झापा–११ यसपटक पनि अनलक्की !

0
2

झापा । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

सोमबार अबेर सम्पन्न फाइनल भिडन्तमा आयोजक झापा–११ लाई उसकै घरेलु मैदानमा हराउँदै आर्मीले उपाधि चुमेको हो ।

जितसँगै आर्मीले नगद १२ लाख ५१ हजार रुपैयाँ हात पारेको छ ।

उपविजेतामा सीमित आयोजक झापा–११ ले ६ लाख रुपैयाँमा चित्त बुझायो ।

आर्मीले सडेन डेथमा झापालाई ८–७ गोलअन्तरले हराउँदै उपाधि कब्जा ग¥यो ।निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो ।

थप गरिएको समयमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा दुबै टोलीबाट ३–३ गोल भएपछि सडेन डेथबाट खेलको निर्णय लिइएको हो ।

टाइब्रेकरमा आर्मीका नवयुग श्रेष्ठ, दिपक गुरुङ र गोलरक्षक विकेश कुथुले गोल गरे ।

जितेन्द्र कार्कीको प्रहार बाहिरियो, सन्तोष तामाङको प्रहार झापाका गोलरक्षक किशोर गिरीले विफल पारे ।

टाइब्रेकरमा झापाका भुषण सुब्बा, कप्तान योगेश गुरुङ र देवेन्द्र तामाङले गोल गरे ।

कर्ण लिम्बूको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए भने सुमिन मैनालीको प्रहार बाहिरियो ।

सडेन डेथमा आर्मीका दिप लामा, विकाश तामाङ, कप्तान भरत खवास, सुमन अर्याल र टंक बस्नेतले गोल गरे । झा

पाका विश्वास श्रेष्ठ, पुजन उपरकोटी, विकास बुढाथोकी र दिलेन लोक्तामले जाली चुमाए ।

गोलरक्षक किशोर गिरीको प्रहार गोलमा परिणत हुन नसकेपछि झापा तेस्रो पटक पनि उपविजेता बनेको हो ।

खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । दोस्रो हाफको तेस्रो मिनेटमा झापाले गोलको खाता खोल्यो ।

खमिर गिल्सन कन्दङ्वाले डि–बक्स बाहिरबाट मिलाइदिएको पासलाई सदुपयोग गर्दै कर्ण लिम्बूले गोल गरे ।

दोस्रो हाफको ३३औँ मिनेटमा आर्मीका भरत खवासले शानदार हेडिङ गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा १० हजारभन्दा बढी घरेलु दर्शकको समर्थन पाएको आयोजक टोली झापा–११ झापा गोल्डकपमा उपविजेता बनेको यो तेस्रो पटक हो ।

यसअघिका दुईवटै संस्करणमा फाइनलसम्म पुगेर झापा उपविजेता बनेको इतिहास छ ।

आर्मीले भने झापा गोल्डकपको उपाधि चुमेको यो दोस्रो पटक हो ।

यसअघि २०७२ मा आयोजित पहिलो संस्करणको झापा गोल्डकपमा पनि झापालाई नै हराउँदै आर्मी विजेता बनेको थियो । यस सिजनमा ६ वटा उपाधि उचालिसकेको विभागीय टोली आर्मीले जितेको यो सातौँ उपाधि हो ।

आर्मीले यसअघि विरगञ्ज, झिलझिले, काँकडभिट्टा, खप्तड, सिमरा र हेटौँडा गोल्डकपको उपाधि जितिसकेको छ । आर्मीले एकै सिजनमा यति धेरै उपाधि जितेको यो नै पहिलो पटक हो ।

झापा–११ भने यस सिजनमा उपाधिविहीन छ । आफैँले आयोजना गरेको प्रतियोगिता जितेर उपाधिको खाता खोल्ने प्रयासमा रहेको झापा यसपटक पनि अनलक्की सावित भयो ।

फाइनल भिडन्त निकै प्रतिष्पर्धात्मक रह्यो ।

खेलको पहिलो मिनेटबाटै आक्रमण सुरु गरेको झापाको आधा दर्जन प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले बचाए । दोस्रो हाफमा झापाका गोलरक्षक किशोर गिरी पनि निकै व्यस्त बने ।

३९औँ मिनेटमा आर्मीका दिनेश हेन्जनको प्रहारले जाली चुमे पनि रेफ्रीले अफसाइडको इसारा गरेपछि घम्साघम्सी सुरु भयो ।

आर्मीका खेलाडी केही समय मैदानबाट बाहिरिए ।

त्यसपछि पुनः खेल सुचारु गराइए पनि दर्शकले आर्मीका कप्तान भरततर्फ जुत्ता फालेपछि झन्डै १० मिनेट खेल रोकियो । खेलका क्रममा झापा र आर्मीका खेलाडीबिच पटक पटक हात हालाहालसमेत भयो ।

तेस्रो संस्करणको झापा गोल्डकपमा झापाका मिडफिल्डर योगेश गुरुङ मष्ट भ्यालुएबल प्लेयर बनेका छन् ।

उनले यामाहा कम्पनीको एउटा मोटरसाइकल प्राप्त गरे ।

त्यस्तै प्रतियोगिताका उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उत्कृष्ट मिडफिल्डर आर्मीका सन्तोष तामाङ र उत्कृष्ट प्रशिक्षक आर्मीका चुनबहादुर थापा घोषित भए ।

उनीहरुले जनही ३१ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै झापाका स्ट्राइकर कर्ण लिम्बू सर्वाधिक गोलकर्ता बन्दै नगद ५१ हजार रुपैयाँ प्राप्त गरे ।

उनले प्रतियोगिताभर ३ गोल गरेका थिए । फाइनल खेलमा झापाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे । सो पुरस्कार ओली एण्ड एसोसिएट्सले उपलब्ध गराएको हो ।

प्रतियोगिताका प्रमुख अतिथि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले विजेतालाई नगद तथा ट्रफी प्रदान गरेका थिए ।

प्रतिक्रिया व्यक्त गर्नुस्