बन्दनाको नृत्य निरन्तरता

0
2

झापा । आफू पढ्ने विद्यालयमा आयोजना गरिएका कार्यक्रमहरुमा उनी नाच्थिन् र प्रायःमा प्रथम स्थान हासिल गरेर पुरस्कृत पनि हुन्थिन् ।

तर, पढाइलाई धेरै प्राथमिकता दिनुपर्ने सुझावका कारण बाहिरी कार्यक्रममा सहभागिता जनाउने उनले अवसर पाएकी थिइनन् ।

व्यक्तिमा अन्तरनिहित क्षमता र चाहनालाई कसले रोक्न छेक्न सक्ला र ! यस्तै भएको छ, बन्दना राजवंशी (२०) को जीवनमा पनि ।

कञ्चनजंघा अस्पताल बिर्तामोडमा लेखापाल पदमा कार्यरत् बन्दनाले गएको माघ २१ गते राजवंशी संस्कृति संरक्षण विकास मञ्च नेपालले आयोजना गरेको नृत्य प्रतियोगितामा भाग लिइन् र प्रथम स्थान हासिल गरिन् ।

भारतको मुम्बईस्थित साइमन फिल्म एण्ड इन्टरटेन्मेन्टको प्राविधिक सहयोगमा सम्पन्न सो प्रतियोगितामा झापा र मोरङका १३ जना प्रतियोगीबीचको प्रतिष्पर्धामा उनी अब्बल भइन् ।

झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ५ फूलबारीमा घर भएकी बन्दना बिर्तामोडको इन्द्रेणी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत छिन् ।

विराटनगरको कर्सियामा सम्पन्न ‘नाच डान्स एण्ड सिङ्गिङ कम्पिटिसन’बाट प्रथम भएपछि बन्दनाले पुरस्कारस्वरुप आउँदो बैशाखमा भारतको मुम्बईमा १५ दिनको नृत्य प्रशिक्षणमा भाग लिने अवसर पाएकी हुन् ।

गएको वर्ष गौरीगञ्जमा आयोजित नृत्य प्रतियोगितामा सहभागी भएपछि सबैले मन पराएर नाच्न प्रेरित गरेका कारण आफू नृत्यमा फर्किएको उनी बताउँछिन् ।

आज उनको दिनचर्या पनि फेरिएको छ ।

बिहान–बिहान दमक डान्स सेन्टरमा गएर नृत्य अभ्यास गरिरहेकी छन् । शैक्षिक योग्यताको प्रमाणपत्र नभए कहीँकतै राम्रो अवसर नै ‘ग्राब’ गर्न पनि नपाइने भएकाले उनको मूल ध्येय स्नातक पूरा गर्नु पनि छ ।

भविष्यमा राम्रो नृत्य पाठशाला खोल्ने र नृत्य प्रशिक्षक बन्दै सम्बन्धित क्षेत्रमा आउने अवसरहरुलाई ग्राब गर्ने बन्दनाको चाहना छ ।

भन्छिन्, ‘म चाहन्छु बन्दनाको नाम होस्, इज्जत र प्रतिष्ठा बढोस् अनि सँगसँगै जीवन चलाउन पुग्ने दाम पनि कमाइयोस् ।’ बस् यत्ति भए पुग्छ तर त्यसका लागि मैले नृत्य पाठशालालाई नै रोज्नेछु ।

प्रतिक्रिया व्यक्त गर्नुस्