युएई पुगेका महिलाको कहालीलाग्दो कथा

रुपेश अधिकारी/युएई

आइतबार दिउँसो १ बजिसकेको थियो । हामी सोधी–खोजीकै क्रममा थियौँ । हामी केही विषयहरु डायरीमा नोट गरेरै दूताबास पुगेका थियौँ । खासमा यसअघि उठाएका विषयमा थप जानकारी लिने हाम्रो उद्देश्य थियो ।

यही कुरा गर्दागर्दै हामी ट्याक्सी चढेर नेपाली राजदूताबास अबुधाबी पुग्यौँ । उज्यालोकर्मी उमाकान्त पाण्डे र म थियौँ । दूताबास कार्यालय प्रवेश गर्नासाथ सुरक्षागार्ड दस्तुरसिंह बस्नेतसँग हात मिलाएर सूचना अधिकारी द्वितीय सचिव कृष्ण अर्याल भए–नभएको जानकारी लियौँ । मिडिया मैत्रीको रुपमा चिनिने दूताबासका प्रवक्ता कृष्ण अर्याल नेपाल बिदामा जानु भएका रहेछ ।

हामीले कार्यालय प्रमुख भए–नभएको जानकारी लियौँ । बस्नेतले कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन कार्यालयमै भएको जानकारी गराए । उमाकान्तजी उनीसँग केही कुरा गर्न थाल्नुभयो । म दूताबासको प्रतिक्षा कक्षमा मानिसको चहलपहल देखेर त्यता छिरेँ । मेरो ध्यान त्यहाँ भएकी एक महिलामा केन्द्रित भयो ।

किनभने उनलाई देख्नासाथ उनी कुनै न कुनै समस्यामा छिन् भन्ने अनुमान सहजै लगाउन सकिन्थ्यो । म ती महिलासँग केही कुरा बुझ्न अघि बढ्दै थिएँ । उमाकान्तजी हातमा रहेको रेकर्डर मलाई दिएर अर्की महिलासँग कुरा गर्न थाल्नुभयो । मैले हातमा रहेको रेकर्डर अन गरेरै ती महिलासँग कुरा गर्ने थालेँ । र, ती महिला दिदीबहिनीहरुको कैरन सुन्न थालेँ ।

यसरी आए युएई
मलिन अनुहार । साथमा एउटा झोका बेकेर सोफामा बसिरहेकी थिइन् उनी । नाम रहेछ सीता हेमरम । घर झापा धरमपुर–२ । उमेर सोध्दा उनले नागरिकता देखाइन् ।

मैले फेरि सोधेँ, ‘उमेर थाहा छैन ?’ उनले भनिन्, ‘मलाई लेखपढ गर्न आउँदैन, नागरिकता छ देखाउँछु है ।’ नागरिकता अनुसार उनको उमेर ४० वर्ष हो । ‘लेखपढ गर्न सक्नुहुन्न कसरी यहाँ आउनुभयो ?’ भनेर सोधेपछि उनले आफ्नो कुरा सुनाउन थालिन् ।

‘हामी त दलालको जालमा पर्‍र्यौँ, घरमा काम लगाइदिन्छु भनेर झापाबाट बागडोग्रा पुर्‍यायो । अनि त्यहाँबाट प्लेनमा दिल्ली लग्यो । अनि दिल्लीबाट कुवेत लैजाने भनेको थियो । हामी त दुबई पो आएछौँ,’ सीताले एकै स्वासमा भनिन् ।

‘कहाँ जान लागेको ? किन ? कोसँग भनेर काँकडभिट्टा नाकामा कसैले सोधी–खोजी गरेन ?,’ हामीले प्रश्न गर्‍र्यौँ । उनले भनिन्, ‘हामीलाई त्यहाँबाट त ल्याएन । ट्याक्सी रिजर्भ गरेर बागडोग्रासम्म ल्यायो । त्यहाँबाट रेल हो चढेर जानुपर्छ भन्दैथिए ।’ रेल चढ्ने बारेमा पनि उनलाई थाहा थिएन ।

पहिलो पटक घर छोडेर बाहिर जाँदै थिइन् सीता । सीतासँगै थिइन्, दमक–३ झापाकी देवीमाया विश्वकर्मा । उनको उमेर २२ वर्ष । सात कक्षासम्म पढेकी छिन् । सामान्य लेखपढ गर्न जान्दछिन् ।

१६ वर्षमै विवाह भयो । दुई सन्तान पनि छन् । ‘श्रीमान् साह्रै सोझो हुनुहुन्छ, अनि म पैसा कमाउन विदेश हिँडेकी’, उनले भनिन्, ‘मेरी फुपुले झापाकै ओजमान लिम्बूले विदेश पठाइदिने भनेर उहाँसँग सम्पर्क गराइदिनु भयो ।’ झापामा भएकी फुपुले उता एजेण्टलाई फोन गर्दा सम्पर्क हुन छोडेको उनले बताएकी छिन् । उनीहरु दुवै जनालाई यहाँसम्म ल्याउनेको नाम पनि याद छैन ।

साह्रै सीधासोझा छन्, दुवैजना । हामीले उनीहरुका बारेमा गहिरिएर बुझ्ने प्रयास गर्‍यौँ । र, दुवै जनालाई एकै ठाउँमा राखेर सोधपुछ गर्न थाल्यौँ । ‘यस्तै, दुःख नपाउन् भन्ने उद्देश्यले हामीले उहाँहरुलाई पीडा नपर्ने खालको स्टोरी बनाउनु पर्छ’, उज्यालोका पत्रकार उमाकान्तजीले सुझाउनु भयो । हामी त्यसै अनुरुप अरु थप कुरा ती दुई जना महिलासँग नै बुझ्ने प्रयासमा लाग्यौँ ।

गएको बिहीबार उनीहरुलाई झापाबाट दिल्ली लगे । त्यहाँबाट दुबई हुँदै कुवेत लैजाने भनेर शनिबार बिहान अबुधाबी एयरपोर्टमा उत्रिएको देवीमायाले बताइन् । हवाईजहाजबाट उत्रिएपछि यहाँ कसैको सहायताका लागि फोनमा उनले नेपालबाट पठाउने एजेण्टसँग कुरा गरिन् । त्यसपछि उसले ‘त्यहाँ बस्दै गर तिमीहरुलाई लिन मान्छे आउँछ’ भन्यो ।

झापाबाट पठाउँदा उनीहरुलाई अबुधावीमा एजेण्टले रिसिभ गर्ने बताइएको थियो । सोहीअनुसार उनीहरु एयरपोर्टबाट उत्रिनासाथ कसैले लिन आउँछ कि भनेर एयरपोर्टको यात्रु प्रतिक्षालयमा बसे । तर, १२ घण्टा एयरपोर्टमा पर्खिंदा पनि लिन कोही आएन । ‘मोबाइलमा नयाँ सिम हाल्न खोज्दा सबैको नम्बर डिलिट भयो, त्यसपछि झनै समस्या भयो,’ उनले थपिन् ।

तपाईंहरुले आफू समस्यामा परेको बारे परिवारलाई जानकारी गराउनु भएको छ ? प्रश्न खस्न नपाउँदै घर छोडेदेखि फोन नभएको र गोजीमा पैसा पनि नभएको उनीहरुले बताए । उज्यालोकर्मी पाण्डेले भन्नुभयो, ‘परिवारसँग बोल्ने भए मेरो फोनबाट कुरा गर्नुहोस् ।’ सात कक्षा पढेकी देवीमाया विश्वकर्माले डायरीमा लेखेका नम्बर देखाउदै डायल गर्न लगाइन् ।

पत्रकार पाण्डेले उनलाई सरलीकरण गरिरहनुभएको थियो । मैले घटनाक्रमलाई नियालिरहेको थिएँ । उनलाई हामीले घरमा कुरा गरायौँ । सुरुमा आफ्नै घरमा बोल्न खोजिन् । तर, फोन रिसिभ भएन । त्यसपछि देउरानी रेनुकासँग कुरा गरिन्, ‘हामी आयौँ । तर, हामीलाई दुबईमा ल्याएको छ । पैसा पनि छैन । अब नेपाल आउछौँ ।’

यति कुरा टेलिफोनमा देउरानीसँग बताइन् । त्यसपछि उनलाई यहाँ पठाउन एजेण्टलाई सम्पर्क गराउने फुपुसँग कुरा गरिन् । यतिबेला उनका आँखामा आँशु बगिरहेको थियो । त्यहाँ वरपर रहेका सबैको ध्यान हामीतिर केन्द्रित भयो ।

जब देवीमायाले हामी त फस्यौँ नि फुपु भन्दै फोनमा भक्कानिन् । त्यो क्षण त्यहाँको माहोल भावुक बन्यो । ‘पैसा पनि सकियो अब नेपाल आउने तर, कसरी हो थाहा छैन,’ उनले फुपुसँग भनिन् ।

