उदयशील महिला साकोसको १४ औं सभा

बिर्तामोड । उदयशील महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोड– ४ ले १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संस्थाकी अध्यक्ष राधा राईको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी सचिव कल्पना अधिकारीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा संस्थाकी अध्यक्ष राधा राईले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सुनसरीको इनरुवामा २५ जना शेयर सदस्यहरुबाट सस्था दर्ता गर्दै सहकारी गतिविधि सञ्चालन शुरु गरेको उदयशील महिला बचत तथा ऋण सहकारीमा हाल एक हजार ९३ जना शेयर सदस्य , शेयर पूँजी ९३ लाख १७ हजार छ सय रुपैयाँ , निक्षेप एक करोड १४ लाख २३ हजार पाँच सय पाँच रुपैयाँ , कुल कोष ३९ लाख ५२ हजार सात सय ५५ रुपैयाँ २२ पैसा, जगेडा कोषमा १४ लाख ७३ हजार तीन सय ६० रुपैयाँ २५ पैसा, जोखिम कोषमा पाँच लाख १९ हजार ७ सय ५४ रुपैयाँ र अन्य कोषमा १९ लाख ५९ हजार छ सय ४० रुपैयाँ ९७ पैसा , ऋण लगानी दुई करोड १४ लाख ८१ हजार एक सय ३० रुपैयाँ रहेको अध्यक्ष राईको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा प्रमुख अतिथि दाहालले बिर्तामोडमा रहेका महिला सहकारीहरुमध्ये उदयशील महिला बचत तथा ऋण सहकारी संस्था तेस्रो स्थानमा रहन सफल भएको बताए ।
कार्यक्रममा झापा जिल्ला सहकारी संघका पूर्व सचिव युवराज ढकाल, लेखाजोखा परामर्श केन्द्र झापाकी संयोजक लुना शिवाकोटी, अग्रज पत्रकार लीला वराललगायतले महिलाले नेतृत्व गरेको सहकारीले प्रगति गरेको बताउँदै उदयशील महिला बचत तथा ऋण सहकारी संस्थामा महिलाको सक्रियता उल्लेख्य रहेकामा शुभकामना दिए ।
कार्यक्रममा शारीरिक रुपमा अपाङ्गता भएका दिलिप धिमाललाई नगदसहित सम्मान गरिएको थियो भने उत्कृष्ट वचतकर्ता जननी कन्दङ्वा, धनकुमारी राई, डुम्की धिमाल,शान्ती राजवंशी , सुस्मिता धिमाल , असल ऋणी हरिमाया तामाङ् देवीवहादुर भुजेल, सुकमाया तामाङ,अमृता लिम्वूलाई पुरस्कृत गरिएको थियो । त्यस्तै अर्जुनधारा– १,निवासी राजनीतिक योद्धा मानकुमार तामाङ को बास व्यवस्थितका लागि निर्माणाधिन घर सम्पन्न गर्न पाँच हजार रुपैयाँ उपलव्ध गराइएको थियो ।
सोही कार्यक्रममा संस्थामा ५० हजार शेयर थप गर्ने २९ जनालाई शेयर सदस्यताको प्रमाण पत्र प्रदान गरिएको थियो । उक्त प्रमाण पत्र सहकारी निरीक्षक डिल्ली दाहाल, झापा जिल्ला सहकारी संघका पूर्व सचिव युवराज ढकाल, लेखाजोखा परामर्श केन्द्र झापाकी संयोजक लुना शिवाकोटी, अग्रज पत्रकार लीला वराल , तीर्थ सिग्देल , तुलसीप्रसाद निरौला लगायतले वितरण गरेका थिए ।
संस्थाकी लेखा समिति संयोजक प्रतिमा धिमालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी उपाध्यक्ष भीमकुमारी लिङ्देनले गरेकी थिइन् ।