झापामा रगत अभाव , रक्तदान गर्न जुटे संघसंस्था

झापामा रगत अभाव , रक्तदान गर्न जुटे संघसंस्था

बिर्तामोड । झापामा रगत अभाव भएको छ । चाडपर्वको समय , वेमौसमी वर्षात् र कोरोना भाइरस संक्रमणको त्रासका कारण रक्तदान गर्ने मानिस नहुँदा झापामा रगत अभाव भएको हो ।

दशैं , तिहार , छठ लगायतका चाडपर्वका कारण रक्तदान गर्ने मानिस नहुँदा र कोरोना भाइरसको सक्रमणको त्रास र वेमौसमी वर्षात्का कारण झापामा रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।

नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडमा सञ्चालित ब्लड बैंक र नेपाल रेडक्रस सोसाइटी झापाले विर्तामोडको बीएण्डसी टिचिङ हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लड बैंकमा पनि सवैप्रकारका ग्रुपको रगत अभाव भएको उनले बताए । बिरामीलाई जुन ग्रुपको रगत चाहिन्छ सोही ग्रुपका मानिसलाई प्रत्यक्ष सम्पर्क गरेर रगतको आपूर्ति गर्ने गरेको उनले बताए ।

अन्य समयमा झापामा रहेका विभिन्न सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेपनि चाडपर्वको समय , वेमौसमी वर्षात् र कोरोना भाइरस संक्रमणको त्रासका कारण अहिले कुनै पनि सामाजिक संघसंस्थाले रक्तदान कार्यक्रमको आयोजना नगरेका कारण रगतको अभाव भएको उनले बताए ।
कोरोना भाइरस संक्रमणको त्रासका कारण मानिसहरु भिडभाडमा गएर रक्तदान नगर्ने भएका कारण विभिन्न सामाजिक संघसंस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा पनि अपेक्षा गरेअनुसारको रगत संकलन नहुने गरेको सभापति ढकालले जानकारी दिए ।

कोरोना भाइरस संक्रमणको त्रासका कारण मानिसहरुले भिडभाडमा गएर रक्तदान गर्नुभन्दा नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडमा सञ्चालित ब्लड बैंकमा गएर रक्तदान गर्ने गरेको उनले बताए ।
झापामा धेरै हस्पिटल सञ्चालनमा रहेको र त्यहाँ सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च रहेकाले पनि यस्तो समयमा रगतको अभाव हुने गरेको सभापति ढकालले बताए । झापाका अस्पतालमा विशेष गरी पूर्वी पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायतका स्थानबाट पनि बिरामी आउने गरेको उनले बताए ।
त्यस्तै झापामा सवारी दुर्घटना बढ्दो रुपमा रहेकाले र दुर्घटनामा परेकालाई शल्यक्रियाका लागि रगत धेरै चाहिने भएकाले पनि यस्तो समयमा प्रयाप्त मात्रामा रगत उपलव्ध गराउन नसकिएको उनले बताए ।

झापामा रगतको अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको सभापति ढकालले बताए । प्रत्येक मानिसले तीन ÷तीन महिनामा रक्तदान गर्नुपर्ने भएकाले रक्तदान जीवनदान भन्ने मूलमन्त्रलाई बुझेर रक्तदान गरेर रगतको अभाव टार्न सघाउ पुर्याउन सभापति ढकालले सवैलाई आग्रह गरेका छन् ।

विर्तामोड ब्लड बैंकबाट विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल,सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटललगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको जनाइएको छ ।
रगतको अभावसँगै झापामा सञ्चालित अस्पताललाई शल्यक्रियामा समेत समस्या हुने गरेको चिकित्सकले जनाएका छन् । रगत अभावका कारण जटिल प्रकारका शल्यक्रिया र गर्भवतीको शल्यक्रियामा सबैभन्दा बढी समस्या भएको उनीहरुको भनाइ छ ।

यसैबीच श्री सत्य साइ सेवा संगठन नेपाल प्रदेश नं. १ (क) को आयोजना तथा श्री सत्य साई केन्द्र अनारमनीको आतिथ्यमा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २४ जनाले रक्तदान गरेको श्री सत्य साइ सेवा संगठन नेपाल प्रदेश नं. १ (क)की महिला संयोजक कल्पना चौहानले जानकारी दिइन् ।
झापामा भइरहेको रगतको अभाव टार्न रक्तदान कार्यक्रमको आयोजना गरिएको श्री सत्य साइ सेवा संगठन नेपाल प्रदेश नं. १ (क)का अध्यक्ष कविन्द्र श्रेष्ठले बताए ।

त्यसैगरी वडादशै,दिपावली तथा छठ पर्वको अवसर पारेर नेपाली काँग्रेस वडा समिति दमक ५ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र दमकको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा चार जना महिलासहित ३० जनाले रक्तदान गरेको बताइएको छ ।
नेपाली कांग्रेस दमकको पार्टी कार्यालयमा भएको रक्तदान कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी , महासमिति सदस्य दिलबहादुर बुढाथोकी , महाधिबेशन प्रतिनिधि आइन्द्र केरुङ, नेपाली कांग्रेस दमक नगर उपसभापति युवराज खनाल ( सागर ) , सचिव दिपेश दाहाल ,कांग्रेस दमक– ५ का उपसभापति सन्तोष गौतम, नेपाल प्रेस युनियन झापाका उपाध्यक्ष गिरीराज भट्टराई ,एलिशा ओली,तुलसी भटटराई लगायतले रक्तदान गरेको कांग्रेस वडा सचिव मोहन ढुंगानाले जानकारी दिए ।
चाडपर्वको समयमा विरामीलाई रगतको अभाव हुन नदिन खुला रक्तदान गरिएको उनले बताए । नेपाली कांग्रेस दमक –५ का सभापति चैतन्य बरालको अध्यक्षता तथा महासमिति सदस्य शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )