६ जना बिर्तामोडबाट लागू औषध सहित पक्राउ

६ जना बिर्तामोडबाट लागू औषध सहित पक्राउ

बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले विशेष सूचनाका आधारमा वुधवार अर्जुनधारा नगरपालिका – ११स्थित नयाँ बसपार्कमा रहेको मेची माउण्ट होटलबाट ३५ ग्राम ब्राउनसुगर सहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये एक जना शिक्षक रहेको खुलेको छ । प्रहरीले विद्यालयको नाम गोप्य राखेको छ ।

पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका – ४ का २४ वर्षीय सञ्जु चेम्जोङ्ग, सोही ठाउँका २० वर्षीय समिर लिम्बू, २५ वर्षीय विवेक तामाङ्ग, अर्जुनधारा ६ का १९ वर्षीय रोशन गुरुङ, इलामको देउमाई नगरपालिका – २ का २० वर्षीय सन्तोष तामाङ्ग र पाँचथरको फिदिम नगरपालिका १३ का १८ वर्षीय दिपेन लिम्बू रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

होटलमा वसेर लागू औषधको कारोवार भइरहेको सूचना पाएलगत्तै होटल पुगेको प्रहरीले उनीहरुको साथबाट नगद ५५ हजार रुपैयाँ सहित ६ थान मोवाइल समेत बरामद गरेको छ ।

श्रोतका अनुसार सामुदायिक विद्यालयमा कार्यरत शिक्षक प्रेमीकालाई भेटेपछि लागू औषध कारोवारीसंग लागू औषध खरिद गर्दै गरेको अवस्थामा प्रहरीले लागू औषध सहित पक्राउ गरेको हो ।

पक्राउ परेका ६ जनालाई नै इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान शुरु गरेको प्रहरी नायव उपरीक्षक रिजालले बताए । उनका अनुसार पक्राउ परेकाहरुलाई लागू औषध ऐन अन्तरगत १० वर्षसम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था रहेको छ ।

प्रहरीले लागू औषध नियन्त्रण विरुद्ध अभियान सञ्चालन गरिरहेपनि पछिल्लो समय लागू औषध नियन्त्रण चुनौतिपूर्ण बनेको प्रहरी नायव उपरीक्षक रिजालले बताए । उनका अनुसार १६ देखि ३० वर्ष उमेर समूहका युवा पुस्ता लागू औषधको दलदलमा फसेका छन् ।

प्रहरीले विद्यार्थीलाई लक्षित गरेर लागू औषध नियन्त्रण विरुद्ध कार्यक्रम सञ्चालन गरिरहेपनि शिक्षित समूह नै लागू औषध कारोवार तथा सेवनमा फस्ने गरेको पाइएको छ ।

अभिभावकको निगरानी नहुनु , साथी संगतका कारण युवा पुस्ता लागू औषधको लतमा फस्ने गरेको प्रहरी उपरीक्षक रिजालले बताए । बिर्तामोडमा इलाम, पाँचथर, ताप्लेजुङ्ग , मोरङ, तेह्रथुम सहित पूर्वी पहाडी जिल्लाबाट अध्ययन सहित अन्य विभिन्न पेशा व्यवसायमा सम्लग्न व्यक्ति बस्ने गरेको र उनीहरुलाई अभिभावकको प्रत्यक्ष निगरानी नहुँदा लागू औषधको लतमा फस्ने गरेको प्रहरीले जनाएको छ ।

साथी संगतका कारण लागू औषध कारोवारी तथा सेवन कर्ता बढेकाले अपराधका घटनामा समेत वृद्ध भएको पाइएको छ । यो संगै अपराधिक गतिविधि नियन्त्रण गर्न प्रहरीले पछिल्लो समय लागू औषध नियन्त्रणमा विशेष पहल गरिरहेको छ ।

खुल्ला सिमानाका कारण लागू औषध सहज रुपमा उपलब्ध हुने भएकाले यसका कारोवारी तथा प्रहयोकर्ताहरु बढेको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीका अनुसार गत जेठ महिनादेखि हालसम्म लागू औषध कारोावारीमा सम्लग्न ५६ जना पक्राउ परेका छन् । ब्राउनसुगर, गाँजा, विभिन्न ट्याब्लेट, लगायतका लागू औषधजन्य पदार्थ प्रहरीले बरामत गर्दै आएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )