युएईका नेपालीको घाउमा मल्हम लाउँदै डा.यासिर

युएईका नेपालीको घाउमा मल्हम लाउँदै डा.यासिर

रामप्रसाद ढुंगेल
अबुधाबी वैदेशिक रोजगारीको लागि नेपालीहरुको लोकप्रिय गन्तव्य युएईमा अदक्ष कामदारहरुमात्रै होइनन्, डाक्टर, इन्जिनियर जस्ता दक्ष तथा सम्मानित पेसामा काम गर्ने नेपालीहरु बढ्न थालेका छन् । स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्नेलाई युरोप,अमेरिका मात्रै होइन, मध्यपुर्वका देशहरुमा पनि उत्तिकै सम्मानित नजरले हेरिन्छ ।
युएईमा पनि सम्मानित पेसा मानिएका इन्जिनियर, शिक्षक, चिकित्सक, प्राविधिक आदि क्षेत्रमा नेपालीहरुको संख्या दिनानुदिन बढिरहेको देखिन्छ ।

युएईमा अनगिन्ती नेपाली इन्जिनियरहरु कार्यरत छन् भने नेपाली चिकित्सकहरु भने सीमित मात्रामा आउन थालेका छन् । चिकित्सा क्षेत्रमा भन्दा इन्जिनियरिङ क्षेत्रमा धेरै नेपालीले रोजगारी गरिरहेका छन् भने औंलामा गन्न सकिने संख्यामा नेपाली चिकित्सकहरु पनि युएईका विभिन्न इमिरेट्सहरुमा भेटिन थालेका छन् ।

 

डाक्टर  यासिर श्रेष्ठ

सरकारी कोटाबाट छात्रवृत्ति पाएर बङ्गादेशको राजशाही विश्वविध्यालयबाट एमबिबीएस पास गरी नेपालका डडेल्धुरा उपक्षेत्रीय अस्पताल, डोल्पा जिल्ला अस्पताल र तनहुँको बन्दीपुर अस्पतालमा २ वर्ष काम गरिसकेका यासिर श्रेष्ठ सन् २०१६ देखि युएईमा चिकित्सकका रूपमा काम गरिरहेका छन् ।

युएईमा कार्यरत नेपालीहरुको स्वास्थ समस्या पत्ता लाएर सयौं नेपालीहरुलाई नयाँ जीवन दिइरहेका छन् । भाषाको कारण आफ्ना समस्यालाई प्रष्ट पार्न नसक्ने नेपालीहरुको सुखदुःखको साथी बनिरहेका छन् । घाइते नेपालीहरुको घाउमा मल्हम लाउदै स्वास्थ जनचेतना जनाउन सक्रिय छन् । युएईका करिब चार लाख नेपालीहरुले गर्व गर्ने स्थानमा छन् यासिर श्रेष्ठ ।
युएईको स्थापित अल अहालिया अस्पतालमा जनरल फिजिसियनका रूपमा कार्यरत श्रेष्ठ युएईमा कार्यरत नेपाली चिकित्सकहरुको लहरमा सम्भवतस् सबैभन्दा पहिला चिकित्सक हुन्, जसले ५ वर्षदेखि युएईमा सेवा गरिरहेका छन् ।

युएईका नेपालीहरुको मुख्य स्वास्थ्य समस्या

युएईमा श्रम गर्न आएका नेपालीहरुका शारीरिक साथै मानसिक समस्या भएको डक्टर श्रेष्ठको अनुभव छ । मधुमेह, ब्लड प्रेसर, कोलस्त्रोल र पेटको समस्याले धेरै नेपाली प्रभावित भएको उनको अनुभव छ । डाक्टर श्रेष्ठका अनुसार युएईमा नेपालीहरु बिरामी पर्नुको मुख्य कारणहरुमा जीवनशैलीमा आएको परिवर्तन, वातावरणीय प्रभाव र कामको प्रकृति नै मुख्य हुन् ।
नेपाल र युएईको जीवनशैली र आहारबिहार परिवर्तन भएका का कारण मधुमेह, ब्लडप्रेसर लगायतका रोगबाट धेरै नेपाली श्रमिक पीडित भएका छन् भने वातावरणीय कारणले मिर्गौला रोग, पत्त्थरी रोग जस्ता, पिसाबको इन्फेक्सन जस्ता रोगहरुबाट नेपालीहरु ग्रसित बन्दै गएको उनको अनुभव छ ।
त्यसरी नै कामदारले दैनिक गर्ने कामका कारण पनि कम्मर दुख्ने, छालारोगबाट युएईमा कार्यरत नेपालीहरु प्रभावित बन्दै गएका छन् ।

नेपालीहरुको सबैभन्दा ठुलो कमजोरी भनेको अस्पताल जानुपर्छ भन्ने ज्ञान भनौ या चेतना नै छैन । सकेसम्म नेपालीहरु अस्पताल जान नपरे हुन्थ्यो भन्ने मानसिकताले ग्रसित छन् । रोगबाट अलि प्रभावित भए मात्रै अस्पताल आउने प्रवृत्तिले गर्दा सबैलाई सही समयमा सही उपचार गर्न नसकिने डक्टर श्रेष्ठको भनाइ छ ।

समाधानका उपायहरु

डाक्टर श्रेष्ठले समस्या मात्रै बताएका छैनन् । उनले सादा खाना आफै पकाएर खानको सबैलाई सुझाव दिन्छन् । दाल, भात र तरकारीलाई पुर्ण भोजन मान्छन् उनी । आफ्नो शरीरलाई आवश्यक मात्रामा पुग्ने क्यालोरी बराबरको खाना मात्रा मिलाएर खानुपर्ने उनको मान्यता छ । मटन र बिफ त नखाएको राम्रो भन्ने उनको सुझाव छ । मासु खानु परे चिकेन खान सकिने उनले बताएका छन् । फास्टफुड, तारेको, चिल्लो खाना, बिरियानी पनि परित्याग गर्नुपर्ने डक्टर श्रेष्ठको सुझाब छ ।
खाना खाएपछि तत्काल कम्तिमा ४५ मिनेट भित्र नसुत्ने बरु हिड्ने र हिड्न असम्भव भए बस्ने डक्टर श्रेष्ठको सुझाव छ । दिनमा ३० मिनेट पसिना आउन्जेल व्यायाम गर्ने, त्यसो गर्न नसके अनिवार्य ३० मिनेट फटाफट हिड्न सके शारीरिक सन्तुलन कायम भएर रोगबाट बच्न सकिने उनको सुझाव छ ।

नेताबाट प्रभावित नाम

गोर्खा जिल्लाक पालुङटार १३, साबिकको आँप पिपल गाउँबाट २०५८ सालको एसएलसीमा जिल्ला प्रथम भएका यासिर श्रेष्ठ चार लाख नेपालीहरुको भीडमा चिकित्सकका रूपमा काम गर्ने सीमित नेपालीहरुमा एक हुन् ।
जिल्लाबासी तथा पुर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र उनका स्कुले समकक्षी स्व. डा. उपेन्द्र देवकोटाका जीवनका संघर्ष र सफलता, आरोह अनि अवरोह, जीवनशैली र आदर्शलाई शिरोधार्य गर्दै बाल्यकाल बिताएका यासिर श्रेष्ठ गोर्खाको आँप पिपलमा रहेको श्री जनता माबिमा कुनै कक्षामा दोस्रो भएनन्,डा। बाबुराम भट्टराईको स्कुले जीवनझै ।
मध्यम वर्गीय परिवारमा २०४३ मंसिर २६ गते जन्मिएका यासिर श्रेष्ठ तत्कालीन प्यालेस्टाइनी नेता यासिर अराफातबाट प्रभावित भएर आफ्नो नाम काकाले यासिर राखिदिएको बताउँछन् ।
शिक्षण पेशामा आवद्ध बुबा दिपनारायण र गृहिणी आमा उषा श्रेष्ठका चार सन्तानमध्ये दोस्रो सन्तान हुन् । एक दिदीको भाइ र दुई बहिनीका दाजुका पारिवारिक जिम्मेवारी थिए नै ।
आम किसान बालबालिकाहरु जस्तै गाउँघर चहार्दै, दाउराघाँस गर्दै, गोठालो गएको पनि अनुभव यासिरसँग छ ।

यासिरले एसएलसी दिएका बेला देशमा माओबादीद्वारा संचालित सशस्त्र द्वन्द्व चरमोत्कर्समा थियो । सरकारले मारेका अहिलेसम्मकै ठुला नेता माबोवादीका केन्द्रीय स्तरका नेता सुरेस वाग्लेले पढाएको स्कुलका विधार्थी हुन् यासिर । त्यही भएर नेपालको कम्युनिस्ट आन्दोलन र समग्र नेपालको राजनीतिक घटनाको जानकारी राखेका छन् उनले । ठूला नेता जन्माउने एरियामा बसे पनि यासिरमा नेतृत्व लिने चासो उनमा पलाएन ।
पढाइमा अब्बल भएका कारण प्रत्यक्ष प्रभावित भएनन् उनी । २०५८ सालमा एसएलसी आस गरेपछि निस्ट कलेज काठमाडौंमा प्लस टुमा साइन्स लिएर २०६० मा एमबिबिएसको तयारी गर्ने थाले ।
अन्ततः २००६ मा बङ्लादेशमा छात्रवृत्तिमा एमबिबीएस पढने अवसर पाए । सन् २००६ देखि २०१२ सम्म एमबिबिएसको अध्ययन पूरा गरेर हरेक डक्टरले गर्नुपर्ने अनिवार्य करार अबधिको सेवा नेपालका विकट पहाडी जिल्लाहरुमा २ वर्ष डक्टर श्रेष्ठले पूरा गरेका छन् ।

करियर र भविस्यको चिन्ताले युएई

एमबिबिएस पास गरेर २ वर्ष नेपालमा काम गरिसकेपछि डक्टर श्रेष्ठका अगाडि केही विकल्पहरु आएका थिए ।
अझै विशेषज्ञता हासिल गर्नुपर्ने थियो पेशामा । परिवारको आर्थिक अवस्था पनि भनेजस्तो दरिलो थिएन । अमेरिकामा एमडी गर्ने रहर थियो । आर्थिक कारणले गर्दा त्यो बेलामा अमेरिकी सपना साकार हुन सकेन । कमाउदै पढ्नु पर्ने अवस्था थियो उनको । तर उनलाई मेडिसिनमा एमडी गर्ने रहर थियो ।

युएईको वारेमा सकारात्मक सन्देश उनले सुनेका थिए । विविधता, पेशागत स्वतन्त्रता, कमाई तथा अवसरको खानीको रूपमा उनले युएईलाई बुझेका थिए । थोरै खर्चमा धेरै कमाउन सकिने नजिकैको राम्रो देश युएई नै ठाने उनले । यस्तै अन्योलमा २०१४ मा भिजिट भिसामा युएई आएका हुन् ।

भिजिट भिसामा रहदाको दुःख

युएई आउनु अगाडि उनेले यहाँको स्वास्थ विभागमा अनलाइन परीक्षा दिएर इजाजतपत्र त सजिलोसँग पाए तर काम पाउन भने उनले भिजिट भिसामा युएई आउनुपर्ने भयो ।
नेपालमा २ वर्ष काम गरेको रकम बोकेर काम पाउने आशामा डक्टर यासिर श्रेष्ठ २०१६ को अप्रिलमा युएई आएका हुन् ।
हातमा प्रमाणपत्र भए पनि सजिलोसँग काम पाउन सकेनन यासिरले । सारजाको रोलामा बास थियो । काम पाउने सम्भावना दुबईमा अलि बढी थियो । दुबईका १०र१५ वटा अस्पतालमा आफ्नो बायोडाटा छोडेर काम पाउने आशामा झन्डै २ महिना बितिसक्दा पनि उनले काम पाएनन् । साथमा भएको पैसा पनि सकिन लाग्यो । दैनिक २ दिरामको खाजा खाएर सरकारी बसमा यात्रा गरेर मुस्किलले दिनहरु काटन थालेका थिए । एकप्रकारले निराश भएर बसेका बेला एक जना सेक्युरिटी गार्डले जेलबअलीको एक हस्पिटलको पिआरओसमक्ष भेट्ने वातावरण मिलाइदिए । अन्तिम अवस्थामा डक्टरकै काम त पाए तर आन्तरिक कारणले अस्पतालले समयमै सबै तलब दिन सकेन । १६ महिना काम गरे पनि ३ महिनाको मात्रै तलब पाएर नमिठो अनुभव लिनुपरेको थियो । करिब १ वर्ष बिना पारिश्रमिक काम गर्नुपर्दाको नरमाइलो अनुभव अन्य मजदुरले जस्तै डक्टर श्रेष्ठले भोग्नुपरेको थियो ।
त्यसपछि बरदुबईको एक क्लिनिकमा ५र६ महिना काम गरेपछि अबुधाबीको लसएन्जलस मेडिकल सेन्टरमा पनि ६ महिना गरे ।
अहिले भने अहालिया हस्पिटलमा जिपीका रूपमा काम गरिरहेका डक्टर श्रेष्ठ आफ्नो पेसा र अवस्थाप्रति सन्तुष्ट छन् । परदेशमा पनि नेपालीहरुको सेवा गर्ने अवसर पाएकोमा दङ्ग छन् । नेपाली भाषामा आफ्नो समस्या बताउन पाउँदा प्रभावित नेपालीहरु पनि अपेक्षाकृत रूपमा खुसी देखिन्छन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )