सायोनाराः मेरी गुुमनाम बहिनी (कथा)

0
7
     कटाँमरी मीरा

बिहानदेखिको झरीले जनवरीको जाडो झन कठयांग्रिदै छ । आज आईतबार बल्ल हप्तादिनको फुर्सद । ८ बजिसकेको छ । तर, आलश्यले उठ्न दिँदैन ।

अनिदोमा झ्यालबाट हेरेँ, सडक सुनसान छ । एकाध गाडी हुइँकिएको देख्छु, साईकलका यात्री छैनन् सडकमा ।
पक्कै आज पानी परेको कारण हप्ते विदाको कार्यक्रम घरतिरै मनाउने भएछन् निहोन्जीन (जापानी)हरु, मनमनै गमेँ ।

हिसाइ मिएकेनको सानो सहर । सम्भवत जापानको प्रमुख औद्योगिक सहरमध्ये एक सानो सहर । जहाँ हजारौँ गाईजीन (जापानीको भाषामा विदेशी)हरु लाखौँ सपना बोकेर खाईसामा (कारखाना) दिनरात पसिना बगाउँछन् ।

आफनो देशमा अधुरिएका सपनाहरु पूरा गर्न आउने आशावादीको कर्मथलो– जापान । तर, सपना पूरा गर्ने लक्ष्य पैसा र स्वतन्त्रतताको दुरुपयोगका कारण धर्मरिएका दुःखद घटना पनि थुप्रै छन्, जापानमा । सोच र लक्ष्यप्रतिको अडान नै त हो जीवनको सार । कोही कमाउँछन्, कोही भएका सारा गुमाउँछन् । त्यस्तै त्यस्तै कथा र व्यथाको जमातले रुमल्लिएको देश हो जापान ।

‘हत्तेरी के सेन्टी भइ’रा होला म पनि,’ आफ्नो भावुकता प्रति दिक्क लाग्यो । शायद झ्यालबाट छिरेको सिरेटोको झट्काले सिरिंग पारेको हुनुपर्छ । म झस्किएँ । र, सिरक तानेर मुख छोपेँ । आफ्नै श्वासको बाफले उकुस मुकुस भयो । फेरि श्वास फेर्न सिरकबाट टाउको के निकालेँ, मञ्जिता ङिच्च पार्दै मेरो कोठा भित्र छिरी ।

‘दिदी ओहायो कति सुत्नुभा ? आज भेना आउने होईन र ?,’ एकै सासमा लामो प्रश्न गरी ।

‘अँ.. हो,’ मैले छोटो उत्तर दिँदै भनेँ । किनकिन मलाई उसले भेना भनेको मन कहिल्यै परेन । लाग्छ दाइ भनिदेओस् । तर, आफनो मन कहिल्यै खोलिनँ । किनकी दाइ शब्दको मर्म बुझ्नेको जमात कम छ यहाँ । दाइहरुमा र बहिनीहरुमा पनि ।

‘ऋोच्या खाने ?’ भन्दै म उठेँ, उनले स्वीकृतिमा टाउको हल्लाई । केतलीमा पानी बसाएँ । पानी उम्लेको गुररर आवाजसँगै मोबाईलको घण्टी बज्यो ।

‘जानु आज म नआउने है, आज ताईफु आउँदै छ रे, जे आर र केन्टेच्यु दुबै लाईन बन्द रे, डन्ट वरी डियर, भोलि साँझ बस्ने गरी आउछु,’ लगत्तै फोन पनि काटियो मन खंग्रंग भो ।

हप्तामा बल्ल एक दिन भेट हुने मौका त्यो पनि ताईफुले उडायो । मेरो मलिन अनुहार पढदै मञ्जिताले भनिन्, ‘ह्या दी… भेना भोलि आइहाल्छन् नि, हिहि.. अनि त….’ मलाई उसले छिल्लिएको मन परेन ।