‘सीधासोझा दिदीबहिनीलाई साँच्चिकै फँसाए,’ उनीहरुकै छेउमा रहेका अर्का एक नेपालीले भने । ‘हामी सोझा थियौँ, हामीलाई पहिले पठाए । अरु ११ जना दिल्लीमा छन्, कसैलाई इराक, कुवेत पठाउने भनेर राखेको छ, हामीलाई फँसाए,’ सीताले पनि थपिन् ।

यसरी भयो उद्दार
एयरपोर्टमा काम गर्ने एक नेपालीले उनीहरुलाई देखेपछि सोधी–खोजी गरिन् । र, उनीहरुको कागजपत्र हेरिन् । उनलाई शंका लागेपछि दूताबासमा फोन गरेर जानकारी गराइन् । दूताबासमा यो जानकारी पाउनसाथ दूताबासको टोली एयरपोर्ट गयो ।

त्यहाँबाट दूताबासका सवारी चालक, जनसम्पर्क अधिकारीको टोलीले उनीहरुलाई दूताबासमा ल्याए । उनीहरुको विषयमा सोधी–खोजी गरियो । दूताबासका सुरक्षागार्ड आफैँले उनीहरुको व्यक्तिगत विवरण फर्म भरिदिए । नेपालबाट पठाउने दलाल, परिवार लगायत आवश्यक पर्ने पूर्ण तयारीको फम्र्याटमा फाराम भरिदिँदै थिए, दस्तुरसिंह बस्नेत ।

यो कुराकानी सकिँदा ३ बजेको थियो । डायरीमा टिपोट गरिएका विषय टण्डन सरको कार्यकक्षमा गएर खोल्ने योजनामा हामी थियौँ । त्यही समय उहाँपनि त्यहीँ आइपुग्नुभयो । हामीले केही कुरा गर्न आएको जानकारी गरायौँ । लेखा परीक्षणको काम भइरहेकोले नेपालबाट आएका प्रतिनिधिसँगको कार्य व्यस्तताले आजलाई समय दिन नसक्ने बताउनु भयो ।

यद्यपि, समसायमिक केही विषयमा उहाँले टिप्पणी गर्नुभयो । र, केही हदसम्म हाम्रा विषयमा पनि अनौपचारिक विषयमा बोलिदिनुभयो । तर, त्यो नै पूर्ण थिएन । केही दिनपछि फेरि भेट्ने योजना बनायौँ । अब उमाजीले श्रम परामर्शदाता भेषराज कार्कीसँग कुरा गरौँ भन्नुभयो । हामी कार्की सरको कार्यकक्षमा प्रवेश गर्‍र्यौँ ।

उहाँले सुरुमै सीता र देवीमायाका बारेमा थप जानकारी कार्यवाहक टण्डन सरसँग कुरा गरेर समाचार बनाइदिन आग्रह गर्नुभयो । अब हामीले उहाँबाट केही सूचना नआउने बुझिहाल्यौँ । डायरीका विषयभन्दा पनि अब सीता र देवीमायाको विषयले हाम्रो ध्यान केन्द्रित गर्याैं ।

केही समयमै ती दुई महिलालाई दूताबासका सुरक्षागार्ड दस्तुरसिंह बस्नेतले दूताबासको सुरक्षित आवासगृह (सेल्टरमा) पुर्‍याउनु भयो । अब उनीहरु सुरक्षित स्थानमा पुगेको हामीलाई पनि महसुस भयो ।

त्यो बेलासम्म उज्यालोकर्मी पाण्डेको मोबाइलमा अघि नेपालमा फोन गरेको नम्बरबाट ४७ पटक फोन आएको रहेछ । पत्रकार पाण्डेले परिवारसँग उहाँहरु सुरक्षित रहेको र थप विवरण केही भए अवगत गराउछौँ भन्दै टेलिफोन गरिदिनु भयो ।

दूताबासको उद्दारपछि अहिले उनीहरु दूताबासकै सुरक्षित आवासगृहमा छन् । कागजी प्रक्रिया पूरा भएपछि नेपाल फर्किनेछन् । उनीहरुलाई नेपाल फर्काउन अब हवाई टिकट व्यवस्थापनको खाँचो छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्
CATEGORIES

COMMENTS

Wordpress (0)
Disqus (0 )