तीज

तीज

विष्णु निरौला आचार्य
बिर्तामोडबाट लक्ष्मीपुर जान अटो चढें।चारपाने आइपुुगेको थिएँ झरीझुट्ट गहनामा सजिएकी एक महिलाले हात उठाइन्।अटो उनको अघिल्तिर रोकियो।

अटो चढ्दै बोलिन् ओई अंशु आज कति बर्षमा तेरो र मेरो भेट हुन जुरेको रैछ नि ? तँ कहाँ जान लागेकी नि ? एक्कासि बाल्यकालकी साथी जमुनीलाई देख्दा झसङ्ग भएँ ।अबुइ…. जमुनी तँ पो ? तँ त कति बदलिछस् हौ।तँ नबोलेको भए म नचिन्ने रहेछु । कुशेऔशीमा बुबाको मुख हेर्न माइतीघर आको ।हुन त अरुबेला पनि हप्ता दिन,पन्ध्र दिनमा बुबाआमा भेट्न् आइरहन्छु म।तर आज चाहिँ विशेष दिन भएकोले नि।

आ …अंशु .. म त कसैको पनि मुख हेर्न जान्न है।आफ्नो बुबाआमाको मुख हेर्न गएपछि सासुससुराकोमा नि जानैपर्यो।नत्र बुढोको हप्काई खानुपर्छ।पैसा पैसाको खर्च बेकारको हैरान कसले गरोस् ।अनि सुन् त अंशु म पहिलेको जमुनी हैन है । अहिले त मेरो नाम जमुनीबाट जिम्मी भएको छ,मलाई सबैले जिम्मी भन्दा मात्रै चिन्छन् ।त्यसैले तैँले पनि मलाई जमुनी हैन जिम्मी भन् है।

अनि नि अंशु म त आज तीजको लागि सपिङ गर्न बिर्तामोड आएकी थिएँ। दर खाने दिन धेरै साथीभाइलाई निम्ता गरेको छु।अस्ति नै तीजको लागि भनेर बुटिकमा सारी अर्डर गर्या थेँ।आज तयार भएछ।महङ्गो पर्यो के। सारी ब्लाउज गरेर जम्मा पच्चीस हजार अनि हेर्न त्यै अनुसारको मेकअप नि गर्नै पर्ने।हिजो बुढोलाई बिदेशमा फोन गरेर तीज मनाउने पैसा पठाइदिनु भनेको वास्तै गरेनन्।आज फोनबाट निकै थर्काइरथेँ मलाई चालीस हजार रुपैयाँँ तुरुन्तै चाहियो तीजको खर्च भनेर।नभन्दै पठाइदिएछन् र आज सपिङ गर्न आको।

के गर्नु अंशु जमाना अनुसार चल्नै पर्यो।पोहोर अलिकति भएको जग्गा बेचेर बुढोलाई बिदेश पठाएँ।र बचेको पैसाले आफूलाई तीन तोला सुनको हार ,दुई तोलाको चुरा,छड्के तिलहरी,माइली तिलहरी,सानो तिलहरी,सुनपोते,चार वटा औंठी । राम राम राम केके हो केके।सुन्दा सुन्दै रिंगटा लागेर आयो।उ बोलिरहेकी थिई। अब भोलि बिहानै ब्युटि पार्लर जानुछ।केस बनाउन ,मेहेन्दी लगाउन र मेकअपको लागि । अंशु तँ त लाटी जस्तो केहि बोल्दिनस् नि। सुना न तेरो के छ।

तर तेरो त मैले सबै थाहा पाइसकेँ तँलाई हेरेर नै।नाक कान घाँटी सबै बुच्चो,चुरा ,औंठी आदिको त बिचरालाई के कुरा गर्नु। कठैबरी।आजकालको जमानामा न केसको सजावट न अनुहारमा मेकअप ।लुगा त झन् उहिलेकै डिजाइनको।छ्या अंशु तँलाई त अरुको छेउमा मेरी साथी भन्न नि लाज लाग्छ मलाई ।

अब त अति नै भो केही त बोल्नुपर्यो भनेर सोच्दै थिएँ।अटो रोक्दिनुस् है।। मेरो ओर्लने ठाँउ आइपुग्यो।टाउकोको गगल्स आँखातिर मिलाउँदै अटोबाट ओर्लि जमुनी।एकछिन पर्स खोल्दै बन्द गर्दै झैं गरेर मतिर फर्केर बोली सरी अंशु । मैले गफ त धेरै लाएँ तर मसँग एक पैसा पनि रैन रछ।मेरो पनि भाडा तिर्दे ल ।
सूर्योदय १२ , करफोक,इलाम

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )