अलैंची व्यवसायी महासंघको अध्यक्षमा ३ जानाले गरे उमेद्वारी घोषणा, महासचिवमा भट्टराई सर्वसहमत !

0
58

झापा । नेपाल अलैंची व्यवसायी महासंघको छैटौँ साधारणसभा तथा तेस्रो महाधिवेशन यही चैत ९ र १० गते धनकुटाको हिलेमा आयोजना गरिने भएको छ । महाधिवेशनमा केन्द्र तथा जिल्लाका २०० जनाभन्दा बढी अलैंची व्यवसायीहरुको सहभागिता रहने आइतवार बिर्तामोडमा आयाजित पत्रकार सम्मेलनमा दिइएको जानकारी दिइयो ।

महाधिवेशनमा अलैंचीको खेती विस्तारका लागि आवश्यक विरुवा, प्राविधिक सहयोग आदिका विषयमा राज्यको ध्यानाकर्षण गराउँदै विश्व बजारमा नेपाली अलैंचीको सहज पहुँचलाई व्यवस्थित गराउने लगायतका विषयमा छलफल गरिने अध्यक्ष निर्मल भट्टराईले बताए ।

अध्यक्ष भट्टराईले केही वर्षयता अलैंचीको मूल्यमा आएको निरन्तर र ठूलो अंक गिरावटले व्यवसायी तथा कृषक मर्माहत भएको जनाउँदै निर्यात प्रवद्र्धनका लागि सरकारी पहल आवश्यक र अनिवार्य भएको प्रष्ट पारेका छन् । नेपाली अलैंचीको ठूलो हिस्सा निर्यात हुने भारत र भुटानमा प्रशस्त अलैंची उत्पादन हुन थालेकोले यहाँको उत्पादनले ती देशमा बजार पाउन नसकेको महासंघको ठहर छ ।

नेपाली अलैंची निर्यातमा भारतकै बजारमा मात्र भर पर्नु परेको कारण समुचित मूल्य पाउन नसकेको बताउँदै अध्यक्ष भट्टराईले तेस्रो देशका बजारमा नेपाली अलैंचीको माग रहे पनि सोझै ती बजारमा पुर्याउन नसकिइरहेको प्रष्ट पारे । सो कार्यका लागि सरकारले पहलकदमी लिई नेपाली अलैंचीको अन्तर्रा्ष्ट्रिय ट्रेडमार्क प्रक्रियालाई अघि बढाएर ट्रेडमार्कमार्फत विश्वका अन्य बजारमा पुर्याउन भूमिका खेलिदिन आग्रह गर्ने पनि जनाइएको छ ।

नेपालका किसानले गत वर्ष ५ हजार मेट्रिक टन अलैंची उत्पादन गरेकोमा मूल्य बढी पो हाल्छ कि भनेर ५० प्रतिशत हाराहारी अझै स्टकमा रहेको बताइएको छ । वर्तमान कार्यसमितिको कार्यकालमा अलैंचीको अन्तर्रा्ष्ट्रिय बजार खोज्ने, नेपाली अलैंचीको गुणस्तरीयता चखाउने सन्दर्भमा उल्लेखनीय काम गरेको अध्यक्षले दावी गरेका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघ २०६४ सालमा स्थापना भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत सदस्यता प्राप्त गरेको सो संस्थाको महासंघमा केन्द्र र जिल्ला तहमा गरी १५०० सदस्य आवद्ध छन् । हालसम्म महासंघका अलैंची उत्पादन र कारोबार हुने १५ वटा जिल्लामा शाखा समिति गठन भएका छन् ।

नेपाल अलैंची व्यवसायी महासंघले अलैंचीको उत्पादन, गुणस्तर र बजारीकरणको क्षेत्रमा आफ्ना गतिविधि संचालन गर्दै आएको पत्रकार सम्मेलनमा बताइएको छ । झापाको बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको महासंघ देशभरिका वस्तुगत संघमध्ये गतवर्ष नेपाल उद्योग वाणिज्य महासंघको मूल्याकंनका आधारमा प्रधानमन्त्रीबाट पुरस्कृत भएको संस्था हो ।
यसैबीच, महासंघको नयाँ नेतृत्वका लागि व्यवसायी र किसानहरु आन्तरिक कसरतमा जुटेको पाइएको छ ।

एक साता पछिका लागि निधारित महाधिवेशनको मिति नजिकिँदै जाँदा अध्यक्षमा तीन जनाले उमेद्वारी घोषणा गरेका छन् । अध्यक्षको लागि ओमकृष्ण बिमली, राजकुमार कार्की र दिनेश मित्तल पत्रकार सम्मेलनमै उमेद्वारी घोषणा गरेका छन् । अध्यक्षसहितका दुई दर्जन पदका लागि हुने निर्वाचनका हुने छ । महासचिव पदमा सुवास भट्टराई सर्वसहमत हनसक्ने व्यवसायीहरुले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्