जयसिंह धामीलाई न्यायदिन माग गर्दै प्रधानमन्त्री देउवालाई ९५०७ हस्ताक्षर

झापा ,मौलिक जरोकिलो पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले जयसिंह धामीको न्यायको लागि सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा संकलन गरिएका ९ हजार ५ सय ७ हस्ताक्षर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मौलिक जरोकिलो पार्टीका उपाध्यक्ष प्रभाव सुवेदी र महासचिव लिला बानियाँ सहितको भेटमा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र सहित हस्ताक्षर बुझाइएको हो ।
छानविन समितिको म्याद पटक पटक थपिनुले घटनाको सत्य तथ्य खोज्ने भन्दा पनि घटनालाई अन्तै मोड्न फेस सेभिङ्गको उपाय खोजिरहेको आशंका छाएको भन्दै यथाशीघ्र सत्य तथ्य छानविन गरेर दोषीलाई कारवाही गर्न र एसएसबिको निरन्तरको ज्यादती विरुद्ध कडा प्रतिवाद गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।
त्यस्तै जयसिंह धामीमा आश्रित परिवारको निम्ति आवश्यक राहत तथा रोजगारीको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै शिलान्यास भएको ३ बर्षसम्म झोलुङ्गेपुल निर्माण नगरी अलपत्र छाड्ने ठेकेदारलाई कारबाही गर्नुका साथै यथाशीघ्र झोलुङ्गे पुलको निर्माण गर्न सरकारसंग माग गरिएको छ ।
दुहुँ र व्यास गाउँपालिका लगायतको स्थानहरूमा जान नेपालबाट बाटो छैन र भारतको बाटो प्रयोग गर्दा सबै तुइन काटिएको अवस्था छ भन्दै बाटोको अभावमा अत्यावश्यक वस्तुको अभाव भोग्नुपरेको अवस्था भएको हुँदा खलंगा ( तिंकर सडकखण्डलाई छुट्टै राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरी शीघ्र निर्माण माग गरिएको छ ।
कोरोना संक्रमणको कारण विदेशमा रोजगारी गुमाएका युवाहरूलाई स्वदेशमै उद्यमीको रुपमा स्थापित गर्न सुदूरपश्चिम प्रदेशमा स्टार्ट अप हेल्प डेस्क स्थापना गरेर आधारभुत तालिम र सहुलियपूर्ण कर्जा सहज व्यवस्थापन गर्न सरकारसंग माग गरिएको पार्टीका प्रवक्ता मित्रलाल शर्माले जनाएका छन् ।