झापामा काँग्रेसको जागरण अभियान

0
32

विर्तामोड । नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान झापाका केन्द्रीय प्रतिनिधि नारायण शर्मा पौडेलले प्रधानमन्त्रीले जनमतको अवमूल्यन गरेको आरोप लगाउनु भएको छ ।
नेपाल प्रेस युनियन झापाको आयोजनामा विर्तामोडमा सम्पन्न पत्रकार भेटघाटमा बोल्दै नेता पौडेलले वाइडबडी खरिद, बालुवाटारको जग्गा प्रकरणमा संलग्नलाई संरक्षण गरेर जनमतको दुरुपयोग गरेको आरोप लगाउनु भयो ।
‘प्रधानमन्त्रीको काम जनताको सम्पतिको संरक्षण र पूँजीको व्यवस्थापन गर्ने हो’–पौडेलले भन्नुभयो–‘उक्त दायित्व विर्सेर भ्रष्टाचारमा संलग्नलाई संरक्षण गर्नेकाम प्रधानमन्त्रीबाटै भएको छ । यसमा कमिसनको ठूलो गाँठो छ ।’मेलम्ची खानेपानी आयोजना, बुढी गण्डकी आयोजना अलमलमा पर्नु समेत कमिसनकै चक्कर हुन सक्ने पौडेलको भनाई छ ।
‘ठट्टै ठट्टाले राज्य चल्दैन’,– प्रधानमन्त्रीले प्रत्येक विषयमा दिने गरेको ठट्ट्यौलो अभिव्यक्तिप्रति इङ्गित गर्दै पौडेलले भन्नुभयो–‘दुई तिहाइ मतको घमण्डले संविधान नै खर्लप्प खालाकी भन्ने आशंका जन्मिएको छ ।’ बहुदलीय व्यवस्था कम्युनिष्टको चरित्र नभएको बताउँदै पौडेलले व्यालेटबाट कम्युनिस्टलाई सत्ता प्राप्ति हुनु विश्वकै नयाँ इतिहासको उदाहरण भएको टिप्पणी गर्नुभयो ।
सरकारका गलत कामको भण्डाफोर गर्दै प्रतिपक्षको भूमिका सक्रिय पार्न कांग्रेसले देशभर पहिलो चरणको जागरण अभियान समाप्त गरेको जानकारी दिंदै पौडेलले यसले कार्यकर्तामा नयाँ उर्जा थपेको दावी गर्नुभयो । कांग्रेस भित्र पदीय इच्छाशक्तिले गुटगत राजनीति देखिएपनि १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा पदीय आकांक्षा राख्नु ठूलो विषय नभएको र पार्टीभित्र नीतिगत असहमति समेत नरहेको दावी गर्दै यसले पार्टी संगठनलाई खासै असर नपर्ने धारणा राख्नु भयो ।
नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, पूर्व जिल्ला सदस्य पदम प्रसाई लगायतको उपस्थिति रहेको कार्यक्रम प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता र दिपेश पनेरुको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया व्यक्त गर्नुस्