भारतबाट लागूपदार्थ ल्याउने क्रम रोकिएन

0
2

विराटनगर ।  सीमावर्ती जोगबनी बजारमा सहज रूपमा पाइने भएकाले लागूऔषध ओसारपसार बढेको छ ।

यो काममा मोरङ र सुनसरीसहित प्रदेश १ का विभिन्न जिल्लाका किशोरकिशोरी सक्रिय छन् ।

जोगबनी बजारबाट लागूऔषध सेवन गरी साथमा बोकेर फर्कने क्रममा पक्राउ परेका किशोरकिशोरीले जिल्ला कारागार मोरङ र प्रहरीको थुनुवा कक्ष भरिएका छन ।

उनीहरूविरुद्ध जिल्ला अदालतमा पनि चालु आर्थिक वर्षको सात महिनामा दुई सय वटा मुद्दा दर्ता भएका छन् ।

मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार विसीका अनुसार प्रहरीको थुनुवा कक्षमा दुई महिलासहित ३५ जना लागूऔषध ओसारपसारमा संलग्न युवायुवती छन् ।

लागूऔषधसम्बन्धी २७ वटा मुद्दा चलाइरहेको एसपी विसीले वताए । प्रहरीले पक्राउ गरेकामध्ये सेवनकर्तालाई परामर्श दिएर अविभावकलाई जिम्मा लगाएर सुधार केन्द्रमा पनि पठाउने गरिएको छ ।

एसपी विसीका अनुसार ठूलो परिणाममा ओसार पसार गर्ने्विरुद्ध मुद्दा दर्ता गरेर अदालत र्पुयाउने गरिएको छ ।

प्रहरीले अविभावकलाई जिम्मा लगाएका लागूऔषधका सेवनकर्ताले यहाँका आधा दर्जन बढी सुधार केन्द्र पनि भरिएका छन ।

सीमावर्ती बजारमा लागूऔषध सहज रूपमा उपलब्ध हुँदा यहाँका किशोरकिशोरीको भविष्य संकटमा पर्दै गएको प्रहरीको भनाइ छ ।

जिल्ला अदालत मोरङमा पनि लागूऔषधसम्बन्धी मुद्दा हरेक वर्ष बढदो छ ।

अदालतका श्रेष्तेदार नवराज दुलालका अनुसार आर्थिक वर्ष २०७२ र ३ मा योसम्बन्धी मुद्दा १ सय ७४ वटा दर्ता हुँदा आव २०७३र७४ मा २ सय ४६ पुग्यो ।

उनका अनुसार चालु आर्थिक वर्षको फागुन तेस्रो सातासम्ममा यससम्बन्धी १ सय ७१ वटा दर्ता भई ९९ वटा फैसला भइसकेका छन् ।

चालु आर्थिक वर्षको फागुन तेस्रो सातासम्ममा अशंबण्डामा ७ सय ९५, सम्बन्ध विच्छेदमा ५ सय ७०, मानाचामल भर्ने २ सय ५४, घरेलु हिंसा ५१, जबरजस्ती करणी ९५, मानव बेचबिखन १० र बहुविवाहामा २१ वटा मुद्दा दर्ता हुँदा लागूऔषधका १ सय ७१ वटा मुद्दा परेको दुलालले बताए ।

साथी भाइसँगको संगत र सीमावर्ती बजारमा सजिलैसँग खरिद गर्न पाउने भएकाले किशोरकिशोरी यो कुलतमा लागेको उनको बुझाइ छ ।

लागूऔषध ओसारपसार गर्ने सेवनकर्ताको संख्या मोरङ कारागारमा पनि उल्लेख्य छ । कारागारमा शुक्रबारसम्ममा महिला पुरुष गरी कैदी र थुनुवा ८ सय ४४ जना छन् ।

कारागार प्रमुख प्रेम सापकोटाले त्यसमध्ये लागूऔषधका कैदी र थुनुवाको सख्या ८ महिलासहित १ सय ८४ रहेको जनाए ।

प्रतिक्रिया व्यक्त गर्नुस्