काँकरभिट्टाबाट यसरी भित्रिँदैछ लागुऔषध

0
3
  • २७ पुसको दिउँसो १ः३० बजे । इलाका प्रहरी काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले १८ वर्षका मनिष खड्काको कम्मरमा टेपले बाँधेको अवस्थामा लागुऔषध भेट्टायो । भारतबाट काँकरभिट्टातर्फ आइरहेका मेचीनगर–१० का मनिष इलाका प्रहरी कार्यालयकै गेटअगाडि पक्राउ परे । उनले पहेँलो र कालो प्लाष्टिकमा ५०/५० एम्पुल डाइजेपाम, लुपिजेसिक र फेनारागन पोको पारेर त्यसलाई कम्मरमा टेपले बाँधेका थिए । उनले ल्याएको लागुऔषध खरिद गर्ने इलाम चुलाचुलीका १९ वर्षीय अभिषेक तामाङसमेत पक्राउ परे ।

  • दिउँसो २ः३० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाकै गेटअगाडि रहेको चेक प्वाइन्टमा अर्जुनधारा नगरपालिका–२ का २९ वर्षीय अर्जुन श्रेष्ठ पक्राउ परे । उनी भारतबाट नेपालतर्फ पैदलमार्फत प्रवेश गर्दै थिए । उनले जिन्स पाइन्ट लगाएका थिए । अगाडिको दाहिने गोजीमा सेतो रङको प्लाष्टिकको पोकामा प्रहरीले लागुऔषध भेट्टायो । पोकाहरु ५ वटा थिए । केही ठूला पोका थिए, केही साना ।

  • साँझ ६ बजे मेचीनगर–१० स्थित पूर्वपश्चिम राजमार्गमा हिँडिरहेका बिर्तामोड–६ का २४ वर्षीय अनिष भण्डारी र पाँचथर फिदिम–१ का २८ वर्षीय रोशन न्यौपाने पक्राउ परे । उनीहरुको शरीरबाट प्रहरीले लागुऔषध भेट्टायो । न्यौपानेले लगाएको ज्याकेटको भित्री बायाँ गोजीमा २ वटा प्लाष्टिकमा बेरेको ब्राउन सुगर थियो ।

यी तीनवटा घटना एकै दिनका हुन् । यी त केही प्रतिनिधि घटना मात्र हुन् । पूर्वी नाका काँकरभिट्टाबाट यसरी लागुऔषध प्रयोगकर्ता पक्राउ पर्नु नौलो कुरा होइन । प्रहरीको आँखा छलेर यस नाकाबाट हरेक दिन लागुऔषध भित्रिरहेकै छ । प्रहरी पनि लागुऔषध भित्रिन नदिन चनाखो भएर लागेको छ ।

गत मंसिर महिनायता इलाका प्रहरी कार्यालय काँकरभिट्टाको रेकर्ड फाइलमा २३ वटा मुद्दा दर्ता भएको छ । जसमध्ये १८ वटा लागुऔषधको मुद्दा छ ।

मंसिरमा ६, पुसमा ८ र माघ महिनाको हालसम्ममा लागुऔषधको ४ वटा मुद्दा दर्ता भइसकेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डिएसपी टंकप्रसाद भट्टराईले बताए ।

डिएसपी भट्टराईका अनुसार मंसिरयता इलाका प्रहरी कार्यालय काँकरभिट्टाले २३ जनालाई लागुऔषधसहित पक्राउ गरिसकेको छ । उनीहरु ब्राउन सुगर, नाइट्रोसन ट्याबलेट, डाइजेपाम लगायत प्रतिबन्धित सामाग्री भित्र्याउँदै गर्दा पक्राउ परेका हुन् ।

कहाँ जान्छ लागुऔषध ?
‘धरानको विपी मेमोरियलका डाक्टरहरुबाट पनि लागुऔषध बरामद भएको सबैले सुनेकै छन्,’ डिएसपी भट्टराई भन्छन्, ‘इञ्जिनियरिङ र डक्टरी पढ्नेहरु मात्र होइन, विज्ञ वर्गदेखि १४/१५ वर्षका विद्यार्थीसम्मले लागुऔषध प्रयोग गरेको भेटिएको छ ।’

