झापामा यसरी बन्दैछ पर्यटकीय सडक

0
2

झापा ।  जंगली हात्ती नियन्त्रण गर्ने मुख्य उद्देश्यसहित हल्दिबारी गाउँपालिकाबाट सुरु गरिएको पर्यटकीय सडक निर्माण कार्र्यलाई कचनकवल गाउँपालिकाले पनि अघि बढाएको छ । गत साता हल्दिबारी गाउँपालिकाबाट सडक निर्माण कार्य थालिएको थियो ।

पर्यटकीय सडकसँगै हात्ती रोक्नका लागि जंगलतर्फ ६ फिट गहिरो नालासमेत निर्माण सुरु गरिएको छ । सडक निर्माण सम्पन्न भएपश्चात ६ हजार ३ सय हेक्टर क्षेत्रफल रहेको जलथल जंगलको वरिपरि सौर्य विद्युतीय तारबारसमेत निर्माण सुरु गर्ने बताइएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा हात्तीको उपद्रो रोक्न पर्यटकीय सडकले मद्दत गर्ने स्थानीयबासीको विश्वास छ ।

एक कार्यक्रमका बिच झापा क्षेत्र नम्बर–३ का सांसद् राजेन्द्र लिङ्देनले मंगलबार कचनकवल गाउँपालिका–७ स्थित बालुबाडीमा पर्यटकीय सडकको शिलान्यास गरे ।

कचनकवल गाउँपालिकामा मात्र १६ किलोमिटर लामो रहने यो सडक जलथल जंगलको वरिपरि कुल ५० किलोमिटरको हुनेछ । सडकले कचनकवल गाउँपालिकाको १, ३, ६ र ७ नम्बर वडालाई छुन्छ ।

हल्दिबारी गाउँपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र बाह्रदशी गाउँपालिकासम्म फैलिएको जलथल जंगलको वरिपरि रिङरोड बनाउने कार्यको थालनी सांसद् लिङ्देनकै पहलमा सुरु भएको हो ।

‘यो त सुरुवात मात्रै हो,’ शिलान्यास कार्यक्रममा सांसद् लिङ्देनले भने, ‘यो सडकले हात्ती नियन्त्रणको काम मात्र गर्दैन, यहाँका बासिन्दाको जीवन सम्वृद्धिको बाटो पनि तय गर्छ ।’

जंगल वरिपरि सौर्य विद्युतीय तारबारका लागि सरकारबाट ८ करोड रुपैयाँ बिनियोजन भइसकेकाले तारबारका लागि स्थानीय तहबाट छुट्टिएको रकम पनि सडक निर्माणमै खर्च गर्न उनले आग्रह गरे ।

‘अब यहीँ गरिखाने ठाउँको निर्माण हुन्छ,’ उनले भने, ‘अबको अढाई वर्षभित्र यस क्षेत्रमा कुनै पनि बाटो बनाउन बाँकी रहँदैन ।’ जैविक विविधताले भरिएको जलथल जंगलमा वन विज्ञहरु अध्ययनका लागि आउने वातावरण निर्माण गर्ने उनले बताए ।

पर्यटकीय सडक निर्माणका लागि कचनकवल गाउँपालिकाले २० लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

यसै कार्यका लागि हल्दिबारी गाउँपालिकाले २७ लाख रुपैयाँ रकम विनियोजन गरिसकेको छ । ‘वर्षौंदेखि हात्तीको आक्रमणमा परी सर्वसाधारणले ज्यान गुमाइरहेका छन्,’ कचनकवल गाउँपालिका अध्यक्ष आलमले भने, ‘अब विज्ञहरुसँग छलफल गरेर यस क्षेत्रको विकास अघि बढाइनेछ ।’

कचनकवलमा देवी लोहारको अध्यक्षतामा पर्यटकीय सडक निर्माण उपभोक्ता समिति गठन गरिएको छ । मंगलबार सांसद् लिङ्देनले शिलान्यास गरेलगत्तै उक्त समितिले सडक निर्माण कार्य अघि बढाएको छ ।

जंगल र मानव बसोबासका बिचमा बन्न सुरु गरेको पर्यटकीय सडक ५० फिट चौडाइको हुने बताइएको छ । जंगलको भूभाग २५ फिट र स्थानीयले भोगचलन गरिरहेको जग्गाको २५ फिट गरी ५० फिटको सडक बनाउन लागिएको समितिका अध्यक्ष लोहारले बताए ।

प्रतिक्रिया व्यक्त गर्नुस्