् । स्थानीय तहको निर्वाचन अघि झापाका मुख्य शहर बिर्तामोड, दमक, अर्जुनधारा, काँकरभिट्टा र भद्रपुर जोड्ने बाहेक अन्य सडक पक्की थिएनन् । जिल्लामा दुर्गम मानिने कचनकवल गाउँपालिका क्षेत्रमा अहिले कालोपत्रे दुई लेन सडक पुगेको छ ।

सडक कालोपत्रे भएकै कारण गाउँका वासिन्दा बजार पुगेर समयमै घर फर्किन्छन् । ठूलाठूला यात्रुबाहक बस गाउँमै आउन थालेका छन्– बाह्रदशी गाउँपालिका–३ राजगढकी वडा सदस्य लक्ष्मी निरौला अधिकारीले भनिन्– गाउँमा थुप्रै विकास गर्न बाँकी छ, हामी प्राथमिकताका आधारमा विकास निर्माणका काम गरिरहेका छौं । पहिलो प्राथमिकतामा सडकलाई राखेका छौं ।

कालोपत्रे सडक गाउँमै पुगेपछि स्थानीय उत्पादनले राम्रो बजार पाएको छ । गाउँमा उत्पादन गरिएका तरकारी लगायतका बाली शहरी क्षेत्रका वजारमा बिक्री गर्न लाने गरेको बाह्रदशीका कृषक लक्ष्मी नारायण साहले बताए । जसका कारण आम्दानी समेत बढेको उनको भनाइ छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )