जुम्लाको स्याउ वेच्न झापामा

जुम्लाको स्याउ वेच्न झापामा

बिर्तामोड । जुम्ला तातोपानी गाउँपालिका –८ डुङ्ग्री टोकलाका रेशमबहादुर शाही अहिले झापामा छन् । उनीसंगै श्रीमती र भदै पनि झापामै छन् । उनीहरु झापामा घुम्न भने आएका होइनन् । उनीहरु त झापामा जुम्लाको स्याउ वेच्न आएका हुन् ।उनीहरु अहिले झापाका विभिन्न बजारहरुमा जुम्लाको स्याउ वेचिरहेका छन् ।उनीहरुले झापा शिवसताक्षी ११ दूधेका ट्रक चालक रमेश रसाइलीमार्फत स्याउ ल्याएर झापाका बजारमा बिक्री गर्न थालेका हुन् ।

 

जुम्लामा स्याउ उत्पादन भएपनि त्यहाँ त्यती मूल्य नपाएपछि झापामा ल्याएर जुम्लाको स्याउ विक्री गर्न थालेको रेशमबहादुर शाहीले बताए ।
आफूले खेती गरेको स्याउ र अन्य व्यापारीबाट समेत किनेर झापामा स्याउ वेच्न ल्याएको बताउँदै उनले झापाली ग्राहकले जुम्लाको स्याउ मन पराएको बताए ।
एक ट्रक जुम्लाको स्याउ लिएर झापा आएका शाहीले पाँच दिनमै आधा ट्रक जुम्लाको स्याउ वेचिसकेको जानकारी दिए ।

जुम्लाको स्याउ खानमा मिठो र राम्रो हुनुका साथै मुल्य पनि आधा सस्तो रहेकोले झापाका ग्राहकले उत्साहित भएर जुम्लाको स्याउ मन पराएको बताए ।
झापाका विभिन्न बजारहरुमा जुम्लाको स्याउ लिएर जाँदा त्यहाँका वासिन्दाले मन पराएर स्याउ किन्न आएको जुम्ला तातोपानी गाउँपालिका –८ डुङ्ग्री टोकलाका सन्देश शाहीले बताए ।

आफूहरुले दुःख गरेर भएपनि आफ्नै देशको जुम्लामा उत्पादन भएको स्याउ झापामा बिक्री गर्न ल्याएर जुम्ला र झापाको सुमधुर सम्वन्ध कायम गर्न खोजेको उनले बताए । जुम्लामा उत्पादन भएका आलु, स्याउ , सिमी झापामा विक्री गर्ने योजना रहेको उनले बताए ।
जुम्लाका गाउँगाउँसम्मै गाडी गुड्ने बाटो पुगेपछि किसानका बगैँचामा नै पुगेर अग्र्यानिक स्याउ खरिद गरि झापामा ल्याएर विक्री गरिरहेको बताउँदै उनले सिजन रहेसम्म जुम्लाको स्याउ झापा ल्याएर बिक्री गरिरहने जानकारी दिए ।
झापाका बिर्तामोड ,काँकरभिट्टा , दमकलगायतका स्थानमा जुम्लाको स्याउ बिक्री गरिरहेको ट्रक चालक रमेश रसाइलीले बताए ।
भारतीय र चाइनिज स्याउको मूल्य भन्दा आधा सस्तो मूल्यमा जुम्लाको स्याउ बिक्री गर्दा झापाका ग्राहकले उत्साहित भएर जुम्लाको स्याउ किनेको उनले बताए ।
बिर्तामोडको शनिश्चरे रोडमा जुम्लाको स्याउ किन्न पुगेका बिर्तामोडका रिजन मैनालीले पहिलो पटक जुम्लाको स्याउ देखेकाले जुम्लाको स्याउ किनेको बताए । ‘जुम्लाको स्याउ खानमा मिठो र अर्गानिक रहेछ ।’ उनले भने ।
त्यस्तै अर्का ग्राहक राजेश पौडेल भारतीय र चाइनिज स्याउको मूल्य भन्दा आधा सस्तो मूल्यमा पाएकाले जुम्लाको स्याउ किनेको बताउँछन् ।
‘आफ्नै देशको जुम्लामा उत्पादन भएकाले जुम्लाको स्याउ किनेर स्याउ व्यापारीहरुलाई प्रोत्साहन गर्न म सवैलाई आग्रह गर्दछु ।’ उनले भने ।
त्यस्तै बिर्तामोडका नरेन्द्र अधिकारी सोह्श्राद्धका लागि भनेर आफुले जुम्लाको स्याउ किनेको बताउँछन् ।
त्यस्तै अर्जुनधारा –११ कि माया वागदास पाँचकोटी भारतीय र चाइनिज स्याउ भन्दा जुम्लाको स्याउ मिठो र राम्रो रहेकाले जुम्लाको स्याउ किनेको बताउँछिन् ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )