नाम मात्रैको कृषिथोक बजार

0
7

कृषि उत्पादन सबै भारतीय, बजारमा गैरकृषिजन्य उत्पादन प्रशस्तै

बिर्तामोड ।  कृषिथोक बजार भन्नेबित्तिकै कृषि उपजका वस्तुहरुको बिक्री वितरण हुने बजार भन्ने बुझिन्छ । तर, डेढ दशक अघिदेखि बिर्तामोडमा सञ्चालित पूर्वकै प्रमुख भनिएको कृषि उपज थोक बजारमा कृषि उपजका वस्तुभन्दा गैरकृषिजन्य सामाग्रीको पसल धेरै भेटिन्छन् ।

बजारमा कृषिका उत्पादन कम तथा जुत्ता–चप्पल, कपडा, भाँडाकुँडाका र किराना पसल बढी छन् । कृषिथोक बजारमा स्थानीय किसानले उत्पादन गरेका कृषिजन्य वस्तु पनि विरलै मात्र भेटिन्छ । अधिकांश फलफूल तथा तरकारी भारतबाटै आयात हुन्छ ।

आयात गरिएका ती कृषिजन्य उत्पादन विषादीले भरिएका हुन्छन् । कृषिथोक बजार आन्द्र प्रदेशको माछादेखि बंगालको आलु प्याजसम्मका पसलले भरिभराउ छ ।

कृषिथोक बजारमा दूग्धजन्य उत्पादन मात्रै नेपालको पाइन्छ । सागसब्जी, फलफूल, माछामासु लगायतका कृषि उत्पादन भारतबाटै आयात गरिन्छ ।

‘बन्दा, काउलीजस्ता तरकारी पनि नेपालको उत्पादनले नभ्याएर भारतबाटै आउँदैछ,’ कृषिउपज थोक बजार सञ्चालन समितिकी तथ्यांक सहायक मायादेवी राजवंशीले भनिन्, ‘आलु र प्याज त सबै भारतकै हो ।’

के–के आउँछ भारतबाट ?
तरकारी : आलु, प्याज, लशुन, करेला, गोलभेडा, गाँजर, बन्दा, काउली, ब्रोकाउली, मुला, भन्टा, मटरकोसा, घ्यु सिमी, टाटे सिमी, तिते करेला, लौका, फर्सी, च्याउ, इस्कुस, धनियाँ, बेथु साग, लाफा साग, मेथीको साग

फलफूल : स्याउ, अनार कागती, अंगुर, काँक्रा, बयर
मसला : अदुवा, लशुन, खुर्सानी, अलैँची, मरिच, जिरा
मासु : खसी, कुखुरा र माछा

कति आउँछ भारतीय उत्पादन ?
भारतबाट आयात गरिएका कृषिजन्य सामाग्री बितामोडको कृषि उपज थोक बजार हुँदै नेपालका विभिन्न बजारसम्म पुर्‍याइन्छ ।

‘यहाँ आयात गरिएको सागसब्जी नेपालभर जान्छ,’ तथ्यांक सहायक राजवंशीले भनिन्, ‘अहिले सिमी, गाँजर, आलु, प्याज, ब्रोकाउली, खुर्सानी र मटरकोसा काठमाडौँसम्म जाँदैछ ।’

गत साउनयता कृषि उपज थोक बजार बिर्तामोडमा कुल ३९ हजार २ सय १७ मेट्रिक टन कृषिजन्य उत्पादन भारतबाट आयात भएको छ ।

जसमध्ये ३३ हजार ९ सय ४५ मेट्रिक टन तरकारी रहेको उनले जानकारी दिइन् । राजवंशीका अनुसार साउनता फलफूल २ हजार ६ सय ३० मेट्रिक टन र मसला ८ सय ५८ मेट्रिक टन भारतबाट आयात भएको छ ।

१ हजार ७ सय ८४ मेट्रिक टन मासु पनि भारतबाटै आएको उनले बताइन् ।

‘७० प्रतिशत कृषिजन्य उत्पादन भारतबाटै आउँछ, यहाँको उत्पादन त मुस्किलले ३० प्रतिशत पुग्ने हो,’ उनले भनिन्, ‘हामी नेपालीले खेती गर्न छाडेका छौँ, मलबीउ पनि महँगो छ, समयमा मलबीउ पाइँदैन, यसले गर्दा हामी कृषिमा पछि पर्दैछौँ ।’

