मास्क, कोरोना र हामी औषधि व्यावसायी

मास्क, कोरोना र हामी औषधि व्यावसायी

सुरेश खतिवडा

ड्रपलेट संक्रमण र हावा मार्फत सिधा संक्रमण हुने कोरोना बिषाणु (भाइरस) भर्खरै खुला सिमाना रहेको छिमेकी मुलुकमा भारतमा समेत देखापरेको र बढ्दैै गइरहेको समाचार आएको छ । श्वासप्रश्वास प्रणालीलाई तुरुन्त क्षति गर्दै अन्य प्रणालीलाई समेत क्षीण बनाउने यो भाइरसको फैलावट दर उच्च रहेको छ । अत्याधुनिक र विभिन्न सुविधासम्पन्न धनी मुलुकले समेत थग्न नसकेको यस नयाँ चरित्र बोकेको यो भाइरसको असरबारे सबैको आ–आफ्नै अनुमान र भविश्यवाणीहरु प्रचारमा छन् ।

यसको रोकथामको मुख्य उपाय भनेको उचित रुपमा मास्क प्रयोग, हातको डिसइन्फेक्सन, सेनिटाइजर प्रयोग र संक्रमण देखिए आइसोलेसन भनेर विश्व स्वास्थ्य संगठनले भनी सकेको छ भने त्यो सँगै मास्क र सेनिटाइजर सामग्रीको बजारमा अभाव भएको छ । थाहा भए अनुसार भर्खरै नेपालमा वाणिज्य तथा आपूर्ति विभागले मास्कमा कालो बजारी भएको र औषधि पसल केन्द्रित अनुगमन शुरु गरिने भनेर आक्रमक रुपमा मिडियाहरुलाई प्रचारात्मक रुपमा आफ्नो काम अघि बढ्ने भनेर बताउँदै आएको हामीलाई थाहा भयो भने शिक्षा मन्त्रालय, गृह र सबै निकायले विश्वमा नै समाचार बनेको कोरोनाबारे जानी–नजानी आफू खटिरहेको देखाउन वक्तव्य र सूचना दिन चाहेका छन् । भाग्यले नै होला हालसम्म नेपालमा शंकास्पद र रिजल्ट नेगेटिभको तारन्तर समाचार आएको छ भने विश्वका धनी राष्ट्रहरु भने त्रसित नै छन् । हामी फर्मासिस्ट औषधिको कारोबार हाम्रो पेशा, हामी औषधि व्यावसायीहरु जनताका हामी सबैभन्दा पहलो परामर्शदाता या भनौ सानोभन्दा सानो स्वास्थ्य समस्यामा सही बाटो देखाई दिने पथप्रदर्शक भन्न पाउँदा समेत गर्व लाग्दछ । यस्तो संवेदनशील घडीमा लक्षित गरिएको हामी प्रतिको शंकामा मेरो भने बिमति छ ।

हामी मास्कमा हुने कालो बजारी, मास्क वितरणमा हुने असुरक्षा र हुन सक्ने रोग बारेको गलत हल्ला प्रति जति चिन्तित छौं कुनै एक अमुक समूह यसलाई अतिरञ्जित बनाउँदै मास्कलाई संकटकालको पेट्रोलयम पदार्थको व्यापार झैं बनाउन लागिरहेका छन् । जसमा खुद्रा औषधि व्यावसायीहरु अनविज्ञ छन् । हामीले अनौपचारिक रुपमा सर्कुलर नै जारी गरेर नियम अनुसारका बिलिङमा आएका र नियम अनुसार लिनुपर्ने मुनाफा लिएर र बढी मात्रामा सेवामूलक भावना राखेर मात्र माग भएका औषधि वितरण गर्नु, औषधि पसल र आफ्ना फर्म–क्लिनिकहरुबाट यो भाइरसबारे सचेतनामूलक पर्चा लिफलेटहरु वितरण गर्नु, ब्यानरहरु राख्नु र यो हतासको समयमा संयमित बनेर आफ्नो कर्तव्य ठान्नुु भनेर भनी सकेको अवस्था छ ।

सबै इमान्दार व्यावसायीहरु यसबारे सचेत हुनु हुन्छ पनि । वाणिज्यले भने सरहभन्दा ठीक उल्टो मास्क लुकाएर बढी मूल्य तोक्ने, धुलो, प्रदुषित र भिडभाड वातावरणको ख्याल नगरी खुल्लारुपमा चौबाटामा झुन्डाएर बेचिने संक्रमित मास्क प्रतिको चिन्ता बढी मात्रामा औषधि व्यावसायीलाई भएको जानकारी गराउन चाहन्छौं । औषधि पसलबाट ल्याएको, मेडिकेटेड, औषधि हालेको, धेरै मूल्यको, कोरोना भाइरस रोक्ने, डबल लेयर, ट्रिपल लेय, विदेशी भन्दै माफियाहरु प्रचारमा सक्रिय रहेको हँुदा लाल्छना हाम्रा व्यावसायीलाई लगाएर होइन । त्यस्ता बिचौलयाहरुलाई ठेगान लागाउन र नियन्त्रण गर्न लागि पर्नु पर्दछ । हामी हाम्रो व्यावसाय औषधि व्यवस्था विभाग हुँदै करमा दर्ता गर्दछौं भने हामी वास्तवमा सर्जिकल अन्तर्गत पर्ने मास्कको कारोबार गर्ने आधिकारिक व्यावसायीमा पर्दैैैनौं । तर, प्रत्यक्ष स्वास्थ्यसँग सरोकार भएको र थप परामर्श समेत पाइने आशमा आउने ग्राहकको सुबिधाका लागि राखिने मास्कप्रति हामी जति सवेदनशील छौं । व्यापार मात्र गर्न चाहनेलाई स्वास्थ्य होइन, मुनाफा प्रमुख रहेको हामिले देखेका छौं ।

भ्रमित र त्रसित पार्दै धुलाम्मे सडक पेटीमा झुण्डाएर बेचिने मास्क र र त्यसले फैलाउने सक्रमणको बिचार नै नगरी आफ्नो क्षेत्र नपरे पनि विश्वास गरी आउने ग्राहकलाई औषधि व्यावसायीले संक्रमित हुनबाट बचाउँदै बट्टाभित्र नै राखेर सुफत मूल्यमा बिक्री गरिने मास्क लक्षित वाणिज्यको अनुगमन त्रास झारो टार्ने र सरकारको भत्ता पचाउने बाटो नबनोस् ।
मास्कको कुरा सँगसँगै पूर्व सीमा जोडिएका पालिकाहरुले हेल्पडेस्क राखिएको भए पनि अब यिनै स्थानीय सरकारले जनताका पहिलो परामर्शदाताका रुपमा रहेका निजी औषधि व्यावसायीहरुलाई जति सक्दो चाँडो आवश्यक परेको खण्डमा सम्पर्क र समन्वयमा रहन अनि शंका लागेको बिरामीलाई सम्बन्धित नजिकको स्क्रिनिङ सेन्टरमा पठाइ दिन विशेष नेटवर्क बनाउनु पर्दछ । खुद्रा औषधि व्यावसायीहरुलाई कोरना भाइरस संक्रमण आकस्मिक व्यवस्थापनको तालिम या ओरियन्टेसनको व्यवस्था गरिनु पर्दछ । निजी क्लिनिक, निजी अस्पताल, स्वास्थ्य प्राविधिक उत्पादन गर्ने संस्थाहरु, धेरथोर स्वास्थ्य बिषय पढाई हुने बिद्यालयहरुलाई समेत कोरोना विशेष कार्यक्रमहरुका लागि तयार रहन र जनचेतना अभिबृद्धिका कामहरु गर्न निर्देश गरिनु पर्दछ । जसले कोरोनालाई त्रासको रुपमा लिएर हतोत्साहित बनाउने होइन, रोकथाममा टेवा पुगोस् ।

बिद्यालय तुरुन्त बन्द गराएर मात्र कोरोना संक्रमण रोकिने होइन यसका लागि बिद्यालयभन्दा पहिले भाइरस भित्रन सक्ने मुहान बन्द गर्न मुख्यरुपमा नाका बन्द गरिनु पर्दछ । हाम्रो समाज अरुभन्दा आफू एक कदम अगाडि रहेको देखाउन होडबाजी गर्दछ । अरुभन्दा फरक परामर्श र सल्लाहले आफू अगाडि हुन्छु भन्ने ठान्छ । नयाँ भाइरसको चरित्र नै थाहा नहँुदा पनि हाम्रो देशको झैं गर्मीमा देशमा कोरोना भाइरस बाँच्दैन, रक्सीले कोरोनालाई पराजित गर्न सकिन्छ, तातो पानी पिउँदा भाइरस मर्छ, बेसार खाने, लसुन भुटेर खाने, घिउ दल्ने इत्यादी हल्ला मान्छेपिच्छे फरक–फरक रहे पनि सबैभन्दा मुख्य भाइरस फैलावट रोक्ने उपाय भनेको सिधा सम्पर्कबाट बच्नु हो ।

थुकका छिटाहरु (ड्रपलेट्स) श्वास मार्गमा प्रवेश गर्न नदिनु, संक्रमित हावा फोक्सोमा पुग्न नदिनु नै हो भने संक्रमण देखिएमा त्यसलाई आईसोलेसनमा राख्नु स्वस्थ व्यक्तिहरुलाई संक्रमण हुनबाट बचाउने उचित उपाय हो । जसमा प्रत्येक ब्यक्तिको रोग प्रतिरोधात्क शक्तिले विशेष भूमिका खेल्दछ । यहाँ मुखमा लगाइने मास्कको विशेष महत्व हुन्छ । कमजोर, अशक्तलाई भाइरसको संक्रमण चाँडो हुनु स्वभाभिक हो भने औषधि समेत पत्ता लागि नसकेको अवस्थामा यो खाने यो नखाने भन्नुु अफवाह हो । यति चाहिँ हो कि कुनै पनि श्वास मार्ग संक्रमण या भाइरसको संक्रमणमा कमजोर भइने हुँदा पोषणयुक्त झोल पदार्थ जरुरी भने रहन्छ । यसको संक्रमण बढेमा कडा प्रकृतिको फोक्सोको संक्रमण (निमोनिया) र अन्य प्रणालीगत संक्रमण हुने गर्दछ ।

जे–जसरी कोरोनालाई शक्तिशाली राष्ट्रहरुले हराउन सकेका छैनन् त्यसबाट पाठ हामीले सिक्ने त छदैछ, सीमामा कडाई, पहिले सिटामोल र रुघामर्कीको दबाई बेच्ने औषधि व्यावसायीलाई वाणिज्यले भने सरह अनुगमनबाट त्रास होइन समन्वय र सहकार्य अनि निजीमा सम्पर्कमा आएका बिरामीको रेकर्डबाट धेरै हदसम्म सहयोग मिल्ने देखिन्छ । त्यस्तै हामी व्यावसायीहरु पनि आफ्नो पेशा, मर्यादामा रही जनतामा छाएको त्रास, भ्रम, मासको अहिलेको संवेदना र अपेक्षा बुझेर सबेदनशील बन्नु जरुरी देखिन्छ र हामी छांै पनि ।

(खतिवडा नेपाल औषधि व्यावसायी संघ झापाका सदस्य हुन् ।)

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )