नगर अस्पतालको फार्मेसी टेण्डर प्रकृयासम्मत रहेको ठहर

नगर अस्पतालको फार्मेसी टेण्डर प्रकृयासम्मत रहेको ठहर

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर अस्पतालकोे फार्मेसी सञ्चालनका लागि गरिएको टेण्डर बैधानिक प्रकृया पुरा गरी आव्हान गरिएको पाइएको छ ।

सोका लागि नगरपालिकाले २०७८ साल बैशाख २३ गते सार्वजनिक सूचना जारी गरेको थियो । जसका लागि वार्षिक न्युनतम बाह्र लाख रुपैयाको शिलबन्दी दरभाउ पत्र पेश गर्न आव्हान गर्न सार्वजनिक सूचना गरिएको पाइएको छ । केही दिन अगाडि केही संचार माध्यममा यसबारे भ्रमपूर्ण समाचार प्रकाशन गरिएको तथ्य फेला परेको छ ।

नगरपालिकाको वेब साइट र सौर्य राष्ट्रिय दैनिकमा प्रकाशित सार्वजनिक सूचनाका आधारमा बिभिन्न ५ वटा फर्मले दरभाउ पत्र पेश गरेको पाइएको छ । जसका लागि जनकल्याण फार्मेसी बिर्तामोड ५, अमन फार्मेसी बिर्तामोड ७, कन्काई माई ड्रग हाउस बिर्तामोड ५, पुष्पलता मेडिकल हल बिर्तामोड ४ र कालिमा ड्रग डिष्ट्रिव्युटर्स अर्जुनधारा ११ ले शिलबन्दी दरभाउपत्र पेश गरेको पाइएको छ ।

जसमध्ये कालिमा ड्रग डिष्ट्रव्युटर्स अर्जुनधारा ११ ले सबैभन्दा बढी ३६ लाख ६० हजार (भ्याट बाहेक) शिलबन्दी दर भाउ पत्र पेश गरेको नगरपालिकाको सूचना प्रविधि अधिकृत जयराम चौलागाईले जानकारी दिए । उनका अनुसार जनकल्याण फार्मेसीले १२ लाख ११ हजार, अमन फार्मेसीले १२ लाख, कन्काई माई ड्रग हाउसले १६ लाख ४९ हजार ७९९ रुपैयाँ ९७ पैसा र पुष्पलता मेडिकल हलले ३६ लाख रुपैयाँको शिलबन्दी दरभाउ पत्र पेश गरेका थिए ।

नगरपालिकाका उपसचिव तिलचन भण्डारीको संयोजकत्वमा बोलपत्र मूल्यांकन समिति गठन गरेको छ । सो बोलपत्रको सार्वजनिक सूचनाका आधारमा आवश्यक प्रक्रिया पुरा गरेर सम्झौता हुने नगरपालिकाले जनाएको छ ।

यता बिर्तामोड नगरपालिकाले नगर अस्पतालमा स्वास्थ्य बिमा सेवा सञ्चालनका लागि स्वास्थ्य विमा वोर्डका निर्देशक दामोदर बसौला र नगरप्रमुख धु्रबकुमार शिवाकोटी विच २०७७ फागुन २७ गते सम्झौता गरिसकेको छ । जसका आधारमा गत जेठ १ गतेदेखि सो सेवा सुचारु गर्नुपर्नेमा कोरोना संक्रमणका कारण आन्तरिक व्यवस्थापनमा ढिलो भएको नगरपालिकाका शाखा अधिकृत देवराज कार्कीले बताए ।

उनले बिमाको सेवा चाँडै सुचारु गर्ने जानकारी दिए । उनले गत जेठ १ गतेबाट बिर्तामोड नगर अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू हुने कानूनतः सही हो । तर, कोरोना संंक्रमणका कारण आन्तरिक ब्यवस्थापनमा ढिलाई भएको भएपनि तत्कालै सेवा सुचारु हुने जानकारी दिए ।

उता बिर्तामोड नगरपालिकाका प्रबक्ता अग्निप्रसाद पाण्डेले नगर भित्रका स्वाथ्य बिमाको कार्यक्रम हाल कोभिडका कारणले औषधि बितरण हुन नसकेको जनाउदै नियमित हुन नसकेको कुरालाई सञ्चार माध्यमले समाचार प्रसारण गर्दा सत्य तथ्य बुझेर प्रसारण गरिदिनु हुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )