‘केन्द्र सरकारले वेलैमा ध्यान नदिँदा समस्या निम्तियो’

‘केन्द्र सरकारले वेलैमा ध्यान नदिँदा समस्या निम्तियो’
चिरञ्जीवी घिमिरे

झापा, जेठ १० । झापाको कचनकवलमा पछिल्लो चार दिनको अवधिमा ३३ जना कोरोना संक्रमित भेटिएका छन् । रोजगारीबाट भारतको मुम्बाईदेखि फर्किएका ३३ जनामा संक्रमण पुष्टिएको भएको हो ।

सोमबार एक, मंगलबार ९, बुधबार मध्यरात १५ र बिहीबार ८ जना गरी ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले जानकारी दिए । उनीहरू सबै खुला सीमाबाट लुकेर नेपाल प्रवेश गरेका थिए । भारतमा लकडाउन खुकुलो भएपछि जेठ लागेयता नै उनीहरू स्वदेश फर्किएका थिए ।

कतिपयलाई भारतीय प्रहरीले नै सीमासम्म ल्याइदिएको कचनकवल गाउँपालिका अध्यक्ष अन्जार आलम बताउँछन् । तर, सीमामा आएर नेपाल प्रवेश गरेका उनीहरू समुदायसम्म आइपुग्न नपाएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख उपरीक्षक (एसपी) कृष्ण कोइरालाले बताए । ‘सीमामा आइपुगेका उनीहरूलाई हामीले सीधै क्वारेन्टाइनमा ल्यायौं’, उनले भने, ‘त्यसकारण समुदायमा फैलन्छ कि भन्ने त्रास कमै छ । जति संक्रमित छन्, उनीहरू सबै भारतबाट आएका हुन् ।’

सीमावर्ती कचनकव गाउँपालिकामा मात्र लुकिछिपी भारतबाट भागेर आएका २१० जना क्वारेन्टाइनमा छन् । संक्रमित ३३ जना नै पथरिया मावि र लक्ष्मी देवकोटा माविको क्वारेन्टाइनमा थिए । कचनकव कोरोना संक्रमणको ‘हट स्पोर्ट’ बन्ने खतरा भएको प्रदेश–१ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । ‘हाम्रो विज्ञको टोलीले अनुसन्धान गरिरहेको छ । उदयपुरको भुल्केको भन्दा यहाँ अझै धेरै संक्रमित देखिन्छन् कि भन्ने खतरा पनि छ’, उनले भने, ‘कचनकव अर्को हट स्पोर्ट बन्नसक्छ ।’

कचनकवलमा पछिल्लो चार दिनमा भेटिएका सँगै झापामा संक्रमितको संख्या ३५ पुगेको छ । यसअघि दमक र बाह्रदशीका दुई जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

‘केन्द्र सरकारले व्यवस्थापन नगर्दा संक्रमित धेरै भए’

भारतमा रहेका नेपालीलाई ल्याउनेबारे केन्द्र सरकारले वेलैमा ध्यान नदिँदा समस्या निम्तिएको गाउँपालिका अध्यक्ष आलम बताउँछन् । सरकारले भारतमा रहेका नेपाली नल्याउँदा उनीहरू बाध्य भएर लुकिछिपी देश फर्कन बाध्य भएको उनको भनाइ छ ।

‘भारतबाट सरकारले नागरिक कसरी फिर्ता ल्याउने हो वेलैमका सोचेन जसका कारण समस्या निम्तियो’, उनले भने,‘अवस्था भयावह हुने अवस्थामा छ ।’ अध्यक्ष आलमले व्यवस्थित क्वारेन्टाइन नहुँदा समस्या भएको बताए । ‘हामीसँग चार ठाउँमा क्वारेन्टाइन छ । भएका सबै भरिए । ती पनि व्यवस्थित छैनन्’, उनले भने, ‘एउटै कोठामा आठ जनासम्म राखेका छौँ । यसले गर्दा त्यही कोठामा बस्ने अरूलाई सर्छ कि भन्ने डर छ । केन्द्र सरकारले सहयोग गरे अलिक व्यवस्थापन गर्न सकिने थियो ।’

भारतबाट आएर क्वारेन्टाइनमा बसेका सबैको पिसिआर परीक्षण पनि गर्न नसकिएको गाउँपालिका उपाध्यक्ष निमसरी राजवंशीले बताइन् । ‘२१० जना क्वारेन्टाइनमा छन् । ९८ जनाको स्वाब लिएर पठाएको छ । कसरी पर्याप्त भयो र!’, उनले भनिन्, ‘वेलैमा परीक्षण गर्न नसक्दा झन् खतरा बढेर गयो ।’ कोरोना संक्रमितलाई अस्पतालसम्म पु¥याउने एम्बुलेन्ससम्म केन्द्र सरकारले पर्याप्त नदिएको उनको दुखेसो छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Disqus (0 )