कोरोना कहर:सुस्तायो झापाको व्यापार

कोरोना कहर:सुस्तायो झापाको व्यापार

झापा । विश्वमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको असर झापाको बजार, व्यापार तथा व्यवसाय समेत देखिन थालेको छ । कोरोनाको संक्रमण छिमेकी राष्ट्र भारतमा फैलिएसँगै सीमावर्ती जिल्ला झापाका बिभिन्न क्षेत्रमा प्रभाव परेको हो ।

विश्वव्यापीरुपमा फैलिदै गएको कोरोना भाईरसको जोखिममा नेपाल समेत परेपछि सिमावर्ती जिल्ला झापाको व्यापार तथा व्यवसाय सुस्ताउँदै गएको छ । झापाका मुख्य बजारहरुमा चहलपहल कम हुन थालेको छ । आन्तरिक तथा बाह्य पर्यटकको संख्या ह्वातै घटेको छ । बजारमा उपभोक्ता घट्दा सबै क्षेत्रमा आर्थिक कारोबार सुस्ताउदै गएको व्यापारीहरु बताउँछन् । ‘कोरोनाको हल्लाले मान्छे आउन छाडे’ बिर्तामोडका कपडा व्यापारी हेमन्त अग्रवालले भने, ‘तीनदिन जति भयो व्यापार ठप्पै छ ।’

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईका अनुसार कोरोना चेकजाँचको कडाईले नाकामा पनि सामान ल्याउन समस्या छ । ‘त्रासले मानिसहरु गाउँघरबाट किनेमेल गर्न पनि आउनै छाडेका छन् ।’ उनले भने, ‘समग्रमा बिर्तामोडको व्यापार, व्यवसाय ५० प्रतिशतले खच्केको छ ।’

बजारमा मानिसहरुको चहलपहल घटेपछि त्यसको प्रभाव होटल व्यवसायमा समेत परेको छ । करोडौँ लगानी गरेर खुलेका जिल्लाका होटल तथा लजहरु पनि अहिले सुनसान जस्तै छन् । सरकारले कारोनाको संक्रमणबाट बच्न होसियारी अपनाउदै सभा, सम्मेलन तथा छलफल र गोष्ठीहरु नगर्न भनेपछि यसको असर होटल व्यवसायमा परेको हो । कोरोना त्रास फैलिएपछि होटलहरु मानिस आउन छाडेको र कर्मचारीलाई समेत बिदा दिन थालिएको व्यवसायीको भनाई छ । ‘होटल नचलेर धेरैजसोले कर्मचारी कटौती गर्न थालेका छन्’ होटल व्यवसायी संघ झापाका अध्यक्ष भोला उपे्रतीले भने, ‘होटलको किस्ता र ब्याज नै तिर्न पनि कठिनाई हुने देखिएको छ ।’

कोरोना संक्रमण भारतमा समेत फैलिएपछि नाकाको कडाईले सिमावर्ती झापामा कतिपय अत्यावश्यक सामाग्रीको कालोबजारी तथा अभाव भइरहेको छ । खासगरी खाना पकाउने एलपी ग्यास सहज रुपमा उपलब्ध छैन । स्थानीय प्रशासनले प्रभावकारी अनुगमन नगर्दा कालोबजारी र अभाव बढेको स्थानीयले बताएका छन् । त्यस्तो कृत्रिम अभाव रोक्न प्रशासनले अनुगमन सुरु गरिसकेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

कोरोनाका त्रासका कारण झापाका सीमा नाकाहरु काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज र भद्रपुर विमानस्थलमा ‘कारोना भाइरस परामर्श तथा प्राथमिक परीक्षण कक्ष’ स्थापना गरेर भारतलगायत तेस्रो मुलुकबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरिदैछ । ती नाकाहरुमा समेत ओहोरदोहोर गर्नेको संख्यामा उल्लेखीय कमी आएको बताइएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )