मेची भन्सारको छुट्टै संसार, कर्मचारी असुल्नमै व्यस्त

0
70

शम्भु दाहाल
झापा । मेची अञ्चलको मुख्य व्यपारिक नाका काँकरभिट्टाको मेची भन्सारबाट दैनिक लाखौ रुपैयाँ राजस्व छलिने गरेको छ । । चाडपर्व नजिकिएसँगै भारतिय बजार पानीट्याङ्कीमा गएर दैनिक उपभोग्य सरसमान किन्ने नेपाली उपभोक्ताको चाप बढेसँगै मेची भन्सारमा राजस्व छली बढेको हो ।

भन्सार कार्यालयले भन्सार भित्रने सामानमा राजस्वछली नहोस भनेर एक्स रे मेसिन मार्फत सामान चेकजाँच गर्ने गरेको छ । तर, ठूुलो परिणाममा भित्रिएका र रिक्साबाट भित्रने बाहेकका अन्य समान एक्सरे मिसिन छलेर कर्मचारीकै सहयोगमा बिना भन्सार आउने गरेका छन् ।

यसरी सिधै भित्राउने समानको राजस्व चुहावट नियन्त्रण गर्न कार्यालयबाट कर्मचारी तैनाथ गरेको छ । तर, फिल्डमा खटिएका कर्मचारीहरुले नै सामान लिएर वारीपारी गर्ने पोके ब्यापारीसँग मनलागी रकम लिएर छोडीदिने गरेकाछन् । उनिहरुले व्यापारीसँगमात्र हैन घरका लागि भारतको पानिट्याङ्कीबाट सामान लिएर नेपाल भित्रनेसँग समेत रकम असुल्न भ्याउँछन् ।

भन्सारका कर्मचारीले भन्सार गेटैमा खडा गरिएको चेकपोष्टमा कागज मिलाउने बहानामा साना व्यपारीलाई बोलाएर रकम लिने गरेको बाइकमा सामान ल्याएर नेपालमा बेच्ने गरेका एक व्यापारीले बताए ।

त्यस्तै भारतबाट नेपालमा आउने मालबाहक ट्रकहरुबाट समेत उनीहरुले पैसा उठाउने गरेको खुलेको छ । भन्सारका कार्यालय सहयोगिहरुले नेपालमा आउने ट्रकहरु भारत फर्किने क्रममा गेटमा नै प्रति ट्रक २० देखि ५० रुपैँयासम्म असुल्ने गरेका छन् ।

त्यति मात्र होईन उनिहरुले ट्रक चालक, पोके व्यापारी, तरकारी ल्याउने व्यापारी लगायतसँग उनिहरुले ल्याएको सामान समेत केहि छोडिदिनु पर्ने वा उनीहरुले भनेको सामान ल्याईदिनुपर्ने सिस्टम नै भन्सारका कर्मचारीहरुले बनाएका छन् ।

दशै र तिहार नजिकिसँगै दैनिक हजारौको संख्यामा सर्वसाधारण दैनिक उपभोग सामानहरु चिनी, दाल, तरकारी, तेललगायतका सामान लिन भारततीर जाने गरेका छन् ।

यसरी सामान ल्याउँदा कर्मचारी पैसा माग्ने र नदिए सामान पक्राउ गर्ने डर देखाउँदै पैसा तिर्न बाध्य बनाउने गरेको बिर्तामोडका एक सर्वसाधारणले बताए ।
‘कर्मचारीलाई पैसा नदिए सामानै लगिदिन्छन्’ नाम नखुलाउने शर्तमा उनले भने, ‘बरु सय पचास दियो खुरुक्कै छोड्छन् ।

’ कर्मचारीले वारीपारी गर्नेसग सामानको परिमाण हेरी ५० रुपया देखी ३ सय रुपया सम्म लिने गरेका छन् । मेची भन्सार कार्यलयले चोरी पैठारी नियन्त्रण गर्न कर्मचारीको विभिन्न समूह विभाजन गरी अध्यागमन अगाडि रहेको चेकप्वाइन्टमा खटाउने गरेको भए पनि उनीहरु राजस्व चुहावट नियन्त्रणभन्दा पनि अवैध असुलीमा संलग्न भएको कुरा मेची भन्सारको गेटमा पुग्ने प्रत्येक व्यक्तिले देख्न सक्छन् भने धेरैले त अनुभूति नै गरिसकेका छन् ।

चाडपर्व ताका मात्र हैन काँकरभिट्टा नाकाहुँदै भारतबाट बारै महिना कपडा, इलेक्ट्रिक सामान, खाद्यान्न, मलखाद, स्टिलका मालसमान, मोटर पार्ट्स, तेल, सुर्ती लगायत सामान चोरी–पैठारी हुने गरेको स्थानीय बताउँछन् ।

ठूलो मूल्यको कारोबार हँदा कहिले काहीमात्र तस्कर समातिएको कुरा बाहिर आउँछ नत्र भित्र भित्रै मिल्छ एक कर्मचारीले भने, दैनिक हुने तस्करीको खासै चर्चा हुँदैन, ‘बेलाबेला लाइन नमिल्दा र तस्करी गर्नेले ध्यान नदिँदा मात्र सामान बरामद हुने हो ।

नेपालबाट भने चाउचाउ, चुरोट, लत्ताकपडा, सुपारी लिएर जाने साइकलवाला, बाइकवाला भारतबाट रक्सी, चिनी, मट्टितेल जस्ता दैनिक उपभोग्य वस्तु ल्याउँछन् । यस कार्यमा पुरुष भन्दा महिला बढी सक्रिय छन् ।
घुम्न जाने, आफन्त भेट्ने, उपचार गर्ने आदि बहानामा दशगजा क्षेत्रको बाटो यताउता गरिरहने केही महिला मालसामान तस्करीमा सक्रिय छन् ।

सवारी साधनको सिटमुनी राखेर, बाइकमा वा साइकलमा लुकाएर मात्र होइन, रातको समयमा काँधमै बोकेर सरोकारवालाको मिलेमतो मै पनि काँकरभिट्टाबाट सामान अवैध ओसारपसार भई नै रहेको छ ।

तस्करीमा संलग्नको सञ्जाल र पहँुच दुवैतिर भएकाले पनि उनीहरु खासै पक्राउ पर्दैनन् । भन्सारमा एकद्धार नीति लागु भएपछि काँकरभिट्टा नाकामार्फत हुने ठूलो परिमाणको तस्करीमा अचेल कमी आएको दावी भन्सारले गरे पनि तस्करीमा कमी नआएको दैनिक जसो पक्राउ पर्नेको संख्याबाट अनुमान लाउन सकिन्छ ।

चाड पर्वमा त छदैछ अरु समय पनि पानिट्याङकीबाट भन्सार छली गरेर नेपालमा सामान सयौं संख्याका पोके ब्यापारीले दिनमा ४ पटकसम्म वारीपारी गर्दै आएका छन् । उनीहरुले सामान ल्याउँदा रकम असुल्ने गरेको स्वयम् ब्यापारीहरुनै स्वीकार गर्छन् ।

कर्मचारीले उनीहरुबाट एक पटकमा दुई सय रुपैयाँसम्म लिने गरेका छन् । भन्सारको चेक प्वाइन्टमा बसेका कर्मचारीले भन्सार गेटपास दिने ठाउँमा छाप लगाइदिने बहानामा पैसा लिने गरेको एकजना पोके ब्यापारीले बताए । उनका अनुसार भन्सार सुरक्षाका लागि जडान गरिएको सिसि क्यामेरा छल्न कर्मचारीले ब्यापारीलाई झोलामा पैसा हाल्न लगाउने गरेका छन् ।

झोलाको सामान चेकजाँच गर्ने निहुँमा उक्त पैसा कर्मचारीले टिपेर गोजीमा हाल्ने गर्छन् । उनले भने, तरकारी लिएर आएका ब्यापारीबाट २० रुपैयाँ, तेल र अन्य खाद्य सामाग्री ल्याएकाहरुसँग ५० देखी ३०० रुपैयाँसम्म लिन्छन् ।

अरु काम र समय फेरियो, प्रविधि र प्रक्रिया फेरिए, कर्मचारी फेरिए, शासक र शासित फेरिए, नियम कानुन फेरिए तर फेरिएन भन्सारको राजस्व छली । असुल्ने शैली फरक छ । तर, असुल्ने ठाउँ उही छ, भेची भन्सार काँकरभिट्टा ।

प्रतिक्रिया व्यक्त गर्नुस्