जितको खोजीमा पराजित उम्मेदवार

झापा ।  विक्रम संवत २०७० मा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका कांग्रेसका उम्मेदवार उद्धव थापा र एमाले की उम्मेदवार पवित्रा निरौला खरेल यतिबेला प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् ।

संविधानसभा निर्वाचनमा थापा झापा क्षेत्र नम्बर ४ बाट तथा खरेल क्षेत्र नम्बर २ बाट चुनाव लडेका थिए । मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि अहिले दुवैजना क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् ।

कांग्रेस झापाका सभापतिसमेत रहेका थापा झापा क्षेत्र नम्बर ४ मा एमालेका प्रेम गिरीसँग दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएका थिए भने खरेल झापा क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार सुधीर शिवाकोटीसँग पराजित भएकी थिइन् ।

निर्वाचन क्षेत्र समायोजनपछि थापा र खरेल अहिले एउटै निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छन् । यसअघि पराजित उम्मेदवार भएकाले यस पटक दुवैजना जित्ने राणनीतिका साथ चुनावी मैदानमा छन् । निर्वाचनको मिति नजिकिएसँगै दुवै उम्मेदवार मत माग्न व्यस्त छन् । दुवैले जितको दाबी गरिरहेका छन् ।

कांग्रेस उम्मेदवार थापाले कृषिको आधुनिकीकरण, पर्यटन क्षेत्रको विकास, १५ हजार मेगावाट विद्युत् उत्पादन, स्मार्ट सिटी बनाउनेलगायत एजेण्डा अघि सारेका छन् । वाम गठबन्धनका तर्फबाट उम्मेदवार खरेलले दिगो शान्ति, समृद्धि, संविधान कार्यान्वयन, स्थायी सरकारसँगै रोजगारीको विषयलाई मुख्य एजेण्डा बनाएर चुनावी मैदानमा छिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )