४८ घन्टे मौन अवधि सुरु

झापा ।  आगामी २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार ४८ घन्टाअघिबाट मौन अवधि सुरु हुन्छ । यसबीचमा राजनीतिक दल, उम्मेदवार र सरोकारावालाले मत माग्न वा प्रचार–प्रसार गर्न पाउँदैनन् ।

प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले दल र तिनका नेता–कार्यकर्तालाई मतदाता किनबेच वा अन्य माध्यमबाट प्रभावित नबनाउन आग्रह गरेका छन् । ‘मूल्य नै नभएको मतलाई बिक्रीको साधन नबनाउन मतदातालाई आग्रह छ,’ उनले भने, ‘मौन अवधिमा कसैले मत प्रभावित गर्न खोजेको सूचना र तथ्य आयोगमा आए तत्काल कारबाही गरिनेछ ।’

अहिलेसम्म कति उजुरी आयोगमा ?
निर्वाचन आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचन अवधिमा एक सय दुईवटा उजुरी परेका थिए । तीमध्ये सबै उजुरीमाथि कारबाही भएको आयोगका प्रवक्ता नवराज ढकालले बताए । उनका अनुसार आयोगमा विदेश भ्रमण, कर्मचारी सरुवालगायतका लागि आवश्यक सहमति माग गर्दै दुई हजार ४७ निवेदन परेका थिए । निर्वाचन अवधिमा उम्मेदवारले गाडी दुरुपयोग गरेको, सरकारी नियुक्ति गरेको, नगर र गाउँसभा भएको, सहमतिविना विदेश भ्रमण गएको, शिलान्यास, उद्घाटन गरेकोलगायतका उजुरी आयोगमा दर्ता भएको प्रवक्ता ढकालले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )