झापा ट्राफिकको नयाँ अभियान

0
4

बिर्तामोड । ट्राफिक प्रहरीले नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधनमाथि कडाई गर्न थालेको छ ।

यस्ता सवारीसाधन दुर्घटनामा पर्दा पहिचान गर्न गाह्रो हुने भएकाले ट्राफिकले कडाई गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले नम्बर प्लेट प्रष्ट नभएका ६३ वटा सवारीसाधन मंगलबार नियन्त्रणमा लिएको छ । त्यस्ता सवारीसाधनलाई ट्राफिक कार्यालय परिसरमै नम्बर प्लेट लेख्न लगाएर छाडिएको थियो ।

ट्राफिक प्रहरीले मंगलबार ५३ वटा मोटरसाइकल, ३ वटा ट्रयाक्टर, ३ वटा ट्याम्पो र ४ वटा साना सवारीसाधन नियन्त्रणमा लिएर नम्बर लेख्न लगाएको हो ।

‘अधिकांश मोटरसाइकल, टेम्पो, ट्रयाक्टरजस्ता सवारीसाधनमा नम्बर प्लेट प्रष्ट छैन,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक राजेश राईले भने, ‘यस्ता सवारीसाधनले दुर्घटना गराए भने भाग्ने चान्स बढी हुन्छ, त्यसैले कडाई गरिएको हो ।’

जताततै सडक भएकाले दुर्घटनालगत्तै चालकले सवारीसाधन लिएर भग्ने तर, जनशक्ति कम भएकाले ट्राफिक प्रहरीलाई त्यस्ता सवारीसाधन पहिचान गर्न गाह्रो हुने गरेको ट्राफिक प्रमुख राईले बताए ।

ट्राफिक प्रहरीले पूर्वपश्चिम राजमार्गमा चेकजाँचका क्रममा नम्बर प्लेट स्पष्ट नभएका सवारीसाधन नियन्त्रणमा लिएर कार्यालयमै नम्बर लेख्न लगाएको हो ।

‘हामीले कुनै जरिवाना गरेनौँ,’ ट्राफिक प्रमुख राईले भने, ‘चालकहरुलाई सम्झाएर, नम्बर लेख्न लगाएर घर पठायौँ ।’

बिना रुटका सवारीलाई कारबाही
झापाबाट काठमाडौँका लागि छुट्ने अधिकांश साना यात्रुवाहक सवारीसाधन रुट पर्मिटबिना चल्ने गरेको पाइएको छ ।

दमकबाट ट्राफिक प्रहरीले मंगलबार बिहान त्यस्ता सातवटा सवारीलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो ।

यात्रु बोकेर राजधानी जाँदै गरेका सातवटा माइक्रो (हायस)लाई नियन्त्रणमा लिएर कारबाही गरिएको झापाका ट्राफिक प्रमुख राजेश राईले बताए । प्रहरीले प्रत्येक सवारीबाट १५ सय रुपैयाँ जरिवाना लिएको छ ।

‘टिकट काउन्टरले पर्मिटबिनाका गाडीलाई बोलाएर काठमाडौँ पठाउँदा रहेछन्,’ उनले भने, ‘यी गाडीहरु यातायात कार्यालयबाट पटके काटेर राजधानी धाउँदैछन् ।’

दिवा सेवामा राजधानी गइरहेका अधिकांश साना यात्रुवाहक सवारीको रुट पर्मिट नभएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्