अर्जुनधारा –९ सालबारीमा माङहिम र महागुरु फाल्गुनन्द लिङदेनको शालिक निर्माण

अर्जुनधारा  –९ सालबारीमा माङहिम र महागुरु फाल्गुनन्द लिङदेनको शालिक निर्माण

बिर्तामोड । झापाको अर्जुनधारा –९ सालबारीमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले अब नयाँ पर्यटकीय स्थल घुम्न पाउने भएका छन् । अर्जुनधारा –९ सालबारीमा रहेको नमूना सामुदायिक वन क्षेत्रभित्र किरातेश्वर हाङसाम थेवा युमा माङहिम र किरात धर्मका धरोहर महागुरु फाल्गुनन्द लिङदेनको ८ फिट ५ ईन्च अग्लो पूर्णकदको शालिक निर्माण गरिएपछि सालबारीमा घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटकले नयाँ पर्यटकीय स्थलको रुपमा त्यस क्षेत्रको अवलोकन गर्न पाउने भएका हुन् ।

फाल्गुनन्द स्मृति प्रतिष्ठानलले धार्मिक पर्यटनलाई प्रर्वद्धन र विकास गर्ने उद्धेश्यले नमूना सामुदायिक वन क्षेत्रभित्र किरातेश्वर हाङसाम थेवा युमा माङहिमको संरक्षण एवम् सम्वद्धन ,व्यवस्थापनसंगै किरात धर्मका धरोहर महागुरु फाल्गुनन्द लिङदेनको ८ फिट ५ ईन्च अग्लो पूर्णकदको शालिक निर्माण गरेको प्रतिष्ठानका कोषाध्यक्ष खगेन्द्र इङनामले जानकारी दिए ।
२०७४ सालदेखि संरक्षण र सम्वद्र्धनको कार्य शुरु गरिएको माङहिमको व्यवस्थापनको जिम्मेवारी २०७५ सालमा पूर्व साँसद शेरबहादुर इङ्नामको अध्यक्षतामा गठन भएको फाल्गुनन्द स्मृति प्रतिष्ठानलले लिएको उनले बताए ।

छ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त माङहिम परिसरमा किरातेश्वर हाङसाम थेवा युमा माङहिम , महागुरु फाल्गुनन्द लिङदेनको ८ फिट ५ ईन्च अग्लो पूर्णकदको शालिक , धुनी कुण्ड, पुजारी आश्रम, मूलगेट, शौचालय, घेराबारा लगायतको भौतिक संरचना निर्माण गरिएको प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले बताए ।

उक्त धार्मिक क्षेत्र निर्माणको लागि नेपाल सरकारबाट २० लाख, साविक जिल्ला विकास समितिको ५ लाख र दताहरुबाट उठेको २५ लाख गरि जम्मा ५० लाखको लागतमा निर्माण सम्पन्न भएको न्यौपानेले बताए । उक्त क्षेत्रमा रहेको महागुरु फाल्गुनन्द लिङदेनको ८ फिट ५ ईन्च अग्लो पूर्णकदको शालिक २०७४ साल फागुन महिनामा निर्माण शुरु गरी दुई महिनामा सम्पन्न गरिएको प्रतिष्ठानका सचिव लवकुश गौतमले बताए । शालिक निर्माणमा १० लाख खर्च गरेको र उक्त ढुङ्गाको शालिक मोरङ उर्लाबारी–३ स्थित मन्जुल मेतेरी कला केन्द्रका भक्त राईले तयार पारेको उनले बताए ।

उक्त शालिकको अनावरण र माङहिमको उद्घाटन मंसिर २६ गते नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेती, किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरुआमा पवित्राहाङमाले उद्घाटन गर्ने उनले बताए । मंसीर २६ गते हुने कार्यक्रमलाई भव्य बनाउन समितिले विभिन्न उपसमिति गठन गरेको छ ।
किरात धर्मगुरु आत्मनन्द लिङदेन र गुरुआमा पवित्राहाङमालाई स्वागत गर्नको लागि फाल्गुनन्दचोकबाट बाजागाजा , केलाङ नाचसहित ल्याउने तयारी गरेको प्रतिष्ठानका कोषाध्यक्ष खगेन्द्र इङनामले बताए । उद्घाटन कार्यक्रमको तयारीका लागि ७ वटा उपसमिति निर्माण गरिएको छ । जसमा प्रचारप्रसार उपसमितिको संयोजकमा लबकुश गौतम, अतिथि तथा दानवीरदाता सत्कार सम्मान उपसमितिको संयोजकमा शेरबहादुर इङनाम, खाद्यन्न ब्यवस्थापन उपसमितिको संयोजकमा तिलसिंह माङमु लिम्बु, पूजा सामाग्री तथा प्रसाद ब्यवस्थापन उपसमितिको संयोजकमा फिपराज कुरुम्वाङ ,कार्यक्रम स्थल व्यवस्थापन उपसमितिको संयोजकमा मोहन सुब्वा, स्वयमसेवक परिचालन उपसमितिको संयोजकमा लबकुश गौतम र अनुगमन उपसमितिको संयोजकमा लक्ष्मी इङनाम रहेका छन् ।
देशकै नमूना प्रतिष्ठानको रपमा विकास गर्ने लक्ष्यका साथ माङहिमको गुरुयोजना तयार पारिएको, फाल्गुन्द वाटिका निर्माण गर्ने नेपाली भाषा, साहित्य, संस्कृतिको पुस्तकालय तथा अध्यन केन्द्र निर्माण गर्ने लगायतको योजनाहरु फाल्गुनन्द स्मृति प्रतिष्ठानले अघि सारेको खगेन्द्र इङनामले बताए ।
प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रतिष्ठानका सदस्य मोहन सुब्बा र संचालन खगेन्द्र लिङदेनले गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )