वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

वामदेवलाई राष्ट्रियसभामा लैजाने नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाइने भएको छ ।नेकपाको बुधबार बसेको सचिवालय  बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको हो ।

२०७४ सालमा निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा पराजित हुनुभएका गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्यमा मनोनित गराउन लागेको हो । सचिवालयको निर्णयपछि नेकपाले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सदस्यमा मनोनित गर्न सरकार समक्ष सिफारिस गरेको छ ।

फागुन २० गते रिक्त हुने १९ मध्ये १८ जना माघ ९ मा निर्वाचन भइसकेका छन् । बाँकी एक जना राष्ट्रपतिले सरकारको निर्णयको आधारमा विज्ञहरुबाट मनोनित गर्नुहुनेछ । दुई वर्षअघि विज्ञको आधारमा मनोनित हुनुभएका अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल पनि फागुन २० मा सकिँदैछ । नेकपाले अर्थमन्त्री खतिवडाको ठाउँमा गौतमलाई मनोनित गर्ने तयारी गरेको हो ।  पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय भएको बताउनुभयो

गौतमलाई राष्ट्रियसभामा लैजान सिफारिस गरे तापनि उहाँ मन्त्री तथा प्रधानमन्त्री बन्ने बाटो भने रोकिएको छ । संविधानमा ‘प्रतिनिधिसभा सदस्यमा पराजित व्यक्ति प्रतिनिधिसभाको त्यो कार्यकाल मन्त्री बन्न नपाउने’ भन्ने प्रावधान छ । संविधानमा ‘प्रधानमन्त्री बन्न प्रतिनिधिसभा सदस्य भएको हुनुपर्ने’ भन्ने उल्लेख छ । उपाध्यक्ष गौतमले यसअघि राष्ट्रियसभामा आउन नेतृत्वले आग्रह गर्दा संविधानको त्यो प्रावधान संशोधनको शर्त राख्नु भएको थियो ।

संविधान संशोधन कार्यदल खारेज

गौतमको अडानकै कारण नेकपाले संविधान संशोधनको लागि पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता माधवकुमार नेपालसहितको ३ सदस्य कार्यदल समेत बनाएको थियो । पार्टीले कार्यदल बनाए पनि त्यसलाई गोप्य राख्ने प्रयास गरेको थियो । तर एउटा व्यक्तिकै लागि संविधान संशोधन गर्न नहुने भन्दै त्यसको आलोचना भएपछि नेकपाले कार्यदल खारेज गरेको छ । बुधबारको सचिवालय बैठकले कार्यदल खारेज गरेको हो । कार्यदल खारेजी सँगै संविधान संशोधन प्रक्रिया रोकिएको छ । संविधान संशोधन प्रक्रिया रोकिएपछि उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भए पनि मन्त्री तथा प्रधानमन्त्री बन्ने बाटो भने रोकिएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )