बालविवाह र महिला हिंसाविरुद्ध नाटक

0
5

धरान । बालविवाह र महिला हिंसाविरुद्ध थारू र मैथिली भाषाका स्थानीय हास्य कलाकारहरू गाउँगाउँमा सडक नाटक मञ्चनमा व्यस्त हुन थालेका छन् ।

सुनसरीको इनरुवास्थित पपुलर एफएममा कार्यक्रम गरेर चर्चा कमाएका हास्य कलाकारहरू कुलदीप चौधरी र जानकी चौधरीका टिम सडक नाटकमा व्यस्त बनेका हुन् ।

पपुलर एफएमको ‘बरेलीबाली’ नाटकबाट चर्चा पाएपछि उनीहरूले इनरुवा आसपासका गाउँगाउँमा बालविवाह र महिला हिंसाविरुद्ध सडक नाटक मञ्चन गर्दै आएका छन् ।

स्कुल जाने उमेरमा शिक्षा र जनचेतनाको अभावमा गाउँमा बालविवाह र घरेलु हिंसा अत्यधिक हुने गरेकाले कुलदीप र जानकीको टिमले किशोर किशोरीकासाथै गाउका अभिभावकहरूलाई लक्षित गरी सडक नाटक प्रदर्शन गरेका हुन् ।

सडक नाटकको लेखन र निर्देशन समेत गर्दै आएका कुलदीप र जानकीले अभिनय पनि गरेर थारू र मैथिली भाषाको हास्यरसको माध्यमबाट समाज र परिवारमा हुने विकृति विसंगतिविरुद्ध जनचेतना फैलाउने काम गरिरहेका छन् । उनीहरूले रामधुनी नगरपालिकाको विभिन्न वडामा बालविवाह र महिला हिंसाविरुद्धको सडक नाटक प्रदर्शन गरेको जानकीले बताइन् ।

उनले भनिन्, ‘बालविवाह र महिला हिंसाविरुद्ध सडक नाटक हामीले नगरे कसै न कसैले गर्नै पथ्र्यो ।

जनचेतना फैलाउनु जरुरी पनि थियो । हामीले जानेसम्म गरेका छौं ।’

स्थानीय बासिन्दाले मैथीली र थारू भाषाबाट गरिएको संवाद बढी बुझ्ने भएकाले त्यसैलाई संवादको माध्यम बनाएको र प्रभावकारी पनि भएको कुलदीपले बताए ।

उनले थपे, ‘उनीहरूलाई रमाइलो महसुस गराउँदै समाजमा हुने बालविवाह र महिला हिंसाविरुद्ध जनचेतना दिने प्रयास गरेका छौं ।’

प्रतिक्रिया व्यक्त गर्नुस्