बृद्धको सुन र नगद लुट्ने हिङमाङ यसरी परे पक्राउ

झापा, ३ पुस

सुन तथा नगद चोरी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको साविक नागी गाविस वडा नम्बर–३ घर भइ हाल झापाको कन्काई नगरपालिका–१ मा डेरा गरी बस्ने ३७ वर्षीय टेकबहादुर हिङ्माङ दर्जी छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ का ७८ वर्षीय पूर्णबहादुर आङ्देम्बेको सुन तथा नगद १२ हजार रुपैयाँ चोरी गरेको अभियोगमा हिङ्माङलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उपचार गराउनका लागि नातिनीसँग पाँचथरबाट बिर्तामोड आएका आङ्देम्बेलाई हिङ्माङले रिक्सामा चढाएर केही पर लगी २ वटा सुनका औँठी र १२ हजार रुपैयाँ नगद चोरी गरेका थिए । सँगै रहेकी नातिनीलाई केहीबेर बस्दै गर्न लगाएर हिङ्माङले आङ्देम्बेलाई चिया खान भनी लगेका थिए ।

बृद्धलाई कुटपिट गरी घाँटी थिचेर सुन, नगद, टेलिफोन डायरी, नागरिकताको प्रमाणपत्र र मतदाता परिचयपत्र लुटेर उनी भागेको प्रहरीले जनाएको छ ।

लुटपाटपछि फरार हिङ्माङ मंसिर २९ गते बसपार्कबाटै पक्राउ परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

डिएसपी कोइरालाका अनुसार लुटेको सुन हिङमाङले दमकको एक सुनचाँदी पसलमा बेचेका थिए । उक्त सुन पगालेर सिक्री बनिसकेको अवस्थामा प्रहरीले सिक्री नै बरामद गरेको छ । हिङ्माङले आफन्तको घरमा लुकाएर राखेको नगद २० हजार रुपैयाँ पनि बरामद गरिएको डिएसपी कोइरालाले जानकारी दिए ।

प्रहरीका अनुसार हिङमाङ केही दिनअघि मात्र कन्काई नगरपालिकामा डेरा सरेका हुन् । हिङ्माङको पुरानो डेरा कहाँ थियो भन्ने पत्ता लगाउन गाह्रो परिरहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले चोरी मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

‘पछिल्लो समय बिर्तामोडका अन्य ठाउँमा पनि चोरी भएको छ, यसमा उनको संलग्नता छ कि भनेर पनि अनुसन्धान गर्दैछौँ,’ डिएसपी कोइरालाले भने, ‘यिनी अलिक प्रोफेसनल खालका रहेछन्, केही बोल्नै चाहेका छैनन्, उल्टै हामीलाई आफैँ पत्ता लगाउनुस्, प्रमाण पुर्‍याउनुस्, अनुसन्धान गर्ने काम तपाईंहरुको हो भन्दैछन् ।’

प्रहरीका अनुसार हिङमाङ केही महिनाअघि मात्रै कारागारबाट छुटेका हुन् । उनी जबरजस्ती करणी मुद्दामा यसअघि पनि पक्राउ परिसकेका थिए । एकपटक कारागारबाट फरार भएका उनी पुनः पक्राउ परी १३ वर्ष ६ महिना कैद भुक्तान गरी ०७३ माघमा इलाम कारागारबाट छुटेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )