रोकिएन सीमा अतिक्रमण, नेपाल किन माैन ?

रोकिएन सीमा अतिक्रमण, नेपाल किन माैन ?

एल.बी विश्वकर्मा
काठमाडौं । सीमा अर्थात सार्वभौम राष्ट्रको सबैभन्दा महत्वपूर्ण अंग भू–भागको घेरा हो । सीमामा दुई देशबीच भौतिक तरिकाले स्तम्भ निर्माण गरिएको हुुन्छ । नेपाल–भारतबीचमा पनि यस्तै सीमा स्तम्भ छन् । सीमारेखा जमिनको सतहबाट सिधै तल पृथ्वीको केन्द्र विन्दुसम्म र जमिनबाट माथि सिधै आकाशमा अनन्तसम्म पुगेको मानिन्छ । पृथ्वीनारायण शाहले विक्रम संम्वत १८२६ मंसिर १ गते एकीकरण गरेपछि नेपाल–भारत बीचको सीमा विवाद शुुरु भएको मानिन्छ । सन् १८१६ मार्च ४ मा दुई देशबीच सुगौली सन्धिमा नेपालले थुप्रै भूमि गुमाइसकेको छ ।

सुगौली सन्धिपछि नै मेची नदीदेखि टिष्टासम्म, महाकाली नदीदेखि सतलज र तराई क्षेत्रसमेत गुमाएको थियो । सन् १८१६ डिसेम्बर ११ मा नेपालले पूर्वी तराईको राप्ती–कोशी क्षेत्र फिर्ता पायो भने १८६० नेभेम्बर १५ मा पश्चिम तराइको बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता पाएको थियो । अहिले फेरि नेपालका २६ जिल्लामध्ये २३ जिल्लाका ७१ स्थानको सीमा अतिक्रमणमा परेको छ र ६० हजार ६६२ हेक्टर नेपाली भूमि अतिक्रमणमा परेको सीमाविदले बताउने गरेका छन् । भारतको बलमिचाइका कारण यो समस्या चर्किंदै गएको छ ।

भारतले अहिले पनि नेपालको ६ सय ६ वर्गकिलोमिटर क्षेत्रफल मिचिसकेको छ । सीमावर्ती विभिन्न २३ जिल्लाका सीमावर्ती क्षेत्रमा बस्ने नेपाली नागरिक र भारतीयबीच द्वन्द्व चलिरहेको छ । भारतले बलमिच्याइँ गरेर बाँकी सीमाना पनि आफ्नो पक्षमा पार्न खोजिरहेको छ । तराइको सीमा क्षेत्रमा नेपालीहरु त्रासै त्रासमा बाँचिरहेका छन् । यो समस्या कञ्चनपुरको पुनर्वासमा पनि छ । सीमा बचाउन खोज्दा गोविन्द गौतमले ज्यान गुमाइसकेका छन् । सरकारले विभिन्न समयमा समस्या समाधानका प्रयासहरु गरेपनि समस्या सुल्झन सकेको छैन् । तर, अझ बढी उल्झन थालको पो भान भइरहेको छ ।

पुनर्वास सीमा समस्या जटिल छ । समस्या समाधान गर्न सरकारले पठाएको सीमा सर्वेक्षण टोली विवाद सुल्झाउन नसकेरै फर्किएका छन् । त्यसक्षेत्रमा २०२४ सालदेखि जग्गा भोगचलन गर्दैआएका र नजिकैको नदिलाई सीमा मान्दै आएका स्थानीय रातारात पिलर सारिने समस्याले चिन्तित छन् । भारतले २०३२ मा निर्मित २८ नम्बर पिल्लर र त्यसपछि ३०, ३१ र ३२ नम्बर पिलरमाथि नदी मिसिएपछि भारतले फाइदा उठाउन खोजिरहेको छ ।

एसएसबीले निहत्थामाथि गोली हान्छ,, नेपालका सुरक्षाकर्मी कहिले खटिने ?
प्याराताललाई आफ्नो पक्षमा पार्ने सुरले कञ्चनपुर जिल्लाको सीमास्तम्भ भारतले सार्न खोजेको स्थानीयको आशंका छ । २०६१, ०६२ सालमा आएको नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले प्याराताल भारततिर पार्ने गरी सीमा स्तम्भ गाडेपछि विवाद सुरु भएको हो । सीमानाको अधिकांश भाग दुधवा नेसनल पार्कसंग जोडिएकाले कैलालीको झण्डै एक सय किलोमिटर र कञ्चनपुरको ७० किलोमिटर भन्दा बढी सीमाक्षेत्र भारतको दुधवा नेसनल पार्कसंग जोडिएको छ । प्याराताल भन्दा पनि ४ सय मिटर पर भारततिर मात्रै सीमा स्तम्भ थियो । अहिले त्यो सारिदै आएको छ ।

६ किलोमिटरको दुरीसम्मका पिल्लरहरु त रातारात गायब गरिएका थिए । २०६१, ६२ को संयुक्त सर्भे टोली आउनुपुर्व नै भारतले ती पुराना पिलर नेपालतर्फ सारेको बताइन्छ । २०६२ अघिसम्म प्यारातालको माछा जिल्ला विकास समिति कञ्चनपुरले ठेक्का लगाउँदै आएको थियो । २०६३ सालको फागुन २६ गते सीमाकै विवादले पुर्नवास नगरपालिकाको आनन्द बजारमा स्थानीय युवक, गोविन्द गौतमको भारतीय सुरक्षकर्मीले चलाएको गोली लागी मृत्यु भएको थियो । गोविन्द गौतमको मृत्युपछि, सरकारले गठन गरेको विशेष नापी टोली र त्यसपछि दुई वर्षसम्म दुईवटा फरक र फरक संयुक्त सीमा सर्भे टोलीले कैलाली र कञ्चनपुरमा काम गरिसकेको छ । समस्या समाधान भएको छैन् ।

आर्थिक वर्ष २०७३, ०७४ मा नेपालका तर्फबाट प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वको टोली र २०७४, ०७५ मा प्रमुख नापी अधिकृत जनकराज भट्ट नेतृत्वको टोली कञ्चनपुरको पुर्नवास क्षेत्रको सीमा समस्या जटिल भएको भन्दै फर्किएका थिए । यता, सर्भे टोली फर्किन्छ । तर, उता भारतीय सुरक्षा बल एसएसबीकको ज्यादती सुरु हुन्छ । हालसम्म एसएसबीले ३ जना नेपालीको ज्यानै लिइसकेको छ । एसएसबीले सन् २००१ बाट नेपाली जनमानसमा त्रास फैलाउन थालेको हो । एसएसबीबाट बर्दिया, मोरङ, सप्तरी, कञ्चनपुर र नवलपरासीका बासिन्दा सबैभन्दा बढी प्रभावित छन् । यस्तो अवस्थामा जनताले नेपाली सुरक्षा टोलले आफुलाई सुरक्षा दिएको हेर्न चाहेका छन् । निहत्था जनता कसरी सामना गरुन् हतियारधारी बलको? सरकारले जनताको यो अपेक्षा छिटै पूरा गर्नु आवश्यक छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )