यसरी बनिन् छ वनस्पतिबाट जैविक विषादी

0
2

इलाम । माईजोगमाई ६ प्याङका सुरज थेवेलाई टिम्बुर र सयपत्रीजस्ता वनस्पति खोज्न भ्याइनभ्याई छ ।

यही गाउँका गुरुराज खतिवडा पनि हात्तीबार र सिमलीको खोजीमा खोला र भीरपाखा चहार्न निस्कने गरेका छन् ।

यस्तो विषादी बनाउन कम खर्च लाग्ने र प्रयोगबाट कुनै पनि हानि नहुने चेतना विस्तार गर्न विज्ञहरू गाउँगाउँ पुग्ने गरेका छन् ।

पछिल्लो समय नसर्ने रोगको मुख्य कारणका रूपमा पनि घातक विषादीको प्रयोग भएको भन्ने तथ्य बाहिर आएपछि कृषक स्तरबाट पनि वैकल्पिक विषादीको खोजी भइरहेको हो ।

मानव स्वास्थ्यमा गम्भीर असर र्पुयाउने पुष्टि भए पनि घातक विषादीको प्रयोग अझै घटेको छैन । जिल्लाका चिया कृषकदेखि सागसब्जी कृषकसम्मले यस्ता विषादीको प्रयोग जानी नजानी गर्दै आएका छन् ।

रासायनिक मल र विषादीको प्रयोगले यहाँको उर्वर माटो मात्र नभएर प्रयोग र उपभोग गर्ने दुवैलाई गम्भीर समस्या देखिएको जिल्लास्तरमा गरिएका विभिन्न अध्ययनले पनि देखाएको छ ।

यसको विकल्पमा जिल्लाका कतिपय कृषक वानस्पतिक विषादीको प्रयोगमा लाग्न थालेका छन् ।

‘स्थानीय स्तरमा नै विषादीलाई आवश्यक पर्ने सवै वनस्पति भेटिने भएकाले कृषकको मोह बढदो छ,’ माइजोगमाई ६ का सुरजले भने, ‘यतिन्जेल यस्तो विषादी बनाउने तरिकानै थाहा नभएकाले महत्त्वपूर्ण वनस्पतिको पनि विनाश गरिरहेका छौं ।’

नामसालिङ सामुदायिक केन्द्रले अनुसन्धानपछि प्रयोगमा ल्याएको यस्तो विषादीले अलैंचीलगायत चिया, अन्नबाली र सागसब्जीका समस्याहरू हटाउन सफल देखिएको छ ।

नासाविके नामकरण गरिएको यो विषादीको उचित प्रचार र प्रयोग गराउन नसक्दा कृषकले अन्य विषादी प्रयोग गर्दै आएका थिए ।

सयपत्री, टिम्बुर, असुरो, हात्तीवार, सिमली, लसुन, अकबरे खुर्सानी, पाती, सूर्ती, बकाइनो, गोदावारी फूल, बोझो, सिस्नुलगायतका वनस्पतिको मिश्रणबाट यो विषादी बनाइन्छ ।

‘यी सबै वनस्पतिलाई टुक्रयाएर एउटा ड्रममा खान्दुपर्छ,’ नासाविके विषादी अनुसन्धानमा सक्रिय महेन्द्ररत्न बहुमुखी क्याम्पसका सहायक प्रमुख योगेन्द्रमान श्रेष्ठले भने, ‘एक महिनासम्म हावा नछिर्ने गरी राखेपछि तयार भएको विषादी जति नै पुनस् गहुँत फिट्नुपर्छ ।

एक महिना लगाएर तयार भएको विषादीलाई एक भागमा २० भाग पानी हालेर प्रयोग गर्नुपर्छ ।’

यसले ढुसिलगायत विभिन्न रोग किराबाट सहज बच्न सकिने उनको भनाइ छ । यसरी तयार भएको विषादीलाई छ महिनासम्म प्रयोग गर्न सकिने विज्ञहरूको भनाइ छ ।

यस्तो विषादीले सत्रुजीवलाई नोक्सान र्पुयाउने र मित्रु जीवलाई फाइदा पुग्ने भएकाले उत्पादनमा राम्रो सुधार ल्याउने देउमाई नगरपालिकाका कृषि प्रसार अधिकृत रविकिरण अधिकारीले वताए ।

उन्नति समावेशी वृद्धि कार्यक्रमले कृषकस्तरमा अलंैची र अदुवा खेती सुधार्न पाठशाला सञ्चालन गरेपछि यस्तो विषादी निर्माणमा कृषक लागेका हुन् ।

अलैंचीमा देखिने छिर्के, फुर्के, जुरजुरेजस्ता रोगले बगान नै सखाप हुन थालेकोले कृषक निराश बन्दै गएको अवस्थामा यस्तो विषादीले फाइदा पुग्ने अधिकांशको विश्वास छ ।

जिल्लाभर सञ्चालित यो कार्यक्रमअन्तर्गत अधिकांश कृषकले विषादी निर्माणालाई जोड दिएका हुन् ।

यस्तो विषादी सवै प्रकारको बालीमा प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्