टंकप्रसाद भट्टराई, डिएसपी, काँकरभिट्टा

उनका अनुसार भोलिपल्ट बेहुलो हुने व्यक्तिलाई इलाका प्रहरी काँकरभिट्टाले अघिल्लो दिन लागुऔषधसहित नियन्त्रणमा लिएको घटना पनि छ । कतिपयले रमाइलो गर्न मनोरञ्जनको साधन बनाउँदै गर्दा पछि लागुऔषधको शौखिन हुने गरेको डिएसपी भट्टराई बताउँछन् ।

लागुऔषध भित्रिले मुख्य नाका काँकडभिट्टा नै हो । यहाँबाट भित्रिएको लागुऔषध पहाडी जिल्लासम्म पुर्‍याइन्छ । ‘भारतबाट थोरै–थोरै गरेर ल्याउँछन्,’ डिएसपी भट्टराई भन्छन्, ‘नाइट्रोसन ट्याब्लेट, कोरेक्सहरु त भारतमा सामान्य औषधिका रुपमा औषधि पसलमा पाइन्छ, नेपालमा चाहिँ प्रतिबन्धित औषधिका रुपमा राखिएको छ ।’

भारतीय प्रहरीले पनि ब्राउनसुगरका हकमा भने बेलाबेला छापा मारेकै छ । ब्राउनसुगर प्रयोगकर्तालाई भारतमा कारबाही पनि भइरहेकै छ ।

तर, नेपालमा प्रतिबन्धित अन्य औषधिहरु भने भारतमा सामान्य रुपमै पाइन्छ । जसका कारण नेपालका लागुऔषध प्रयोगकर्ता भारत गएर सजिलै खरिद गर्छन् ।

खुला सीमानाको फाइदा
खुला सीमाना भएका कारण लागुऔषध प्रयोगकर्तालाई सजिलो भएको छ । नेपालमा प्रतिबन्धित औषधि भारतमा महँगो नपर्ने भएका कारण पनि प्रयोगकर्तालाई सजिलो भएको प्रहरी बताउँछ ।

लागुऔषध प्रयोगकर्ताहरु भारत घुम्ने निहुँमा रिक्सामा जान्छन् । कोही मोबाइल बनाउने निहुँमा भारतसम्म जान्छन् । तरकारी किन्न र उपचार गर्न भन्दै प्रहरीलाई ढाँटेर गएकाहरुले पनि सजिलै लागुऔषध लिएर आउँछन् ।

प्रहरीले लागुऔषध सेवन गरेर आउनेलाई पनि पक्रेर आफन्तको जिम्मा लगाएको छ । लागुऔषध प्रयोगकर्ताको पहिचान गरेर कतिपयलाई भारततर्फ जानै नदिइ नेपाल फर्काइएको डिएसपी भट्टराईले बताए ।

‘लागुऔषधसम्बन्धी सचेतना पनि बढी भयो,’ उनी भन्छन्, ‘प्रयोगकर्ताहरु त प्रहरी र अभिभावकको आँखा छल्न पनि विज्ञ भइसके ।’

लागुऔषध भित्र्याउने तरिका
लागुऔषध प्रयोगकर्ताले लुकाइछिपाइ नेपाल भित्र्याउने तरिका पनि निकै अनौठा छन् । कतिपयले मोबाइलको ब्याट्री झिकेर ब्याट्री लाग्ने ठाउँमा लागुऔषध राखेर ल्याएको पनि प्रहरी बताउँछ ।

‘मोटरसाइकलको लुकिङ ग्लास र सिटमुनि पनि लागुऔषध ल्याउँछन्,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाअगाडि चेकिङमा खटिएका एक प्रहरीले भने, ‘एउटी महिलाले त ब्रा (भित्री वस्त्र)भित्र हालेर लागुऔषध ल्याएकी रहिछिन् ।’ प्रहरीका अनुसार ती महिला अहिले हिरासतमै छिन् ।

सेवन गर्नकै लागि लागुऔषध ल्याउनेहरु बढी रहेको प्रहरीको भनाइ छ । भारतमा केही रुपैयाँ पर्ने त्यस्ता औषधि नेपालमा ल्याएर सयौँमा बेच्नेहरु पनि छन् । लागुऔषध प्रयोगकर्ता र ओसारपसारमा संलग्न व्यक्तिलाई प्रहरीले देखेकै भरमा चिन्छ ।

‘उनीहरुको गेटअप फरक हुन्छ, सवारीसाधन नै फरक हुन्छ,’ ती प्रहरीले भने, ‘पटक–पटक भारत गएका व्यक्तिलाई हामी अलिक बढी शंका गर्छौं ।’ पक्राउ परेकाहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया व्यक्त गर्नुस्