भ्रष्टाचार, दलाली र अबैध धन्दाको बिरुद्धमा खुलेर लाग्ने पत्रकारहरु माथिको आक्रमण बन्द गर-तीर्थ सिग्देल

झापा । रिपोर्टिङको लागि मालपोत कार्यालय दमक पुगेका माउन्टेन टिभी झापाका सम्वाददाता खगेन्द्र घिमिरे माथी हातपात भएको छ ।
मालपोत कार्यालयमा दमकमा मंगलवार ४ बजे घुस लेनदेनको भिडियो खिचेको भन्दै पत्रकार घिमिरे माथि कार्यालय परिसरभित्रै कर्मचारी र बिचौलिया मिलेर आक्रमण गरेका हुन् ।
कार्यालयभित्रै पत्रकार घिमिरेमाथि कर्मचारी इन्द्र राजवंशीसहित लेखापढी व्यवसायीको नाम बेचेर बिचौलिया गर्ने समुहले आक्रमण गरेका स्थानियले बताए । आक्रमणमा उनलाई सामान्य चोट लागेको बताइएको छ। पत्रकार घिमिरेका अनुसार मालपोत कार्यालयमा कर्मचारी राजवंशीलाई सेवाग्राही सुरेश साहले १० हजार घुस दिँदै गरेको भिडियो खिचेको बताए।
शिवसताक्षी नगरपालिका साबिक शिवगञ्ज गाविस– १ को जग्गा रोक्का गर्ने विषयमा सेवाग्राही साहले कर्मचारी राजवंशीलाई कार्यालयभित्रै घुस दिएको उनले बताए।
घुस दिँदै गरेको भिडियो खिचेको भन्दै मसहित क्यामेरा पर्सन भास्कर श्रेष्ठले बोकेको क्यामेरा खोस्दै आक्रमण गरे, पत्रकार घिमिरेले भने, कर्मचारीले घुस लिएपछि त्यस विषयमा कार्यालय प्रमुख तारा ढुंगेलसँग बुझ्न जाँदा उनकै अगाडि कर्मचारीका नाइके राजवंशीको उक्साहटमा लेखापढीहरूले आक्रमण गर्दै अनुहारमा दुई मुक्का प्रहार गर्नुका साथै लछारपछार गरे।
प्रेस संगठन नेपालका केन्द्रीय सदस्य तीर्थ सिग्देलले फेसबुकमा स्टाटस लेख्दै दोषीलाई कडा कर्वाहीको माग गरेका छन् । सिग्देलले भ्रष्टाचार, दलाली र अबैध धन्दाको बिरुद्धमा खुलेर लाग्ने पत्रकारहरु माथिको आक्रमण बन्द गर्न आग्रह समेत गरेका छन् । हेर्नुहोस् स्टाटुस्…