झापा गोल्डकप: थ्रीस्टारले यसरी लियो एपिएफसँग बदला

0
2

बिर्तामोड ।  विभागीय टोली एपिएफलाई हराउँदै काठमाडौँको थ्रीस्टार क्लब झापा गोल्डकपको क्वार्टरफाइनलमा पुगेको छ ।

बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा जारी झापा गोल्डकपको तेस्रो दिनको खेलमा थ्रीस्टारले सोमबार एपिएफलाई १–० गोलअन्तरले पाखा लगाएको हो ।

योसँगै थ्रीस्टारले एपिएफसँग तीन दिनअघि चितवनमा भएको गोल्डकपमा बेहोरेको हारको बदला लिएको छ । चितवनमा सम्पन्न विकास रनिङ शिल्डको फाइनलमा एपिएफले थ्रीस्टारलाई १–० गोलअन्तरले पराजित गरेको थियो ।

झापा गोल्डकपमा थ्रीस्टारको जितका लागि विदेशी खेलाडी अजय मार्टिन नायक बने । खेलको ५७ औँ मिनेटमा गोल गर्दै उनले जित दिलाएका हुन् ।

एपीएफका गोलरक्षक अमृतकुमार चौधरी लडेको समयमा भलि गर्दै मार्टिनले गोललाई जाली चुमाए । सुनील बलको क्रसमा मार्टिनले गोल गरेका हुन् ।

यसअघि पहिलो हाफको ५औँ मिनेटमा थ्रीस्टारका सुनील बलको प्रहार एपिएफका गोलरक्षक चौधरीले पञ्च गरेका थिए । ९औँ मिनेटमा मार्टिनले पाएको अवसर फ्रेममा पर्न सकेन ।

२४औँ मिनेटमा हरि कार्कीले गरेको प्रहार थ्रीस्टारका गोलरक्षक एलन न्यौपानेले गोललाइनबाट बचाए । ४१औँ मिनेटमा थ्री स्टारका स्ट्राइकर बुद्ध चेम्जोङको प्रहारले सही दिसा लिन सकेन । ५८ औँ मिनेटमा मार्टिनको प्रहार गोलरक्षक चौधरीले पञ्च गरेर फर्काए ।

खेलको म्यान अफ द म्याच थ्रीस्टारका अजय मार्टिन घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । मंगलबारको खेल मनाङ मस्र्याङदी क्लब र सहारा क्लब पोखराबीच हुने आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले बताए ।

खेलपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै एपिएपका प्रशिक्षक रतनकाजी महर्जनले निरन्तर खेल खेल्नु परेका कारण खेलाडीले आराम नपाउँदा पराजय बेहोर्नु परेको बताए ।

थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले स्कोर गर्न नसक्दा सोचेअनुसारको परिणाम निस्कन नसकेको बताए । गोल्डकप विजेताले नगद १२ लाख ५१ हजार र उपविजेताले ६ लाखसहित ट्रफी पाउनेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्