देवी पञ्चकन्यामा पूर्वकै ठूलो शिव प्रतिमा

देवी पञ्चकन्यामा पूर्वकै ठूलो शिव प्रतिमा

बिर्तामोड । झापाको बिर्तामोड-१ देवी पञ्चकन्यामा पूर्वी नेपालकै सबैभन्दा ठूलो आकर्षक शिव प्रतिमा स्थापना गरिएको छ । समुदायको आफ्नै लगानी र व्यवस्थापनमा शिव प्रतिमा स्थापना गरिएको हो ।

जमिनबाट नाै फुट अग्लो आधारस्थल बनाएर त्यसमाथि २७ फिट अग्लो शिव प्रतिमा राखिएको निर्माण समितिका संयोजक दीपक दाहाल जानकारी दिए । समुदायले आफ्नै लगानी जुटाएर बनाएको प्रतिमा स्थापना गर्न करिब ३८ लाख रुपैयाँ खर्च भएको छ ।

देवी पञ्चकन्यामा स्थापना गरिएको प्रतिमा कैलाशेश्वर महादेवको हाे । शिव प्रतिमा स्थापनाबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संयोजक दाहालले भने, ‘कला र सौन्दर्यका हिसाबले यो शिवमूर्ति प्रदेश १ कै उत्कृष्ट र भव्य हो ।’

निर्माण समितिका सचिव युवराज दहालका अनुसार प्रतिमाको भित्री भाग फलामे फ्रेमबाट बनेको छ भने आवरणमा फाइबरकाे प्रयोग गरिएको छ । फागुन २७ गते महाशिवरात्री पर्वको अवसर पारेर प्रतिमा अनावरण गर्ने कार्यक्रम भएको उनले जानकारी दिए ।

निर्माण समितिले जगतगुरु हेमानन्द गिरीमार्फत प्रतिमा अनावरण गर्ने तयारी गरेको छ । समुदाय तहमा प्रतिमा स्थापनाको चर्चा चलेको दुई महिनाभित्र निर्माण समितिले आर्थिक स्रोत जुटाएर आफ्नो कार्यभार पूरा गरेको हो ।

प्रतिमासँगै निर्माण समितिले पूर्व पश्चिम राजमार्गसँग जोडेर प्रवेशद्वार पनि निर्माण गरेको छ । प्रवेशद्वार बनाइएको सडकलाई नमुना मार्गका रुपमा विकास गरिने समितिका सदस्य निर्जला प्रसाईले बताइन् ।

प्रवेशद्वार बनाइएको करिव ४ सय मिटर बाटो पदमार्गका रुपमा प्रयोग हुनेछ । बरबगैंचासहितकाे पदमार्ग निर्माण हुने  जन प्रतिनिधि समेत रहेका स्थानीय टीका सङग्राैलाले जानकारी दिए । ‘समुदायको अग्रसरतामा याे ठाउँलाई नमुना बनाउन खाेजिएकाे छ’, उनले भने ।

फेरिन सक्छ समुदायको नाम
वितामोड १ मा पञ्चकन्या र देवीपञ्चकन्या गरी दुईवटा वस्ती विकास भएका छन् । तर नाम मिल्दोजुल्दो हुँदा सबै अलमलमा पर्छन्। अब भने सबैको अलमल समाप्त हुने भएको छ ।

देवी पञ्चकन्यामा विशाल शिव मूर्ति राखिएपछि यसको समग्र परिचय फेरिने स्थानीयको विश्वास छ । शिव मूर्ति राखिएको ठाउँ भनेपछि सबैले सजिलै चिन्न सक्ने समिति सदस्य निर्जला प्रसाईले बताइन् ।

शिव मूर्ति राखिएकाले अब देवी पञ्चकन्याको नाम शिव चोक वा कैलाशेश्वर महादेव रहेकाले कैलाश चोक रहन सक्छ । तर यसले आफैं परिचय स्थापित गर्ने समुदायको विश्वास छ ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )