झापाका सडकका खाल्डाखुल्डी पुर्दै ट्राफिक प्रहरी

झापाका सडकका खाल्डाखुल्डी पुर्दै  ट्राफिक प्रहरी

बिर्तामोड । पछिल्लो समय झापाका सडकमा खाल्डाखुल्डी भएपछि दुर्घटनाको जोखिम वढेर गएको छ ।

 

सामान्य वर्षामै झापाका सडकमा खाल्डाखुल्डी भएर तिनमा टनाटन पानी जम्दा जो कसैलाई त्यो सडक हो कि तलाउ भनेर छुट्याउन मुस्किल पर्ने गरेको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाका सबैजसो स्थानका सडकखण्डमा यति धेरै खाल्डाखुल्डी छन् कि तिनलाई जोगाउन नसकेर सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटनामा पर्ने गरेका छन् ।
तीव्र गतिका आएका सवारीसाधन खाल्डाखुल्डीबाट जोगाउने क्रममा दुर्घटनामा पर्ने गरेको र त्यसबाट धनजनको क्षति हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।सवारीसाधन दुर्घटना गराउने एम्बुसजस्तै बनेका सडकमा भएका खाल्डाखुल्डी पुर्ने प्रयास कहींकतैबाट नभएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले पछिल्लो समय सडकमा भएका खाल्डाखुल्डी पुर्ने अभियान सञ्चालन गरेको छ ।

 

सामान्य बर्षाको कारणले सडकमा भएका खाल्डाखुल्डीमा पानी जमेर सवारी दुर्घटना वढेको भन्दै ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाका मुख्य राजमार्ग र सहायक मार्गमा रहेका खाल्डाखुल्डी पुर्न थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरिक्षक यामकुमार खड्काले बताए ।
‘आँखै अगाडी सडकमा भएको खाल्डाखुल्डीमा परेर ज्यान गुमाएको हेर्न सकेनौं’ उनले भने ‘झापाका निर्माण व्यवसायीहरुलाई अनुरोध गरेर उहाँहरुको निर्माण सामग्री बोकेका सवारीसाधनबाट केहि निर्माण सामग्री मागेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने काम गर्न थालेका छौं ।’
प्रहरी सहायक निरिक्षक खड्काले सडकमा भएको खाल्डाखुल्डीले दुर्घटना निम्त्याउन थालेपछि ग्राभेल राखेर सडकमा भएको खाल्डाखुल्डी सम्याउन थालेको जानकारी दिए ।

झापाको बिर्तामोड, सुरुङ्गा, झिलझिले, केर्खा, बुट्टावारी, चारआली, धुलावारी, चन्द्रगढीलगायतका सडक खण्डमा भएका खाल्डाखुल्डी पुर्ने काम भइरहेको उनले बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका मातहतमा विभिन्न स्थानमा रहेका प्रहरी युनिटलाई समेत आ–आफ्ना एरियामा रहेका सडकमा भएको खाल्डाखुल्डी पुर्न निर्देशन दिएको उनले जानकारी दिए ।
ट्राफिक प्रहरीको अधिकार क्षेत्रभित्र सडकमा भएको खाल्डाखुल्डी पुर्ने कार्य नपरेपनि मानवीय सेवाको साथै सामाजिक उत्तरदायित्व सम्झेर उक्त अभियान सञ्चालन गरेको प्रहरी सहायक निरिक्षक खड्काले बताए ।

 

 

डिभिजन सडक कार्यालय दमक झापा र स्थानीय नगरपालिका तथा गाउँपालिकाले सडक मर्मतमा खासै चासो नदिएका कारण सडकमा खाल्डाखुल्डी भएर दैनिकजसो सवारी दुर्घटना वढेको र त्यसलाई केहि हदसम्म न्युनिकरण गर्ने उद्धेश्यले सडकमा भएका खाल्डाखुल्डी पुर्ने कार्य गरेको उनले बताए । उक्त कार्यलाई निरन्तरता दिदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउने उनको भनाई छ ।
सडकमा भएका खाल्डाखुल्डीका कारण विशेषत दुई पाङ्ग्रे सवारी साधन दुर्घटनामा पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरिक्षक निशेष चापागाईले बताए ।
प्राय दुई पाङ्ग्रे सवारी साधनहरु तीव्र गतिमा आउने र अनियन्त्रीत भएर खाल्डाखुल्डीमा परेर दुर्घटना हुने गरेको बताउँदै उनले दुर्घटनाबाट हुने धनजनको क्षतिलाई नियन्त्रण गर्न सडकमा भएका खाल्डाखुल्डी पुर्ने अभियान सञ्चालन गरेको बताए ।
‘यो दीर्घकालीन समस्याको समाधान होइन’ उनले भने ‘अहिले तत्काल हुने धनजनको क्षतिवाट जोगाउन अस्थाई रुपमा गरेको हाम्रो प्रयास हो ।’
सामान्य बर्षामा पानी जमेर खाल्डाखुल्डी भएका सडक पुरेपनि त्योे टिकाउ नहुने बताउँदै उनले सरोकारवाला निकायले त्यसबारे चासो देखाउनु पर्नेमा जोड दिए ।
सवारीसाधन दुर्घटनाको मुख्य कारणमध्ये सडकमा भएको खाल्डाखुल्डी पनि एक भएको बताउँदै उनले महिनामा एक÷दुईवटा सवारीसाधन सडकमा भएको खाल्डाखुल्डीकै कारण दुर्घटनामा पर्ने गरेको जानकारी दिए ।

मुलुकको ‘लाइफ लाइन’ मानिएको सडकमार्ग अहिले ‘धराप’ अवस्थामा रहेको बताउँदै प्रहरी निरिक्षक चापागाईंले सडकमा भएका खाल्डाखुल्डीका कारण यात्रीले सास्ती भोग्नुपरेको जनाए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय झापासंग श्रोतसाधन र जनशक्ति सिमित मात्रामा भएपनि जनताको जीउधनको सुरक्षाका लागि आफुहरु अहोरात्र लागीपर्ने बताउँदै उनले सडकमा भएका खाल्डाखुल्डी पुरेर केही राहत दिएको जनाए ।

यता डिभिजन सडक कार्यालय दमक झापाका डिभिजन प्रमुख रमेशप्रसाद पौडेलले डिभिजन सडक कार्यालय दमक झापाले सडकमा भएको खाल्डाखुल्डी पुर्ने कार्य शुरु गरेको जानकारी दिए ।
उनले भने ‘ मावाखोलाबाट कमलखोलासम्म सडकमा भएको खाल्डाखुल्डी पुर्ने कार्य गरिएको छ । एकहप्ताभित्रै काँकरभिट्टासम्म भएका खाल्डाखुल्डी पुर्ने कार्य सकिन्छ ।’ उनले सडकमा भएको खाल्डाखुल्डी अलकत्राले पुर्ने जानकारी दिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )