झापा गोल्डकप : पोखरालाई हराउँदै मनाङ सेमिफाइनलमा

0
4

बिर्तामोड ।  टाइब्रेकरमा सहारा क्लब पोखरालाई पाखा लगाउँदै मनाङ मस्र्याङ्दी क्लब झापा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

मंगलबार भएको खेलमा पोखराको सहारालाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै मनाङले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

खेलको निर्धारित समयमा दुबै टोलीका तर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरबाट लिइएको हो । टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, अञ्जन विष्ट र डोना थापाले गोल गरे ।

पोखराका तर्फबाट भने विजय श्रेष्ठ, रन्दिप पौडेल र विश्व अधिकारीले मात्र बललाई जाली चुमाए । भिषण गुरुङको प्रहार बाहिरियो भने कप्तान मानबहादुर तामाङको प्रहार मनाङका गोलरक्षक दिनेश थापाले उत्कृष्ट बचाउ गरे ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेल निकै नै प्रतिष्पर्धात्मक बन्यो । खेल अवधिभर मनाङ आक्रमक रुपमा प्रस्तुत भए पनि गोल गर्न सकेन ।

सहारा क्लब पोखरा भने दोस्रो हाफपछि मात्र लयमा फर्किएको थियो । मनाङका लागि अञ्जन विष्ट मैदानमा हावी देखिए पनि गोल गर्ने थुप्रै अवसर चुकाएका थिए ।

पोखराको डिफेन्स लाइन बलियो हुँदा मनाङले थुप्रै अवसर गुमाएको हो । खेल अवधिभर पोखराका गोलरक्षक बाबु मगर निकै व्यस्त देखिए ।

उनले मनाङका दर्जनौँ प्रहार शानदार ढंगले बचाउ गरे । मनाङको एकपछि अर्को प्रयास लगातार खेर जाँदा समर्थक निराश देखिन्थे ।

यसअघि खेलको २२औँ मिनेटमा मनाङका विदेशी खेलाडी भिक्टोरको कडा प्रहार बाहिरियो । ३१औँ मिनेटमा मनाङका अञ्जन विष्टले डि–एरियाबाट प्रहार गरेको साइक्लिङ किकले सही दिशा लिन सकेन ।

३४ औँ मिनेटमा मनाङका विशाल राईको प्रहार पोष्टमाथिबाट बाहिरियो । ३९औँ मिनेटमा मनाङका अञ्जन विष्टकै प्रहार पोलको देब्रे बारबाट बाहिर गयो ।

दोस्रो हाफको चौथो मिनेटमा मनाङका अञ्जन विष्टको डि–एरियाबाहिरको कडा प्रहार पोखराका गोलरक्षक बाबु मगरले उत्कृष्ट पञ्च गरे ।

१०औँ मिनेटमा अञ्जनको पासमा सुजल श्रेष्ठ गोल गर्नबाट चुके । १२औँ मिनेटमा विदेशी खेलाडी भिक्टोरको प्रयास सफल हुन सकेन । २९औँ मिनेटमा विशाल राईको फ्रि–किक सोझै पोखराका गोलरक्षकको पञ्जामा प¥यो ।

दोस्रो हाफको ३७औँ मिनेटमा पोखराले एउटा सुन्दर मौका गुमाएको थियो । विजय श्रेष्ठको पास फुर्वा लामाले सदुपयोग गर्न सकेनन् । उनको प्रहार बाहिरिएको थियो ।

खेलको म्यान अफ द म्याच मनाङका अञ्जन विष्ट घोषित भए । उनले ओली एण्ड एसोसिएट्सका तर्फबाट नगद २५ हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा आयोजक झापा–११ र भारतको सिक्किम युनाइटेड भिड्नेछन् । १२ लाख ५१ हजार रुपैयाँ प्रथम पुरस्कार रहेको प्रतियोगिताको उपविजेता टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतिक्रिया व्यक्त गर्नुस्