उनको छिल्याईलाई खासै महत्व नदिँदै भनेँ, ‘ट्रेन स्टेशन बन्द रे । अब तिमी कसरी निसियो पुग्छौ ?’ केश लाई झटका मार्दै जवाफ दिई, ‘ह्या…. बाल दिदी, बिहानै स्काईपमा कुरा भइसक्यो, उ नागोयाबाट साथीको कारमा आउँछ रे मलाई लिन, के गर्ने यहाँ साँचोले दिँदैन बस्न, तपाईको पो लोग्ने त, ब्वाइफ्रेण्डलाई त नदिने रे ।’

‘आज नगए हुन्न र ?’ मलाई एक्लो महसुस भइराको थियो, मैले रोक्न खोज्दै भने ।

‘ह्या दि नि कति सेन्टी भाको ?’ म भोलि आइहाल्छु नि, अनि भेना नि आई हाल्छ । आई प्रोमिस, ह्वेन आई विल रिटर्न, आई वील प्रेजेण्ट व्रिंग अ म्याक डोनाल्डा फर यु माई डिएर सिस्,’ ऊ चम्किँदै बोलि ।

मन लाग्थ्यो– ऊ नगइदिए हुन्थ्यो । मैले माथिदेखि तलसम्म हेरेँ उसलाई । भर्खरै मात्र बीस वर्षकी, मभन्दा १० वर्ष सानी । मंगोलियन अनुहारकी, सर्लक्क परेको जिउडाल, खाइलाग्दो छ । किशोरावस्थाको संघारमा पुगेकी, जीवनमा मिठा सपना बोकेकी होली, हप्ताभर खाईसामा दुःख गर्छिन्, कमाई खासै छैन, फेरि पनि नेपालमा जिम्मेवारी छ, नेपालमा थुप्रै ।

घरखर्च, ऋणका लागि पैसा, त्यसमाथि भाइबहिनीको बढ्दो माग । प्रत्येक कहिले लुगा कहिले निन्तेदो, कहिले ल्यापटप यस्तै यस्तै । कहिले दिक्क मान्छिन्, कहिले प्रफुल्ल हुँदै भन्छिन्, ‘दि आमालाई यी स्वेटर, राम्रो छ हगी ? आ.. सेलमा किनेको नि, गो ह्याकु येन प¥यो, सुगोई ना ?

‘हाई’ म उसलाई खुसी पार्न जवाफ दिन्छु । यस्तै सुख, दुःखमा बिकेको छ मञ्जिताको यौवन । अनि हप्ताभरको अथक परिश्रम र तनावपश्चात बल्ल एक अंगालोमा समाहित हुने उसको ईच्छालाई किन रोकुन् उनले ।

त्यसै पनि जापान यौनका लागि खुल्ला देश । त्यसमाथि विदेशीका गतिविधिमाथि नजर लगाउने समाज छैन । दाल भातसरी आधारभुत आवश्यकता हो यौन, जापानीहरुको लागि । सहरका मुख्य गौँडाहरुमा रहेका लव होटलहरुले खुला यौन बजारको संकेत गर्छ ।

आफनो यौनेच्छा पूरा गर्न जापानीहरु स्वतन्त्र छन्, कसैलाई पनि लव होटल जान धक लाग्दैन, अनि यौन बजारमा गएकै कारण यहाँ कसैले लज्जित हुनुपर्दैन, नत पुलिसले रेड हान्ने डर ।

अचम्म लाग्दो छ यहाँको संस्कार र सामाजिक परिवेश । शायद त्यसैले पनि होला यहाँ महिलामाथि कार्यालय वा सार्वजनिक स्थलमा यौन हिंसा गर्ने संस्कार छैन । आफूलाई कोही मन प¥यो भने निर्धक्क प्रस्ताव राख्छन्, नो भन्यो भने कथा सक्यो ।

‘पिंपिंप’ ….मोटरको हर्नले फेरि झसंग बनायो मलाई । मन नलागे पनि झ्याल बाट चिहाएँ । मञ्जिताको ब्वाई फ्रेण्ड मोटरको झ्यालबाट हात निकाल्दै करायो, ‘हायाकु हायाकु…..मञ्जि डार्लिङ, आनाता ओसोई’ …..

‘चत्तोमाते चत्तोमाते’ भन्दै मञ्जिता दगुरिन् । हतारमै भए पनि फुल मेकअप पनि गर्न भ्याईन् पनि । हातमा अलि ठूलो र एउटा सानो ब्याग भिरेकी, क्वार्टर पेण्ट, लगभग नाईटो देखिने गुलाफि रंगको टिर्सट, त्यस्माथि लङ ओभरकोट तर, टाँक खुलै । शायद जवानीको गर्मीले होला जाडो नलागेको ।

हातमा ब्रासलेट, कानमा झुम्किले उनको अनुहार र व्यक्तित्व निकै आर्कषक बनाएको छ । फरर कपाल उडाउँदै उनी गाडीभित्र छिरिन् । गाडी हुँईकियो एउटा अनिश्चित गन्तव्यतिर, भोलि बेलुकासम्मको लागि ।

मन कता कता फेरि उराठियो । यसो हेरेँ, टेवलको ओच्या चिसिएछ, मेरो मन जस्तै । विस्तारै फोन उठाएँ र नेपालमा नानीहरुलाई फोन मिलाएँ । फोनको घण्टी बज्यो । उता बाट बाबाको आवाज गुञ्जियो ।

बाबा नानीहरु कता छन् ? कठै आमाको मन…..

बाबाको हाल खबर नै नसोधी नानीहरुलाई पो खोजेछु हैट …..।

सम्हालिदै सोधेँ, बाबा हजुरलाई कस्तो छ ?

‘शुक्रबार होस्टेलबाट ल्याएको १५ दिनको जाडोको छुट्टी छ ., ल आए उनीहरु’ भन्दै फोन छोरीलाई दिनुभो । मम्मी मम्मी…… ह्वाई डिड यु सेण्ड सो मेनी चकलेटस् ? डोण्ट सेण्ड अस सो मेनी चकलेटस् स्पेण्डिगं लट अफ मनी, जस्ट यु कम ब्याक सेभिङ मनी…”….

बालसुलभ मनोविज्ञानभन्दा निकै परिपक्व सुझाव एकै सासमा पस्किइन् मेरी सानी छोरीले । मन धक्क फुल्यो । आँखा किन हो पग्लिएर बगे ।

छोराको पालो आयो । ‘मम्मी, जे कामका लागि जानु भाको हो त्यो सकेर मात्र आउनुस मम्, म छु नि यहाँ म नानुलाई केयर गर्छु मम्’…. अझै भक्कानियो मन् बग्दै गरेको आँसु पुछ््रदै भनेँ, ‘राम्रोसँग पढ्नु, केही कुराको चिन्ता नलिनु यस्तै यस्तै बात मारियो छोरासँग लगभग एक घण्टा ।

नेपालको निकै माया लाग्दो रै’छ परदेशी भूमीमा । कान्साई विमानस्थलमा अवतरण हुँदा जापानमा भर्खर्रै साकुराका बोटहरु क्रमस पालुंगिदै थियो । सफा सुन्दर तर, विरानो देश जापान मेरो लागि खासै रौनक बन्न सकेन कहिल्यै ।

मैले त्यहींबाट महशुस गर्न सिकें राष्ट्रियता र राष्ट्रिप्रतिको माया के हो । परदेशी भुमिमा पहिचान विनाको दर्जा विहिन नागरीककोे हैसियतमा बाँच्नु पर्दा महसुस हुंदो रैछ यी सव यथार्थ । मन धक्क फुल्छ र अनायास नयन भरिन्छन् जव स्देशको सम्झना मनस पटलमा गहिरिएर आउंछ ।

धेरै कुरा देखें सिकें । वास्तवमा देशको उन्नती नागरीकको त्याग कर्तव्य र समपर्णमा दरिएको हुंदो रैछ । नत राष्ट्रवाद कुनै एक पहिरणमा परिभाषित र समाहित हुने गर्छ । हाम्रा अग्रज नेतृत्वले हामीलाई हामाी हामी बीच उंच नीच र धनी गरीबका दर्जा दर्जा र पुर्जा पुर्जामा विभाजित गरि दियो ।

कालान्तरमा सोही दर्जावालहरुको असन्तुष्टीहरु जुर्मरायो र हामी अधिकार खोज्न तिर लाग्यौं समपर्ण होईन । हेर्छु जापानीहरु अधिकार होईन कर्तव्य तिर सर्मपित र केन्द्रत छन् । राजनितिमा विल्कुलै चासो छैन आम जनतालाई । संसदमा के बहस भई रहेछ , आगामी चुनावमा कोको उठ्दै छन् विल्कुलै मतलव छैन ।

वस दिनभर खाईसामा काम ग¥यो, सुपर मार्केट गयो, मार्केटिंग ग¥यो, घर गयो अवुरो बस्यो, खाना खायो टिभी हे¥यो सुत्यो । ज्यादा से ज्यादा भए पाचिंको सम्म जान्छन् जुवा खेल्न जापानीहरु ।

नेपालको दश वर्षे द्वन्द्वले धेरै कुरा गुमायो र धेरै कुरा पायो पनि । यो पाउने र गुमाउनेको वीचमा कताकता नेपालको सामाजिक आर्थिक लगायत थुप्रै थुप्रै क्षेत्रलाई थिल्थिलो बनायो । आन्तरिक द्धन्दका विस्थापित भएका र बनाईएका आम नेपालीका कथाहरु कता कता ओझेलीमा परे परे कालान्तरमा ।

राज्य द्धन्द चकार्उन र द्धन्द सम्याउननमै केन्द्रित बन्यो । यस द्धन्दले कति युवाहरु विस्थापित भए, कतिका घर वार धरापमा परे त्यसको आंकलन र चिन्ता गर्ने फुर्सद भएन राज्य सरकारलाई । द्धन्दको मार बाट भाग्ने कोसिसमा मञ्जिता जस्ता हजारौं किसोरी हरु अलपत्र परे परदेशी भुमिमा ।

कल्कलाउंदो र लाउं लाउं खाउं खांउं लाग्ने उमेरका मञ्जिताहरु पराई भुमिमा श्रम र यौन शोसनको मारमा परे । आमाको काख र बाबाको शुरक्षा भन्दा पर कति मञ्जिताहरुका अस्मिता लुिटए, अनि कति मञ्जिताहरु संग लहसिएकै कारण स्वदेशी भुमिमा लोग्नेको प्रतिक्षामा अनेकन कष्ट सहंदै नानीहरुलाई सम्हाल्दै घर व्यबार धानी रहेकी श्रीमतीहरुले अनाहकमा श्रीमानहरुको खप्की र शंकाको दायरमा अधमरो बनेर बाच्नु परे, त्यसको लगत छैन राज्यसंग ।

नेपालमा फरक पृष्ठ भुमीका दुःख व्यहोरेर आएका नेपाली हरु छन् यहां । काम गर्ने जांगर छ । निकै मेहनती इमान्दार छन् नेपालीहरु । काम दिनको कम्तिमा १२ घण्टा । लालाबला र परिवारको प्रेम बाट टाढा छन् उनीहरु ।

त्यसैले यदाकदा मञ्जिताहरु संग उधारो माया गर्ने गर्छन् उनीहरु । उसो त श्रमको सम्मान गर्ने जापानीहरु निकै श्रद्धा गर्छन विदेशी हरुलाई तर फेरी पनि गाईजिन ् (विदेशी) हुन भन्ने भावना उनीहरुको रगतमा जमेर बसेको छ ।

यदाकदा काम विग्रंदा ‘ओमायो बाका’ शब्द प्रयोग गरी गाली गर्दा नेपालीहरुको मन दुख्ने गर्छ । तर विवसता छ । थुप्रो रीन पान गरेर दुःख बेसाउन आएकाब नेपालीहरुको कथा कहिले काहीं म सुन्ने गर्छु । केही फरक छैन , सवैको उस्ता उस्तै छ कथा ।

सोच्दा सोच्दै रात परेछ । कति बेला निदाईछु पत्तै भएन ।

कामको चाप आज निकै बढेछ । त्यसमाथि मञ्जिता आज काममा नआउनाले मेरो भागमा अझै काम डवलिएछ । भोली अर्को कारखाना पु¥याउनु पर्ने काम गर्नै पर्ने बाध्यता । कहिले त मेसिनको तालमा काम गर्दा टाउको भन्नाउंथ्यो । दिक्क लाग्थ्यो ।

अनि सोच्थें यो महिनाको तलब थापेर नेपाल जान्छु । तर हुन्थ्यो उल्टो । हरिया हरिया कहिले १७ मान कहिले २० मान पैसा तलब थाप्दा भने लाग्थ्यो होईन नेपाल गएर के हुन्छ, मेहनत गर्छु यस्तै यस्तै ।

रातको खाना बनाउने क्रमले निरन्तरता लियो । आज पनि मौसम खराब हुनाले खासै ट्रेन चलेन र हामी दुई बुढाबुढी भेट्ने रमाईलो दिनमा तगारो लाग्यो । ‘छिन्द्रिग’…सांचो खसेको आवाज आयो । पल्लो कोठा तिर नजर लगाएं । मञ्जिता आएकि रैछ ।

यसो मतिर पनि नहेरी खसेको सांचो उठाईन् र ढोका खोलेर भित्र पसिन् । यो पहिलो पल्ट होइन उनको व्यबहार । खोई किन हो नरेश संग रात विताएर आएको दिन अधिकांस दिनहरुमा उ दुखि बनेरै आएकि मैले महसुस गरेकी छु ।

विहान जांदा उदाउंदो सुर्य झै चम्केर जाने मञ्जिता भोलिपल्ट बेलुकी निचोरिए जस्ती देखिन्थिन प्राय । विचरी उधारो जिवनका लागि उधारो माया र उधारो विश्वासमा बांची रहेकि उनको अवस्था मलाई टीठ लाग्ने गर्छ ।

पुरुषको माया वासनाको रंग उत्रे संगै स्खलित हुने गर्छ रे तर महिलाहरु नदी झै प्रेममा निरन्तर बगि रहने गर्छन रे । नरेश सुन्दर छ । राम्रो खाई लाग्दो जिउडाल । बोलीमा अदभुत मादकता र आंखामा चमक ।

सुन्दर पहिरनमा देख्ने उनमा जो कोही पनि सुन्दरीहरुलाई मोहित पार्ने आर्कषण छ । मञ्जिता त्यसैको कायल छिन् शायद । नेपालमा एक छोरी सहित श्रीमतीका श्रीमान निर्धक्क संग मञ्जितालाई माया गर्न भ्याउछंन् नरेश । मायाका परिभाषहरु खोतल्दा नरेश र मञ्जिताको मायाको त्यहां कुनै शाब्दिक अर्थ भेटिंदैन । मात्र क्षणिक शारीरिक चाहना पुरा गर्ने स्वार्थ मात्र वस् ।

हो दुई दिन मञ्जिता अपार्टमा बसेर पनि काममा आईनन् । भित्र छिरे देखि ढोका खोलिनन् उनले । म काममा नगए सम्म उनी भित्रै बस्थिन् । शायद म नहुंदा सवै भ्याउंदी हो । पटक पटक मोवाईलमा सम्पर्क गर्न खोजें लाईन काट्थिन् ।