यस्तो आउँदैछ नियम
आउँदो महिनादेखि कृषिथोक बजारमा कृषिजन्य उत्पादन मात्र बिक्री वितरण गर्न पाउने नियम कडाइका साथ लागु गरिने राजवंशीले बताइन् ।

बजार विकास निर्देशनालयको निर्देशनअनुसार यसै महिनाको अन्तिमदेखि अन्य वस्तु बिक्री वितरण नगर्न सूचना जारी गरिएको उनको भनाइ छ ।

‘हामीले २९ गतेसम्मको भाका दिएका छौँ,’ उनले भनिन्, ‘उहाँहरुले हटाउनुभएन भने सम्झौता स्वत खारेज हुन्छ ।’ आफूहरुले पटक–पटक निरीक्षण गर्दा पनि व्यवसायीले अटेर गरेको उनी बताउँछिन् ।

हाल कृषि उपज थोक बजार सञ्चालन समितिको कार्यालयले व्यापारीहरुसँग सम्झौता गरेर नयाँ ठाउँ उपलब्ध गराउने, बजार मूल्य संकलन गरेर बजार विकास निर्देशनालयलाई पठाउने लगायतको काम गरिरहेको छ । बजारमा हाल ३ सय ६ जना व्यापारी छन् ।

कति हुन्छ कारोबार ?
कृषि उपज थोक बजार बिर्तामोडमा दैनिक ७ सय ३५ देखि १ हजार ५२ मेट्रिक टनसम्म कारोबार हुने गरेको तथ्यांक छ । आर्थिक वर्ष ०७३/०७४ मा मात्र ८ लाख ६३ हजार २ सय १२ मेट्रिक टन कृषिजन्य उत्पादनबाट ११ अर्व ९९ करोड ९३ लाख ९९ हजार ५ सय ६१ रुपैयाँ कारोबार भएको उनले जानकारी दिइन् ।

तरकारीमा विषादी बढी
कृषि उपज थोक बजार बिर्तामोडमा स्थापित विषादी मापन प्रयोगशालाका अनुसार भारतबाट आयात गरिएका अधिकांश तरकारी र फलफूलमा विषादी बढी पाइएको छ ।

‘हामीले २ सयभन्दा बढी स्याम्पल परीक्षण गरिसक्यौँ, केही चाहिँ खानै नमिल्ने पछि छन्,’ जिल्ला कृषि विकास कार्यालयकी प्राविधिक सहायक अञ्जु आचार्यले भनिन्, ‘हाम्रो शरीरमा कोलिन स्टोरेज भन्ने इन्जाइम हुन्छ, तरकारीमा भएको विषादीले त्यो इन्जाइमलाई कति ड्यामेज गर्छ भन्ने प्रतिशत हामी निकाल्छौँ ।’

उनका अनुसार परीक्षण गर्दा ३४ प्रतिशतसम्म नतिजा देखा परे उक्त सागसब्जी खान मिल्छ । ३५ देखि ४५ सम्म आएमा केही दिन क्वारेन्टाइनमा राख्नुपर्ने र ४६ भन्दा माथि आएमा खानै नमिल्ने उनले बताइन् ।

‘अहिलेसम्मको परीक्षणमा एउटामा ५२ प्रतिशतसम्म आयो,’ आचार्यले भनिन् ।

नगरपालिकाको चासो
कृषिथोक बजारका विषयमा बिर्तामोड नगरपालिकाले पनि चासो देखाउन सुरु गरेको छ । बिर्तामोड नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले स्थानीय तहको निर्वाचनका बेला नगरलाई विषादीमुक्त बनाउने घोषणापत्र नै सार्वजनिक गरेका थिए ।

‘बजारलाई सुधार गर्नका लागि हामी केही ठोस योजना बनाउँदैछाँै,’ मेयर शिवाकोटीले भने, ‘कृषि विभागका महानिर्देशकसँग पनि मैले कुरा गरिसकेको छु, उहाँ सकारात्मक हुनुहुन्छ, बजारलाई राम्रो र व्यवस्थित बनाउने हाम्रो योजना छ ।’

प्रतिक्रिया व्यक्त गर्नुस्