कन्काई नगरपालिका खुला दिसामुक्त घोषणा

0
4

कन्काई ।  झापाको कनकाई नगरपालिका सोमबार खुला दिसामुक्त घोषणा गरिएको छ ।

खुला दिसामुक्त घोषणा हुने कन्काई झापाको पहिलो नगरपालिका र तेस्रो स्थानीय तह हो ।

प्रमुख अतिथि प्रतिनिधिसभाका सदस्य लालप्रसाद साँवा लिम्बू र विशेष अतिथि जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष एवम् जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले कन्काई नगरपालिका खुला दिसामुक्त घोषणाको प्रमाणपत्र प्रदान गरे ।

६८ औँ प्रजातन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको खुला दिसामुक्त घोषणा समारोहमा कन्काई नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिका साँस्कृतिक झाँकी र नृत्यसमेत प्रस्तुत गरिएको थियो ।

सो अवसरमा नेवार, लिम्बू, राजवंशी, किराँत, कुमाल, सन्थाल, तामाङ, गुरुङ, भुजेल, मगर, थारु र माझीको साँस्कृतिक झाँकी र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

सोही अवसरमा कनकाई नगरपालिका भवन निर्माणका लागि जग्गा प्रदान गर्ने उमा सिटौला, मातृका सिटौला र दिलीप ओलीलाई सम्मान गरिएको थियो ।

यसैगरी कन्काई नगरपालिकाभित्र दश जोड दुईमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई समेत पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा ६० वर्ष उमेर पुगेका पाँच जना महिला स्वास्थ्य स्वयम्सेविकालाई नगद ५० हजार रुपैयाँसहित सम्मान गर्नुका साथै विदाइ समेत गरिएको थियो ।

खुला दिसामुक्त अभियान सफल बनाउन योगदान दिने अभियानकर्ताहरु, संघसंस्था, व्यक्ति र निकायलाई सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सांसद एलपी साँवा लिम्बूले लोकतन्त्र संस्थागत हुँदै गएको र जनआकांक्षा पूरा हुने बाटोमा देश अगाडि बढेको बताए ।

‘अब राजनीतिक स्थायित्वसहित साामाजिक, आर्थिक र साँस्कृतिक रुपान्तरण चाहिएको छ, कनकाई नगरपालिकाले आफूलाई सामाजिक परिवर्तनमा अब्बल देखाउँदै गएको छ,’ उनको भनाइ थियो, ‘अब सामाजिक, आर्थिक विकासमा तीव्रता दिँदै जनताको जीवनस्तर उकास्न सक्नुपर्छ ।’

साँस्कृतिक उन्नयनका लागि नगरपालिकाले खेलेको भूमिकाको समेत उनले प्रशंसा गरे ।

विशेष अतिथि प्रदेशसभा सदस्य हिरा थापाले स्वच्छ, सफा, हराभरा र समुन्नतिसहितको नगर बनाउनका लागि शुभकामना व्यक्त गरे । वर्तमान सरकारले कोही पनि नेपालीलाई सुकुम्बासीको रुपमा नराख्ने उनले बताए ।

जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले झापालाई छिटोभन्दाछिटो खुला दिसामुक्त गरी सामाजिक आर्थिक रुपान्तरणको बाटोमा लाग्नुपर्ने खाँचो औँल्याए ।

अहिलेको लोकतन्त्रले सबै जातजातिलाई पहिचान र अवसर दिएको बताउँदै यसको सदुपयोग गर्दै अगाडि बढ्नुपर्ने समेत उनले बताए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नगरपालिकालाई सबै जातजाति, वर्ग, समुदाय र सम्प्रदायका बासिन्दाको अपनत्वसहितको समृद्ध र सुखी नगर बनाउने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष पोखरेलले पूर्ण सरसफाइ प्रतिवद्धता प्रस्तुत गरेका थिए ।

ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक विनोद शर्माले वातावरण तथा सरसफाइ कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याएर कनकाई नगरपालिकाले आफूलाई सरसफाइ प्रबद्र्धनमा अब्बल सावित गरेको उल्लेख गरे ।

नगरपालिका उपप्रमुख मञ्जु प्रसाईले स्वागत मन्तव्य व्यक्त गरेको सो कार्यक्रममा परशुराम गिरीले नगरपालिकाको सरसफाई प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन लक्ष्मी अधिकारी र छवि थपलियाले गरेका थिए ।

९ हजार २ सय ७३ घरधुरी रहेको कन्काई नगरपालिकामा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा विराट सामुदायिक अध्ययन केन्द्रले खुला दिसामुक्त अभियान सहजीकरण गरेको हो ।

खुला दिसामुक्त अभियान सहजीकरण गर्नुअघि नगरपालिकामा ७ हजार ७ सय ७७ घरधुरीमा सुरक्षित शौचालयको पहुँच रहेको थियो भने अभियानका क्रममा बाँकी १ हजार ४ सय ९६ घरधुरीमा शौचालय निर्माण गरिएको थियो ।

 

प्रतिक्रिया व्यक्त गर्नुस्