कृषि फार्म सञ्चालनमा

उर्लाबारी ।  विदेशमा सिकेको सीप र आर्जन गरेको रकमलाई गाउँमै लगानी गरेर उर्लाबारी नगरपालिकाका–२ का अम्बिका खतिवडाले कृषि फार्म सञ्चालन गरेका छन् ।

स्वदेशमै केही व्यवसाय गरौँ भन्ने उद्देश्यका साथ उनले कृषि फार्म स्थापना गरेका हुन् । खतिवडाले आयुष्मान कृषि फार्म स्थापना गरेर आग्र्यानिक तरकारी उत्पादन गर्दै आएका छन् । तरकारी खेतीसँगै उनले माछापालन, हाँस, कुखुरापालन समेत गरेका छन् ।

उर्लाबारी–२ मा अढाइ बिगाहा जग्गामा अग्र्यानिक तरकारी खेती सुरु गरेका खतिवडाको फार्ममा आलु, प्याज, गोलभेँडा, सिमी, खुर्सानीलगायत मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ ।

जग्गा भाडामा लिएर २८ लाख रुपैयाँको लगानीमा खतिवडाले सुरु गरेको सो फार्ममा १० जनाले रोजगारीसमेत पाएका छन् ।

फार्मबाट उत्पादित तरकारी केही मात्रामा स्थानीयस्तरमै तथा बाँकी पूर्वका विभिन्न सहरमा बिक्री गर्ने खतिवडाको योजना छ । ‘परम्परागत खेतीलाई छाडेर आधुनिक खेतीमा उन्मुख गराउने उद्देश्यले फार्म खोलेको हुँ,’ उनले भने, ‘युवा पैसा कमाउन विदेश जानुपर्दैन । थोरै लगानीमा स्वदेशमै बसेर कुनै पनि काम गरेर आम्दानी गर्न सकिन्छ ।’

वैदेशिक रोजगारमा जान आतुर युवालाई गाउँमै व्यावसायिक एवम् अग्र्यानिक कृषि उत्पादन गरी रोजगारीको अवसर प्रदान गर्ने उद्देश्यले आफूले सो फार्म सञ्चालन गरेको खतिवडाले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्
TAGS

COMMENTS

Wordpress (0)
Disqus (0 )