कुनै शंकाले मनमा जरो गाड्यो । पक्कै नरेश संग झगडा परेको हुनु पर्छ मेरो लख । पर्सीपल्ट सांझ बल्ल भान्छामा छिरिन् । कपाल नकोरेको र रुंदा रुदा आखाम आंसु सुकिसकेको …अनुहार रंगविहिन् ।

एक मान रुपैंया माग्दै भनिन् ‘दि म काम छोड्दै छु, अन्त काम पाउने वित्तिकै तपाईको एकाउण्टमा हाल्दिन्छु….’

किन र के भयो ? मेरो प्रश्न । ‘नरेशले उसकी बुढी नेपाल बाट झिकायो, डोयोवि देखि मेरो ठाउंमा उसकी बुढीलाई काम….’ मलाई नरमाईलो लाग्यो । अरुको श्रीमानसंगको प्रेम,…… स्खलित वासनासंगै स्खलित हुने कथित प्रेम । अनि स्खलित हुने प्रेमका मञ्चनकर्ता हरु । स्खलित पात्रका स्खलित प्रेमका कथाहरु ।

विहान अलि ढिलो विउंझेछु । नियमित नित्यकर्म सकाई पौने आठ वजे खाईसा पुग्नु पर्ने मलाई सवासात बजी सकेछ ।

मेरो अर्लाम नराख्ने बानी नेपाल देखिको हो । मलाई लाग्छ अर्लामले हाम्रो प्राकृतिक दिनचर्यालाई क्रमस कृतिम बनाउंदै लग्छ हामी अर्लामका दास बन्छौं । अव भोग हाफनो सिदान्तको फल मनमनै फतफताउंदै उठें र हतार हतार नित्य कर्म सकेर चिया पकाउन भान्छा तिर झरें ।

ढोका र भ्याल सहितको ठुलो शिशाको ढोका खोल्न यसो हात लम्काएको के देख्छु ….बडो सुन्दर अक्षरमा एउटा कविता कोरिएको पाना टांसेको रैछ । अक्षर चिन्न समय लागेन । हो मञ्जिताले कोरेको कविता थियो । त्यो कसको लागि ?

‘हिजो मेरो राम्रो थियो,
फुलहरु फक्रिएका थिए ।
हो बगैंचा सुन्दर थियो
तर ….
आज पराई भइ दियो ।
नसोध्नु घाउ कहां दुख्यो,
बेलैमा खोजी भएन ।
तिमी मेरो थिएनौ,
मायांको पारो चढ्दा
निमेस, नरेश पत्तै भएन ।

हो खोजिनँ मैले मञ्जितालाई । किनकी यहाँ कसैले कसैलाई खोज्ने चलन छैन । जीवनदेखि हारेका र व्यवहारदेखि थाकेकाहरुका आ–आफनै व्यथा छन् सबैका ।

समस्या बोकेर घर परिवारको माया र आवश्यकता बोकेर आउने हामी नेपाली हरुलाई कसैको चासो गर्ने फुर्सद हुन्न । यहाँका मित्र र सत्रु दुवै शीतको थोपा जस्तै समय अन्तरालसँगै स्खलित हुने गर्छन् ।

प्राय जसो नाम पनि गुमनाम हुने गर्छ अरु को पासपोर्ट र भिसामा जापान छिर्नेहरु । फेरि पनि मेरी वहिनी थिईन मञ्जिता, उनी प्रतिको लगाव र माया मनवाट स्खलित हुने छैन । आँखाबाट नचाहँदै पनि दुई थोपा आंशु झरे ….मसिनो स्वर फुत्त बग्यो ‘सायोनारा मेरी गुमनाम बहिनी… सायोनारा मञ्जितासान आनाता ओसोई….. ।

प्रतिक्रिया व्यक्त गर्नुस्