सतासी बहुउद्धेश्यीय सहकारी संस्थाको २५औं स्थापना दिवस तथा वार्षिकोत्सव

बिर्तामोड । झापाको बिर्तामोड –५ स्थित सतासी बहुउद्धेश्यीय सहकारी संस्थाको २५औं स्थापना दिवस तथा वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष रुद्रमणि श्रेष्ठको अध्यक्षतामा तथा प्रदेश नंं १ का भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री ओमप्रकाश सरावगीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुजता गुरुङ थापा मगरले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहाल, शिखर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिपेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, नेपाल चेम्वर अफ कमर्श प्रदेश नं. १ का उपाध्यक्ष सन्तोष अग्रवाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्रेष्ठले वित्तिय विवरणसहित प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थामा फागुन २१ गतेसम्म शेयर सदस्य छ हजार दुई सय ३५ जना, शेयर पूँजी सात करोड १५ लाख, निक्षेप ४३ करोड ५० लाख, ऋण लगानी ५४ करोड, कोष सात करोड पाँच लाख, वासलात ८० करोड, नाफा ४३ लाख ५० हजार रुपैयाँ , सेवाकेन्द्र छ वटा, सहकारी पसल चार वटा रहेको प्रतिवेदनमा उल्लेख छ ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी लेखा तथा आईटी प्रमुख उज्ज्वल प्रधान , उत्कृष्ट सेवाकेन्द्र हल्दीवारी र कार्यालय प्रमुख शारदा न्यौपाने, उत्कृष्ट बजार प्रतिनिधी स्वेता भुजेल बिर्तामोड, र उत्कृष्ट कर्मचारी सहकारी पसलकी फ्लोर इञ्चार्ज उर्मिला भुजेललाई सम्मान गरिएको थियो ।
त्यस्तै उत्कृष्ट बचतकर्ताका रुपमा आस्मा वेगम, अशोक अधिकारी, सुचित्रा मण्डल, मिमि शाक्य, मुना भुजेल , लिलादेवी गामी र उत्कृष्ट ऋणीका रुपमा गणेश साह कसेरा, रञ्जु गुप्ता श्रेष्ठ, सत्यकला राई , मनकुमारी थाम्सुहाङ, किलोसिंह राजवंशी, रविन्द्र राजवंशीलाई सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा विगत वर्षमा जस्तै डोनेशन बक्समा जम्मा भएको रकममा संस्थाबाट थपगरी १० हजार रुपैयाँ बिर्तामोडमा रहेको परोपकार तथा अनुसन्धान केन्द्रद्वारा सञ्चालित वृद्धाश्रमलाई प्रदान गरिएको थियो । उक्त रकम वृद्धाश्रमका उपाध्यक्ष सूर्यनारायण गणेशले ग्रहण गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक सन्तोषकुमार श्रेष्ठले गरेका थिए ।